नायव सुब्बामा १० प्रतिशत खुला प्रतियोगिता, १० प्रतिशत अन्तर तह र ८० प्रतिशत बढुवा

काठमाडौं । राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् नायव सुब्बा (नासु)मा १० प्रतिशत खुला गर्ने व्यवस्था संसदीय समितिले पारित गरेको छ ।

प्रतिनिधि सभाले नासुलाई शतप्रतिशत बढुवाबाट गर्ने बढुवाबाट गर्ने सरकारको प्रस्तावलाई पारित गरेकोमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले १० प्रतिशत खुला प्रतियोगिता पदपूर्ति गर्ने, १० प्रतिशत अन्तर तह प्रतियोगिताबाट र ८० प्रतिशत बढुवा प्रक्रियाबाट पदपूर्ति गर्ने व्यवस्था पारित गरेको हो ।

सरकारले नासुमा शतप्रतिशत बढुवा प्रक्रियाबाट पदपूर्ति गर्ने प्रस्ताव अघि सारेकोमा विधायन व्यवस्थापन समितिका अधिकांश सांसद १० प्रतिशत खुला गर्ने पक्षमा उभिएपछि समिति सभापतिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई नासुमा कति प्रतिशत खुला गर्ने प्रस्ताव पेस गर्न निर्देशन दिएकी थिइन । तर, सचिवले भने आफूहरूको प्रस्ताव शतप्रतिशत बढुवा गर्ने नै भएको भन्दै समितिका सदस्यलाई नै प्रतिशत तोक्न अनुमति दिएका थिए ।

लगत्तै समितिका सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का सांसद डा. बेदुराम भुसालले १० प्रतिशत खुला, १० प्रतिशत अन्तर तह र ८० प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई नै समितिले सहमति जनाएपछि पारित भएको थियो । समितिले तयार पारेको प्रतिवेदनको मस्यौदामा त्यही उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *