विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको अवरोधका कारण सचिव मिलन आचार्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारीविहीन भएर थन्किएका छन् ।
सरुवा भएर आएको २० दिन बित्दा समेत मन्त्री राईले हाजिर गर्न अवरोध गरेपछि उनी मुख्यमन्त्री कार्यालयमा थन्किएका हुन् । सचिव मिलन आचार्यलाई २६ गतेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशमा सरुवा गरेको थियो ।
सरुवा भएर आएका सचिव आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने तयारी गरेको थियो । मन्त्रिपरिषदबाट निर्णय गरेर पूर्वाधार मन्त्रालय पठाउने तयारी गर्दा मन्त्री राईले ‘अब्जेक्सन’ गरेपछि निर्णय हुन सकेको छैन ।
पटक-पटक बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री राईको अवरोधका कारण सचिव आचार्यलाई पूर्वाधार मन्त्रालयमा पठाउने निर्णय हुन नसकेको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो ।
यसअघि संघ सरकारले सीधै प्रदेशका मन्त्रालय तोकेर सचिवहरूको सरुवा गर्दै आएको थियो । ओली नेतृत्वको सरकारले भने प्रदेशमा सरुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यकताअनुसार मन्त्रालयमा सचिव खटाउन थालिएको छ ।
पूर्वाधार मन्त्रालयमा अहिले उपसचिव रमेश श्रेष्ठले निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । कोशीको गठबन्धन सरकारमा कांग्रेसका तर्फबाट सिनियर मन्त्री राईले भौतिक पूर्वाधारसँगै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
गठबन्धन सरकार भएका कारण राईले नमान्दा नमान्दै मुख्यमन्त्री कार्यालयले आचार्यलाई पूर्वाधार मन्त्रालयमा पठाएर हाजिर गराउन सकेको छैन । सचिव आचार्य यसअघि पूर्वाधार विकास कार्यालय इलामका प्रमुख थिए । सहसचिवमा नाम निकालेपछि उनको पोष्टिङ कोशी प्रदेशमा भएको हो ।
यसअघि साउन २६ कै निर्णयअनुसार पूर्वाधार सचिव अशोक साहको सरुवा भएको थियो । सचिव साहले रमाना लिनुअघि मन्त्री राईले साहमार्फत १४ जिल्लाका पूर्वाधार कार्यालयका हाकिम हेरफेरको प्रस्ताव क्याविनेट पठाएका थिए । स्रोतका अनुसार सचिवको सरुवा भएपछि व्याक डेटमा उनीहरूको सरुवाको प्रस्ताव तयार भएको थियो ।
त्यो सरुवा प्रस्ताव अस्वीकार भएकाले राई अहिले मुख्यमन्त्री कार्यालयसँग रुष्ट रहेको बताइन्छ ।
मन्त्री राईले आफूले सचिवको पोष्टिङ हुन नदिएको कुरा सत्य नभएको बताए ।
उनले भने, ‘पहिला पहिला सिधै मन्त्रालय तोकेर सरुवा हुन्थ्यो । अहिले मुख्यमन्त्री कार्यालयमा पठाउने गरिएको छ । कोही त आउनु होला ।’

Leave a Reply