काठमाडौं । रुपन्देही-३ मा हुने उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध दलहरूबीच तालमेल अनिश्चित बनेपछि सबैले आ-आफ्नै तयारी थालेका छन् । मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक्लाएक्लै लड्ने भन्दै आन्तरिक तयारी गरेका हुन् ।
मोर्चामा आबद्ध नेकपा एस गएको चुनावदेखि नै माओवादीसँगै छ भने विप्लव नेतृत्वको नेकपा अन्योलमा छ । नेकपाले आफ्नो उम्मेदवार अघि नसारे पनि एक्लाएक्लै लडे माओवादीलाई सघाउन सक्छ ।
माओवादीका उपाध्यक्ष अग्नि सापकोटाले उपनिर्वाचनमा माओवादी एक्लै लड्ने बताए ।
प्रवक्ता समेत रहेका सापकोटाले नेपाल प्रेससँग भने, ‘हामी एक्लै लड्छौँ । तयारी हुँदैछ, अब एक/दुई दिनमा हाम्रो पदाधिकारी बैठक बस्दैछ । त्यसबाट हामीले उम्मेदवारबारे पनि निर्णय गर्छौँ ।’
माओवादीका अध्यक्ष प्रचण्डले पनि रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताएका छन् । हिजो पार्टीको लुम्बिनी प्रदेशको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै भनेका थिए, ‘रुपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौँ, ल्याउँछौँ । एक्लै लड्ने हो, तपाईँहरू त्यसको तयारी गर्नुहोस् ।’
माओवादीबाट हकिउल्लाह खाँ, मनिषकुमार जोशी, सोनिया यादव, फैजअहमत खाँ, वीरबहादुर रोक्कालगायतले आकांक्षा राखेका छन् । मोर्चामा आबद्ध नेकपा एसका उपमहासचिव मेटमणि चौधरी पनि अहिलेसम्म एक्लै लड्ने तयारी गरिरहेको बताउँछन् ।
उनले भने, ‘मोर्चाबीच सहकार्यको सम्भावना त सबै खालको भइहाल्छ नै । अहिलेसम्म हामी एक्लै लड्ने भनेर तयारी गरेका छौँ । तलबाट नाम सिफारिस भएर आएको छ । उहाँहरूले हामी चुनाव जित्छौँ भनेर दाबी पेस गरिराख्नुभएको छ । छलफलका क्रममा मोर्चामा आबद्ध सबै दलहरूबीच समान धारणा आयो भने सँगै पनि जान सकिन्छ । नभए एक्लै जान्छौँ ।’
उनले उपनिर्वाचनमा मिलेर जानेबारे अहिलेसम्म मोर्चा छलफल नभएको भन्दै अब गर्ने बताए । नेकपा एसले चौधरीकै नेतृत्वमा रुपन्देहीमा पार्टीको अवस्था बुझ्न कार्यदल बनाएको छ ।
उनले थपे, ‘कार्यदलले रिपोर्ट तयारी गर्दैछौं । हिजो आकांक्षी साथीहरूको कुरा सुन्यौँ । फेरि दुई दिनभित्र कार्यदलको बैठक बस्छ । उहाँहरूको कुरा जस्ताको तस्तै पठाउँछौँ र यो उम्मेदवार अघि सार्दा उपयुक्त हुन्छ भनेर पनि सिफारिस गर्छौँ ।’
नेकपा एसले उपनिर्वाचनका लागि महासचिव घनश्याम भुसालसहित लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाह, प्रदेश सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही एकका सहईन्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरेको छ ।
रुपन्देही ३ मा गएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा निर्वाचित भएका थिए । बोहराको निधन भएपछि अहिले अहिले चुनाव हुन लागेको छ ।
बोहराले ३६ हजार ७१७ मत ल्याउँदा कांग्रेसका बालकृष्ण खाणले ३४ हजार ३६ मत मात्रै ल्याएका थिए । खाणलाई त्यसबेला माओवादी र नेकपा एसको पनि साथ थियो ।
गएको निर्वाचनमा प्रत्यक्षमा उम्मेदवारी नै नदिएको माओवादीले समानुपातिकमा २ हजार ६३७ मत ल्याउँदा नेकपा एसले ७८१ मतमात्रै ल्याएको थियो।

Leave a Reply