रुपन्देही । रास्वपाले लामो गृहकार्यपछि हिजो रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको घोषणा गर्यो । तर घोषित उम्मेदवार विवादमुक्त बन्न सकेका छैनन् ।
उम्मेदवार घोषणासँगै डा. लेखजंग थापाको निजी जीवनसँग सम्वन्धित विवादास्पद विषयहरु बाहिर आएका छन् । उनीमाथि बहुविवाहको आरोप लागेको छ । दुई श्रीमतीलाई अंगालो मारेर मुस्कुराइरहेका तस्विरहरु पनि सार्वजनिक भएका छन् ।
थापाले भने आफ्नो पहिलो श्रीमतीसँग डिभोर्स गरेर मात्रै दोस्रो विवाह गरेको दावी गरेका छन् । रास्वपाले पनि उनको दावीमा विश्वास गरेको छ ।
लेखजंगले आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिन आज पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर, कुनै ठोस कारण नखुलाइकन स्थगन गरियो । यसले पनि अलिकति संशय पैदा गरेको छ । बहुविवाहसम्बन्धी प्रश्नको सामना गर्न डराएको भनेर टिकाटिप्पणीहरु भइरहेका छन् ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी डा.थापाले पहिलो श्रीमतीसँग डिभोर्स गरिसकेको बताउँछन् ।
उनले भने, ‘लेखजंगजीमाथि बहुविवाहको मुद्दा छ भन्ने विषय उम्मेदवार छनौट प्रक्रियाका बेलामै आएको थियो, पार्टीको अफिसियल टीमले त्यस विषयमा सबै कुरा बुझेर र कानूनी रुपमा दुईवटा श्रीमती नरहेको प्रष्ट प्रमाणका आधारमा उम्मेदवार छनौट गरिएको हो,’ महामन्त्री बुर्लाकोटीले भने, ‘हामी यसमा किलियर छौं, उहाँमाथि बहुविवाहको मुद्दा छैन ।’
थापाको पहिलो विवाह सुलोचना घिमिरेसँग र दोस्रो विवाह नुमा शर्मासँग भएको हो । पहिलो श्रीमती सुलोचनासँग उनले सम्बन्ध बिच्छेद गरिसकेको रास्वपाको भनाइ छ । घिमिरे भैरहवामा बस्छिन् भने शर्मा काठमाडौंमा बस्छिन् ।
रास्वपाका ९ जना आकांक्षीलाई काठमाडौं लिएर गएर फर्केका रुपन्देही अध्यक्ष डा. बुद्धि शर्माले पहिलो विवाह विच्छेद गरेर अर्को बिहे गर्नुलाई धेरै समस्या बनाउन नहुने बताए । यसलाई पहिले पनि छलफल गरेरै पार्टी अघि बढेको हुनुपर्ने उनको विश्वास छ ।
‘यति धेरै दिन सबै आकांक्षीका विषयमा खुला छलफल भएका थिए । मतदाताकहाँ पनि सँगै गएको अवस्था हो । यी कुराहरु नेतृत्वले सबै हेरेरै निर्णय गरेको हनुपर्छ,’ शर्माले भने ।
डा. थापाले बहुविवाह गरेको विषयमा पार्टीमा पनि उजुरी परेको थियो । त्यसबा बाबजुद पनि उनलाई रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बनाइएको भन्दै विभिन्न खालका टिकाटिप्पणी भएका छन् । यो विषयमा उनले सार्वजनिकरुपमा भने मुख खोलेका छैनन् ।
रास्वपा कार्यकर्ताले हिजो बालकृष्ण खाँण, दीपक बोहोराले यही क्षेत्रबाट उम्मेदार बन्दा उनीहरुको दुई श्रीमतीको विषयमा प्रश्न नगर्नेहरुले अहिले चर्को बोलेको भन्दै सामाजिक सन्जालमा जवाफ दिइरहेका छन् ।

Leave a Reply