सांसद डा. शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनित

काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा.अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनित भएकी छन् । राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम उनलाई संसदीय सुनुवाई संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई सहमति जनाउन सभामा अनुरोध गरेपछि सभाले संयुक्त समितिको सदस्य मनोनयनका लागि सहमति जनाएको थियो ।

शाक्य नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)सहितको तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनित सांसद हुन् । उनी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा समेत सदस्य छन् । यस अघि राजदूत रहेकी शाक्य नेकपा एमालेसँग नजिक छन् । केहि दिन अघि मात्रै राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालिन सभापति रामहरी खतिवडा संसदीय सुनुवाई समितिको सदस्य मनोनयन भएका थिए ।

संसदीय सुनुवाई संयुक्त समितिका सभापति इश्वरीदेवी न्यौपानेले समितिको सदस्यबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन भइसकेकी छन् । सुनुवाई समितिको सभापतिबाट राजीनामा दिएसँगै न्यौपाने सुनुवाई समितिको सदस्यबाट समेत हटेकी छन् ।

संसदीय सुनुवाई समितिमा अब १५ जना सदस्य रहेका छन् । जसमा राष्ट्रिय सभाबाट २ जना सांसद थिए । शाक्य थपिएसँगै राष्ट्रिय सभाका ३ जना सदस्य पुगेका छन् । यस अघि नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *