काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले आज विराटनगरमा वर्तमान राजनीतिक अवस्थाबारे जागरण अभियान गरेको छ। कार्यक्रमलाई मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गरे।
कार्यक्रममा बोल्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै समय एउटै पार्टीमा रहेका नेताहरू अलग भएकाले अहिले फेरि मोर्चा बनाउनुपरेको बताए।
उनले भने, यहाँ मञ्चमा बसेका सबै नेता कुनै बेला एउटै पार्टीमा हुनुहुन्छ। तर सँगै काम चलेन भनेर विभाजित हुनभयो। सबै उत्पीडितहरूले आ–आफ्नो राष्ट्रिय पहिचान अर्थात् जातीय पहिचान खोजेका छन् । त्यसकारण राष्ट्रिय पहिचानसँगै सबै समुदायले प्रतिनिधित्व र स्वायत्तता खोजेका छन्।
देशमा सबैको हक मारेर बसे सबै उत्पीडितहरू उसैकाेपछि भ्रममा परेर अवसरको कारण लागेको बताए। उनले थपे, ‘जोसँग लडेर अधिकार लिनुपर्ने उसैको पछि लागेपछि कहाँ अधिकार पाइन्छ ? भूमि ऐन ल्याउनु भनेको देशलाई वनजंगल मुक्त बनाउने हो। यो धन कमाउने योजनामा ल्याइएको छ।’
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी जनजाति मधेसीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य भएको बताए। कांग्रेस र एमालेले आफूहरूलाई विभाजित गराइरहेको आरोप लगाए ।
उनले भने, ‘विगतको दिनमा मधेसी, थारु, आदिवासी जनजाति, दलित, पिछडावर्गहरूले छुट्टाछुट्टै एक्ला एक्लै सङ्घर्ष गरेकाले असफल भयौँ । त्यसकारण यदि उत्पीडितहरूले अधिकार, पहिचानका लागि मिल्नुको विकल्प छैन। नश्लिय शासन सत्ताबाट मुक्ति चाहिएको छ भने राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य छ ।’
कार्यक्रममा बोल्दै लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार पहिचानको लागि भएको आन्दोलनमा सङ्घर्ष गरेका योद्धा साथीहरू माथि झुटा मुद्दा लगाई सरकारले जेलमा राख्ने काम गरेको बताए ।
उनले भने, ‘हाम्रो बारम्बारको सङ्घर्षले मधेश शब्दले मान्यता पाएको छ। देशबाट राजा फाल्नु र गणतन्त्र ल्याउनु उपलब्धि हो ।’ उनले उखु किसानलाई सरकारले बेवास्ता गर्नु ठिक नरहेको बताए। हैजा फैलिनु र खानेपानी अभाव हुनु भनेको सरकार लापरवाह बन्नु रहेको बताए।
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले देश हाम्रो भएकोले राज्य पनि हाम्रो हुनु पर्ने बताए। मधेसीहरू सामाजिक र राजनीतिक रूपमा विभाजित रहेकोले एक हुनुपर्ने बताए।
राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले संविधान संशोधनको पक्षमा जनमत तयार गर्नुपर्ने बताए। उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन, आन्दोलनकारीहरू माथिको मुद्दा खारेज गराउन, आन्दोलनकारी राजबन्दी रिहाइ गराउन, भूमि विधेयक षड्यन्त्रपूर्वक आएको छ त्यसको विरोध गरी भूमिको रक्षा गर्न, भ्रष्टाचारको विरोध गर्न, जनजीविकाको सवालमा जनचाहना अनुसार कार्य गर्न मोर्चा एकजुट हुनुपर्छ ।’
तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले संविधानको संशोधन समावेशिताको ग्यारेन्टीको लागि चाहिने, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संशोधन चाहिने, संशोधन अधिकार प्राप्तिको लागि चाहिने बताए। जनताले समर्थन गर्ने हो भने मोर्चालाई एक ढिक्का बनाएर अगाडि बढाउने बताए।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्र कुमार चौधरीले यो मोर्चा गठनले थारु, मधेसी, आदिवासी जनजाति बीच उत्साह बढेको बताए। मोर्चा एकजुट भएको सन्देश छिट्टै रुपन्देही ३ को चुनावी परिणामले पनि दिने विश्वास व्यक्त गरे।
मोर्चाले पहिलो चरणमा देशको आठ ठाउँमा जनजागरण अभियान सञ्चालन गर्ने तय गरेको थियो । जसअनुसार अब १८ गते राजविराज र २० गते जनकपुरधाममा कार्यक्रम हुनेछ ।

Leave a Reply