काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि देशको सैन्य रणनीतिमा नेपाल सहभागी नहुने प्रष्ट पारेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले सीमा सुरक्षा र सीमामा हुने अपराधहरू नियन्त्रण गर्न सरकारले काम गरिरहेको बताए ।
उनले भने, ‘चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)मा नेपाल सहभागी भएको भन्ने कुरा आएको छ। हामी कुनै पनि देशको सैन्य रणनीतिमा सामेल हुँदैनौँ यो कुरा पहिल्यै हामीले भनिसकेका छौँ। कुनै पनि देशको सैन्य रणनीतिमा नेपाल सहभागी हुँदैन। हामी सबैको मित्र छौँ, हाम्रो कसैसँग शत्रु भाव छैन। हामी सबैसँग सहयोग लिन चाहन्छौँ, गर्न पनि चाहन्छौँ। यसबारेमा प्रधानमन्त्री फर्केर आइसकेपछि पनि आफ्नो कुरा भन्नुहुनेछ ।’
उनले लिपुलेकबारे प्रधानमन्त्रीले चीनमा गरेको दाबी सही भएको भन्दै कुनै छिमेकीले चित्त दुखाउनुपर्ने कारण नभएको बताए।
उनले थपे, ‘लिपुलेक नेपाली भूमि हो। त्यो कुरा हामी प्रस्ट भन्न चाहन्छौँ। उहाँहरूको सहमतिमा हाम्रो आपत्ति छ। हामीले हाम्रो भूमिलाई आफ्नो भन्दा कुनै पनि छिमेकीले चित्त दुखाउनुपर्ने कारण छैन। सम्बन्ध बिग्रिनुपर्ने कारण पनि छैन। प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुभयो। चीनले कुनै प्रतिक्रिया नदिनु उहाँहरूको कुरा हो। तर प्रधानमन्त्रीजी बोल्नुभएको छ।’

Leave a Reply