पोखरा । गण्डकी र लुम्बिनी प्रदेश सरकारबीच भएको समन्वयात्मक बैठकले प्रदेशको विकासका लागि कानूनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने निर्णय गरेको छ ।
स्याङ्जा गल्याङ नगरपालिका १, मालुङ्गा उत्तरबाहिनीमा सोमबार बसेको बैठकले जिम्मेवारी, भूमिका तथा अधिकारलाई ध्यानमा राखी एकरुपता कायम गर्दै जाने निर्णय गरेको हो ।
बैठकमा गत माघमा भएको पहिलो संयुक्त बैठकमा गरिएका २१ बुँदाका प्रतिवद्धताको कार्यान्वयनको समीक्षा गरिएको थियो । थप प्रभावकारी बनाउन दुवै प्रदेशका योजना आयोगले संयुक्त रूपमा सरोकारवाला सबै पक्षको सहभागितामा तीन महिनाभित्र कार्ययोजना बनाई पेश गर्न बैठकले निर्देशन दिने निर्णय गरेको हो ।
यस्तै, बजेटमा सम्बोधन भएका साझा निर्णय एवम् प्रतिवद्धताको विवरण तयार गर्नेसमेत बैठकले निर्णय गरेको छ । बैठकले दुवै प्रदेशको धार्मिक पर्यटन विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने दामोदरकुण्ड कृष्णागण्डकी ‘उत्तरवाहिनी’-लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्न दुवै प्रदेशको पर्यटन हेर्ने मन्त्रालयको समन्वयमा प्रक्रिया अघि बढाउने निर्णय गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
अन्तर प्रदेश साझेदारीमा सञ्चालन हुने भनी पहिचान गरिएका कार्यक्रमको खाका तयार गर्ने र असोज २१ देखि कात्तिक १९ गतेसम्म उत्तरबाहिनी क्षेत्रमा सञ्चालन हुने कात्तिक महास्नान तथा दामोदर धर्मोत्सव भव्य रूपमा सफल बनाउन प्रदेश सरकारबाट सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।


Leave a Reply