काठमाडौँ । ग्रिसकी राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन् ।
आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन चान्टाभा नेपाल आएकी हुन् । उनी कर्णाली यशभिसबाट खेल्नेछिन् ।
सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको विभिन्न क्लबमा आबद्ध भएर खेलिसकेकी छन् । खेल जीवनमा उनको टिम दर्जनौ पटक विजेता बनेको छ भने दर्जनौ अवार्ड समेत पाइसकेकी छन् । आउटसाइट हिटर चान्टाभाका लागि नेपाली क्लब र मैदान पहिलो हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चान्टाभाले नेपालमा आएर भलिबल खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । उनले आफू आबद्ध कर्णाली यशभिसलाई दोस्रो पटक च्याम्पियन बनाउने गरी खेल्ने बताइन् ।
कर्णाली यशभिसले ब्राजिलियन दुई खेलाडी आना फ्लाभिया र मायरा भिटोरियालाई पनि अनुबन्ध गरेको छ । उनीहरु सोमबार साँझ नेपाल आइपुग्ने जनाइएको छ ।
महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर बनाएको कर्णाली यशभिसले प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिदै लिगको अन्तिम तयारी गरिरहेको छ ।

Leave a Reply