काठमाडौं । अन्तर्राष्ट्रिय अडिटरबाट नेपालका ठूला १० वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ कर्जाको गुणस्तर परीक्षण थालिएको छ । बंगलादेशको लेखा परीक्षक फर्म ‘हाउल्याडर युनुस एन्ड कम्पनी’ले काम थालेको हो ।
जसका लागि भदौ १२ गते राष्ट्र बैंकले हाउल्याडरसँग सम्झौता गरेको थियो । कम्पनीले लोन पोर्टफोलियो रिभ्यु स्थलगत निरीक्षणसहित हुने राष्ट्र बैंकले जनाएको छ ।
सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा १० वाणिज्य ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्ने सर्त मानेको थियो । आईएमएफले नेपालको बैंकहरुले प्रकाशित गरेको निष्क्रिय कर्जाको तथ्यांकमा आशंका व्यक्त गर्दै आएको छ ।
हाउल्याडरले कन्सल्टेन्सी कार्यका लागि भ्याटबाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६ सय ७९ अमेरिकी डलर रुपैयाँ जनाएको छ । जुन रकम १० बैंकको पोर्टफोलियो रिभ्युमा खर्च हुने जनाइएको छ ।
कर्जा लगानीका आधारमा १० ठूला बैंकहरू नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, एनआईसी एशिया, हिमालयन र एनएमबि बैंकको कर्जाको गुणस्तर परीक्षण हुने बताइएको छ ।

Leave a Reply