पूर्वसैनिक बाको सपना छ, ‘छोरो देवबहादुर थापा सेनामा भर्ना भएर एक दिन कर्णेल बनोस् । कर्णेलको एक बोलीमा सारा दुनियाँ करप्प होस् ।’ उसले छोरालाई सानैदेखि फिजिकल ट्रेनिङमा लगाउँछ, दौडाउँछ, उफ्राउँछ । ऊ यत्ति मात्रै चाहन्छ, उसको अपुरो महत्वकांक्षा छोराले पूरा गरोस् । मानौं, देवबहादुर थापाको जन्म नै बाको मनोकांक्षा पूरा गर्दिनलाई भएको हो ।
देवबहादुरको भने केही सपना नै छैन । यत्ति मात्रै हो, ऊ जे हो त्यही भएर बाँच्न चाहन्छ । ऊ जस्तो छ, त्यस्तै रुपमा समाजमा देखिन चाहन्छ । ऊ यौनिक अल्पसंख्यक(एलजीबीटीआईक्युए समुदाय) हो ।
परिवार र समाजको अगाडि ऊ छोरा हुनुको बोझ उठाउन सक्दैन । परम्परागत नेपाली समाजले खोज्ने छोरा वा छोरीभित्रै ऊ पर्दैन । उसको पारिवारिक जिम्मेवारीबाट भाग्ने अभिप्राय छैन, तर ऊ आफ्नो पहिचान लुकाउन पनि चाहँदैन ।
केटा भएर जन्मिए पनि केटा नै मन पराउने ‘ट्रान्सवुमन’ हो ऊ । आफ्नो यही पहिचानसहित खुलेआम स्वतन्त्र भएर बाँच्न चाहन्छ । तर, यौनिक अल्पसंख्यकलाई ‘छक्का’, ‘हिजडा’ जस्ता अपमानजनक र तुच्छ शब्दले गाली गर्नेहरुबीचमा देवबहादुर थापा आफ्नो असली पहिचानसहित खुलेआम बाँच्न सक्छ त ? अहिले हलमा चलिरहेको ‘गुन्यु चोलो : द ड्रेस’ चलचित्रले यही प्रश्नको उत्तर खोज्ने यत्न गरेको छ ।
वंश धान्नलाई छोरा नै चाहिने पितृसत्तात्मक सोचबाट ग्रसित पूर्वसैनिकको एउटै मात्र छोराले बाल्यकालदेखि नै ‘महिलाको जिनिस’मा आँखा लगाउन थालेपछि घरको हालत के होला ? जब कि पूर्वसैनिक खोक्दा मात्रै घरमा कफ्र्यु जारी गरेजस्तो अवस्था आउँछ ।
देवबहादुरकी आमा समेत श्रीमानलाई सीधा हेर्न डराउँछिन् । आफ्नै श्रीमानसँग बोल्न पनि शब्दहरुलाई जोखेर, तौलिएर बोल्नुपर्छ उनले । उनले विवाह गरेकी हुन् या कैदखानामा पुगेकी हुन्, उनैलाई थाहा छैन । त्यस्तो घरमा जन्मिएका देवबहादुरले आफ्नो लैंगिक पहिचान खुलाउन सक्लान् त ? यही सवालको जवाफको खोजिमा समुन्द्र भट्ट निर्देशित ‘गुन्यु चोलो : द ड्रेस’ लागिपरेको छ ।
चलचित्रको सबैभन्दा ठूलो तागत हो, अभिनेता नाजिर हुसेन । नाजिरले बाहिरी आवरणमा मात्रै होइन, मानसिक रुपमा पनि आफूलाई देवबहादुर थापाको रुपमा तयार पारेका छन् । नाजिरले मनोवैज्ञानिक रुपमा आफूलाई यसरी तयार गरेका छन् कि चलचित्र हेरिरहँदा लाग्छ, यो रिल होइन, रियल हो ।
पुरुष हुनलाई देवबहादुरले हरतरहको कोसिस गरेका छन् । बाको सपना अनुरुप सैनिक हुनलाई कोसिस नगरेको होइनन् । तर, उसले हिँड्नुपर्ने बाटो अन्तै छ । उसले पुग्नुपर्ने ठाउँ छुट्टै छ । ऊ न पुरुष बनिरहन सक्छ, न त सैनिक हुन नै सक्छ । अनि ऊ जे हो, त्यही अवतारमा देखिन पनि सक्दैन । यो दोसाँधको मनस्थितिलाई देवबहादुर थापामार्फत् नाजिरले मिहीन ढंगले विभिन्न लेयरमा काम गरेका छन् । सम्भवतः मनोवैज्ञानिक रुपमा पनि पात्रमा समाहित भएर उसले काम गरेको पहिलो चलचित्र हो यो ।
चलचित्रमा हेर्नलायक गज्जबको एउटा दृश्य छ,- जहाँ ट्रेनिङ सेन्टरका केटाहरु अण्डरवेयरमा नुहाइरहेका हुन्छन् । नुहाउनलाई पुगेका देवबहादुर लाजले नहुनाइकन फिर्छन् । किनभने ऊ भावनात्मक र मनोवैज्ञानिक रुपमा ‘ट्रान्सवुमन’ हो । पछि मध्यराति एक्लै नुहाउनलाई जान्छ, देवबहादुर । यसवेला ऊसले आफ्नो हात, छाती, घाँटी र गालालाई यसरी स्पर्श गर्छ कि क्षणिक नै सही, ऊ जे हो त्यही बनेर नुहाउँछ ।
चलचित्रको एउटा दृश्यमा देवबहादुर थापा कोठामै केटाहरुद्धारा बलात्कृत हुन्छ । यसअघि उसले रुममेट केटा साथीलाई भावावेशमा आएर किस गर्दिएको हुन्छ । अनि त के चाहियो ! बबण्डर मच्चिन्छ । कलेजमा साथीहरुले ‘छक्का’, ‘हिजडा’ भनेर आरोप लगाएको प्रसंग उप्किन्छ । यसपछि रक्सीले लठ्ठिएकाहरुको बलात्कारमा पर्छ देवबहादुर । यसवेला पीडाले क्षतिग्रस्त भएको देवबहादुरको दुखी अनुहार हेरिरहँदा लाग्छ, पात्रमाथि नाजिर हावी भइरहेका छैनन् । बरु सिंगै नाजिर हुसेनमाथि देवबहादुर थापा नामक पात्र हावी भइरहेका छन् ।
बलात्कृत भएपछि देवबहादुर थापा दौडँदै कोठाबाट बाहिरिन्छ । अनि फेवा तालको किनारमा पुग्छ । एउटा बेन्चमा बस्छ । रुन्छ । र बेस्सरी चिच्याउँछ । ‘आ… मा…’ भनेर चिच्याउँदा चिच्याउँदै अचानक आफ्नो मुख आफैं थुन्छ । लैंगिकताकै कारण उसले मन खोलेर रुन पनि पाउँदैन भन्नलाई सायद निर्देशकले यो दृश्य खिचेकी हुन सक्छिन् । यो दृश्यको अर्को खासियत भनेको फेवाताल किनारका सप्तरंगी बत्तीहरु हुन् । जसलाई ब्लर्ब गरेर देखाइएको छ । देवबहादुरलाई फ्रेममा राखेर ब्लर्ब गरिएका सप्तरंगी बत्तीहरु सायद उसले जबरजस्ती दबाएर, लुकाएर राख्न कोसिस गरिरहेको पहिचानको प्रतीकात्मक दृश्य हो ।
अर्को दृश्यमा देवबहादुर आमाको काखमा घुँक्कघुँक्क रुन्छ । एक खालको आत्मीयता र आडभरोसा सहित देवबहादुर थापा रोएको चलचित्रभरिकै एक्लो दृश्य हो यो । बाँकी त ऊ एक्लै नै रोइरहेको हुन्छ । आमाको काखमा रुँदै उसले आमालाई आफ्नो असली पहिचान बताउँछ ।
आमाले के गर्न सक्थिन् र ! ‘घरबाट जा, कहिल्यै फर्केर नआइज’ भन्छे । झोला ल्याइदिन्छे । केहीथान पैसा दिन्छे । र कानको सुन निकालेर हातमा राखिदिन्छे । यसछि देवबहादुर घरबाट हातमा झोला लिएर हिँडेको दृश्य बडो कलात्मक छ । अनि अन्तिममा आमाको लास छुँदै त्यही आमाले बाटो खर्च स्वरुप दिएको सुन आमाकै कानमा लगाइदिएको दृश्य बडो भावनात्मक छ ।
घरबाट हिँडेपछि देवबहादुर थापाको असली यात्रा सुरु हुन्छ । त्यो यात्रामा साथ दिने दिदी (अनुपम श्रेष्ठ)को अभिनय साँच्चिकै प्रशंसालायक छ । अनुपम स्वयं पनि यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्छिन्, यही कारण पनि अभिनयमा जीवन्तता दिएकी हुन सक्छिन् । जसले देवबहादुरको नाम ‘गुलाबी’ राख्दिन्छिन् ।
आफू जे हो त्यही बन्ने यात्रामा हिँडेका देवबहादुरले साँच्चिकै पहिचान खोलेर बाँचेको भाव ‘म फूल हुँ कि काँडा’ बोलको गीतमा देखिन्छ । तर, पहिचान खुलाएपछि पनि उसले पाउने भावनात्मक चोटहरुको श्रंखलामा कमी हुँदैन । उसलाई मिसयुज गर्नेहरुको ताँती लाग्छ । र पनि उसलाई भावनात्मक रुपमा साथ दिने समुदायसँग ऊ जोडिसकेकाले अप्रिय घटना घट्दैन ।
अर्कातिर आमाको भूमिका निर्वाह गरेकी संचिता लुइँटेलको अभिनय गज्जबको छ । तर, देवबहादुरको बाको भूमिका निर्वाह गरेका विशाल पहारीको भूमिका भने धेरै नै लाउड छ । निर्देशकले उनको भूमिकालाई सन्तुलनमा राख्ने कोसिस नगरेको देखिन्छ । हुर्किसकेको छोरालाई खाँबोमा बाँध्ने मात्रै होइन, खुकुरीले काट्न तम्सिनेजस्ता दृश्यहरु अविश्वासनीय लाग्छन् । छोरालाई थर्काउनु, गाली गर्नु अलग कुरा भयो वा यौनिक अल्पसंख्यकप्रति रुढी दृष्टिकोण राख्नु अलग पाटो भयो, तर पिट्नै तम्सने तहको हर्कतहरु आवश्यक थिएनन् । यस्ता दृश्यहरुमा अरु नै राम्रा र कलात्मक दृश्य राख्न सकिन्थ्यो । अन्तिममा देवबहादुरलाई बाले गरेको स्यालुट भने चलचित्रको क्लाइमेक्स हो । यसपछिका बाँकी दृश्य नभए पनि चलचित्र कमजोर हुने थिएन ।
एकातिर कलेजमा ‘छक्का’, ‘हिजडा’ भनेर अपमान गरेको प्रसंग छ, अर्कातिर देवबहादुरलाई जबरजस्ती ब्वाइफ्रेण्ड बनाइएको दृश्य छ । कलेजकै केटीले उसलाई ब्वाइफ्रेण्ड घोषणा गर्छे । कलेजभरि नै फरक यौनिक पहिचान सहितको भनेर हल्ला चलेपछि के आधारमा ती युवतीले देवबहादुरलाई ब्वाइफ्रेण्ड बनाउँछिन्, तर्कपूर्ण जवाफ चलचित्रले दिन सकेको छैन ।
बालकलाकारको रुपमा देवबहादुरको बाल्यकालको भूमिका निर्वाह गर्ने दुई बालकको अभिनय प्रशंसालायक छ । चलचित्रमा सुरुवातदेखि नै निर्देशक भट्टले नीलो नीलो यौनिक अल्पसंख्यकको पहिचान खुल्ने लुगाहरु देवबहादुरलाई लगाइदिएकी छन्, यो गज्जब छ । ब्याकग्राउण्ड स्कोर साँच्चिकै राम्रो छ । सिनेम्याटोग्राफी भने ठिकै छ । नयाँ, नौलो र अर्थपूर्ण खास्सै सटहरु छैनन् । चलचित्रको कलर ग्रेडिङमा चाहिँ अझैं राम्रोसँग खेलेको भए हुन्थ्यो । देववबहादुरको मनोविज्ञान अनुसार कलर ग्रेडिङमा काम गरेको भए हुन्थ्यो ।
चलचित्रको अन्त्यतिर देवबहादुरको यौनिक पहिचान खुलेपछि वंश धान्नलाई बाले पुनः बूढी आमालाई पेट बोकाउँछ । पितृसत्ताले जकडिएको समाज देखाउनलाई यति नै काफी छ, धेरै बोलिरहनै परेन । दृश्य, अभिनय, ब्याकग्राउण्ड स्कोर र संवादसहित चार थोकमार्फत् समुन्द्र भट्टले ‘गुुन्यु चोलो’मा कथा भन्न कोसिस गरेकी छन् । उनको यो कोसिस प्रशंसालायक छ ।

Leave a Reply