कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विधान संशोधनको तयारी गरेको छ । काठमाडौँमा हिजोदेखि सुरु भएको बैठकमा आज विधान संशोधनको प्रस्तावमा छलफल सुरु भएको हो ।
लुम्बिनी प्रदेशका सांसद धर्म चौधरीले विधान संशोधनको प्रस्तावको खाका हिजो प्रस्तुत गरेका थिए । आज त्यसमा छलफल गरेर पारित गर्ने तयारी गरिएको नाउपा स्रोतले जानकारी दिएको छ ।
यसअघि नाउपाको विधानमा पदाधिकारी संख्या २७ रहेकोमा प्रस्तावित विधानमा पदाधिकारी संख्या १३ कायम गरिएको छ । अध्यक्ष १, वरिष्ठ नेता ३, उपाध्यक्ष ७, महासचिव र कोषाध्यक्ष १/१ जना रहँदा, सचिव र सह–कोषाध्यक्ष ७/७ पद कायम गर्ने व्यवस्था विधानमा छ ।
प्रस्तावित विधानमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, कोषाध्यक्ष १, उपमहासचिव र सचिव ३/३ जना कायम गरिएको छ । साथै, १ जना मुख्यसचिवको पद पनि सृजना गरिएको छ । अहिले वरिष्ठ उपाध्यक्ष ३ जना थप गर्ने विषयमा पनि छलफल भइरहेको बैठक स्रोतले जनाएको छ ।
प्रस्तावित विधानमा सचिवालयको व्यवस्था गरिएको छ । केन्द्रीय समितिलाई थप गतिशील बनाउन पदाधिकारी समितिका वरिष्ठतम सदस्य रहने गरी एउटा ५ सदस्यीय सचिवालय गठन गर्ने प्रस्ताव गरिएको छ । अध्यक्ष १, उपाध्यक्ष ३ र महासचिव १ जना सचिवालयमा रहने व्यवस्था प्रस्तावमा उल्लेख छ । तर, सचिवालयको संख्या बढाउने विषयमा पनि हलमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
त्यसैगरी, केन्द्रीय सचिव मध्येबाट एक जनालाई महासचिवले मुख्यसचिव नियुक्त गर्ने व्यवस्था गरिएको छ । मुख्यसचिवलाई केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक तथा आर्थिक व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।
प्रस्तावित विधानमा जिल्ला समितिहरूलाई संयोजन समितिको रूपमा चित्रण गरिएको छ ।
विधान संशोधन पछि निर्वाचन आयोगमा विधानको व्यवस्था अनुसार पदाधिकारी तथा सदस्यहरूको नामावली अद्यावधिक गर्ने नाउपाको तयारी छ । अहिलेसम्म २१ जना सदस्य मात्र निर्वाचन आयोगमा अद्यावधिक भएको छ ।
‘नयाँ नामावली अद्यावधिक गर्न विधान संशोधन गर्नु पर्ने देखिएको छ । नेता–कार्यकर्ताको सुझाव अनुसार विधान संशोधन गर्न लागिरहेका छौँ,’ नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले भनिन्, ‘विधान संशोधन गरेर निर्वाचन आयोगमा नामावली अद्यावधिक गर्छौँ ।’

Leave a Reply