मलेसियाका लागि नेपाली राजदूत विवादमा- प्रधानमन्त्रीलाई चुनौती दिँदै एनआरएनएको अवैध कार्यक्रममा सरकारी अतिथि

काठमाण्डाैं । मलेसियाका लागि नेपाली राजदूत नेत्र तिमिल्सिना गैरआवासीय नेपाली संघ (एनआरएनए) अवैधानिक पक्षको कार्यक्रममा सहभागी भएपछि विवादमा तानिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफै एनआरएनएको कार्यक्रममा सहभागी भएर डा. बद्रि केसी नेतृत्वको निर्वाचित कार्यसमितिलाई एनआरएनएको आधिकारिक मान्यता भनेर सार्वजनिक गरेको एक महिना नबित्दै राजदूत तिमिल्सिना भने अवैध पक्षको अतिथि बनेका हुन् ।

आधिकारिक एनआरएनएका पदाधिकारीहरुले यसअघि मलेसियाको कार्यक्रममा तीन पटकसम्म औपचारिक कार्यक्रममा बोलाउँदा विवादमा नपर्ने भन्दै नगएका तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय र निर्देशनलाई चुनौती दिँदै अवैध पक्षको कार्यक्रममा पुगेको एनआरएनएका सदस्यहरुको भनाइ छ ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको एक पक्षले चुनावमा पराजित महेश श्रेष्ठ र आरके शर्मा पक्षको समानान्तर समितिलाई साथ दिइरहेको बेला एमालेको कोटाबाट राजदूत बनेका तिमिलिसना मलेसियामा अवैध पक्षको कार्यक्रममा सहभागी भएका हुन् ।

यसैबीच मलेसियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिम्सेनाको गतिविधिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिले गम्भीर आपत्ति जनाएको छ। संघले जारी गरेको विज्ञप्तिमा राजदूत तिम्सेनाले संघको विधानविपरीत आयोजित कार्यक्रममा आधिकारिक रूपमा सहभागिता जनाउँदै, वैधानिक रूपमा निर्वाचित कार्यसमितिको अपहेलनाको व्यवहार देखाएको उल्लेख गर्दै विरोध गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘संघको विधानले तोकेको निर्वाचन समयावधिभन्दा बाहिरको कार्यक्रममा राजदूतको सहभागिता, निर्वाचित पदाधिकारीलाई पदको मर्यादा नमान्ने गरी आरोप लगाउनु, सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा असान्दर्भिक टिप्पणी गर्नु गैरजिम्मेवार र पदको गरिमामाथि ठेस पुर्‍याउने काम हो ।’

गैरआवासीय नेपाली संघ–मलेसियाले गत जुलाई २७ मा विधानअनुसार नवौं महाधिवेशन सम्पन्न गरी कार्यसमिति निर्वाचित गरेको दाबी गर्दै त्यसलाई बेवास्ता गरेर गरिएको कदम विभाजनकारी र निन्दनीय रहेको बताएको छ।

यस्तै, विदेशमा बस्ने नेपालीहरूबीच एकता कायम गर्न सहयोग गर्नुको सट्टा नेपालका केही जिम्मेवार नेताहरू समेत यस्ता गतिविधिमा संलग्न हुनु दुःखदायी भएको संघको भनाइ छ। अन्तर्राष्ट्रिय समन्वय समितिले प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई राजदूतको गैरजिम्मेवार कार्य रोक्न तत्काल आवश्यक कदम चाल्न माग गरेको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *