निजामती विधेयकमा अन्तिम छलफल : सरोकार नभएका कर्मचारी आएको भन्दै विवाद

काठमाडौं । संघीय निजामती सेवा विधेयकबारे राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल जारी छ । विधेयकमाथि दफाबार छलफल सकिएपछि टुंगिन बाँकी रहेको विषयमा दिउँसो ३ बजेटबाट बैठक भइरेकाे हो ।

विधेयकको प्रावधानमाथि टुंगो नलाग्दै गर्दा समितिको बैठकमा सहभागी हुनेको भूमिकामै विवाद भएको छ । सामान्यतया सांसद, सम्बन्धित मन्त्रालयका अधिकारी तथा समिति सचिवालयमा कार्यरत कर्मचारी तथा पत्रकार मात्र उपस्थित हुने यस्तो बैठकमा यसपटक समितिभन्दा बाहिरका कर्मचारी देखिएपछि मन्त्रालयका अधिकारीले नै आपत्ति जनाए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव मिरा आचार्य खुलेरै प्रश्न उठाइन्, ‘खुलेर कुरा राख्नै समस्या हुने बनाइयो । जसले मलाई विधेयकमाथि यसरी नबोलिदिनुहोस् म्याम भनेर लबिंग गर्ने समितिभन्दा बाहिरको कर्मचारी बैठकमा बस्दा यो सहज हुँदैन ।’ उनको आशय, समितिको छलफललाई बाहिरी ‘लबिङ’ को प्रभावबाट जोगाउनुपर्ने हो ।

त्यसपछि समितिका सभापति तुलसाकुमारी दाहालले त्यस विषयमा के गर्ने भन्दै समितिका सदस्यमाझ निर्णय गर्नुपर्ने भन्दै धारणा राख्न आग्रह गरिन् । यसै विषयमा नेकपा (एकीकृत समाजवादी)का सांसद बेदुराम भुसालले पनि प्रश्न उठाए ।

‘संशोधनकर्तालाई सांसदलाई त बैठकबाट पठाइयो । सांसदलाई ठाउँ पुग्दैन भनेर राखिन्न, तर संसद सचिवालयका कर्मचारीलाई भने राख्ने ? यस्तो दोहोरो मापदण्ड किन ?’ उनको भनाइमा, समितिमा उपस्थित हुने आधार स्पष्ट हुनुपर्छ, नत्र छलफलप्रति नै शंका पैदा हुन्छ ।

विधायन व्यवस्थापन समितिका उपसचिव नुमराज खनालले भने स्पष्ट पार्ने प्रयास गरे । ‘संसद सचिवालयका कर्मचारीलाई निषेध गरिएको अवस्था छैन । उनीहरूले बोल्न पाउने अधिकार भने छैन । हरेक समितिका बैठक सचिवालयका कर्मचारीका लागि खुला हुन्छ ।’ तर, उनले पनि सहमति खोज्न सुझाव दिए- ‘यदि सचिवालयका कर्मचारीलाई नै नराख्ने हो भने त्यसबारे पनि बैठकले नै निर्णय गर्नुपर्छ ।’

नेकपा (माओवादी केन्द्र)का सांसद राधेश्याम पाश्वासनले समितिको अभ्यासमाथि प्रश्न खडा गरे । ‘निजामती सेवा विधेयकमा संशोधनकर्तालाई पठाइएको छ । अभ्यासमा पत्रकारलाई पनि खुला गरिएको छ । तर सरोकारवाला भन्दा बाहिरकका कर्मचारीलाई किन राखियो ?’

अन्तत संसद सचिवालयमा कार्यरत कर्मचारी बस्न पाउने तर, बोल्न नपाउने समितिले निर्णय गरेको छ । यद्यपी उक्त बहस भएपछि समितिको बैठकमा पुगेकी संसद सचिवालयका कर्मचारी एवम निजामती कर्मचारी युनियनका अध्यक्ष रेनुका सुवेदी लगायतका अरु कर्मचारी बैठकबाट बाहिरिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *