काठमाडौं । संगीतकार, गायक तथा लेखक संगीतकार शान्तिराम राईको एकल साङ्गीतिक साँझ हुने भएको छ । खोटाङ कलाकार समाजले श्रष्ठा सम्मानमा पहिलो पटक आयोजना गर्न लागेको राईको एकल साङ्गीतिक साँझ आगामी मंसिर १३ गते काठमाडौंमा हुने खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले बताए ।
खोटाङको अग्रज कलाकारहरुको सम्मानार्थ नियमित रुपमा वार्षिक एकल सांगीतीक सांझ कार्यक्रम गर्ने उद्देश्य लिएर अगाडि बढेको पनि रुपकुमारले बताए । प्रेसमिटमा बोल्दै प्राज्ञ संगीतकार शान्तिराम राईले आफ्नो संघर्ष र नेपाली संगीत क्षेत्रमा दिएको योगदान बुझेर एकल साङ्गीतिक साँझ योजना गर्न लागेकोमा आयोजक संस्था खोटाङ कलाकार समाजलाई धन्यवाद दिए । उनले भने, ‘मेरो जिवन नै संगीतमा समर्पण गरेको मान्छे हो म । र बाकि जिवन पनि संगीतमै रहने छु ।’
प्रेसमिटमा शान्तिरामको एकल साङ्गीतिक साँझलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, माननिय सासंद बिशाल भट्टराई, नेता विष्णु राई, ब्यावसायी टंक श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
शान्तिराम राई रेडियो नेपालमा २०४६ सालमा लोकगीततर्फ स्वरपरिक्षा उतिर्ण गरी नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर ३६ वर्षदेखि संगीत सिर्जनामै सक्रिय छन् ।
हालसम्म पन्ध्र सयभन्दा बढी संगीत सृजना गरिसकेका शान्तिरामको एकल साझमा क्रमश ‘तिमी तारे भीर म त लहरा’, ‘धोका दियौ तिमिले’, ‘छालहरु ओ छालहरु’, ‘आईडी काडैले’ र ‘ए पहराकी फूल’ लगायत सदावहार गीतहरु प्रस्तुत हुनेछन् । कार्यक्रममा शान्तिरामले संगीतबद्ध गरेको गीतहरुलाई दीप श्रेष्ठ, सुकमित गुरुङ, पवित्रा सुब्बा, राजेशपायल राई, मेलिना राई लगायत नया–पुराना पुस्ताका गायक गायिकाहरुमार्फत प्रस्तुति हुने पनि आयोजकले जानकारी दिएको थियो ।

Leave a Reply