रास्वपाको प्राइमरी इलेक्सन- ६२ केन्द्रीय सदस्यमध्ये २७ जनाले मात्र भोट हाले, सिस्टम ह्याक गरिएको भन्दै उजुरी

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार छान्न गत बिहीबार र शुक्रबार दुई दिन ‘प्राइमरी इलेक्सन’ गर्यो । नेपालमा कुनै पनि राजनीतिक दलले उम्मेदवार छनोटमा गरेको यो नयाँ प्रयोग हो ।

उक्त निर्वाचनमा मतदानको संख्या भने आश्चर्यजनकरुपमा न्यून देखिएको छ । रास्वपाको विधानमा पहिल्यैदेखि प्राइमरी इलेक्सनको व्यवस्था रहे पनि व्यवहारिक अभ्यासमा आएको थिएन । पहिलोपटक गरिएको यो अभ्यास विवादमुक्त भने रहन नसक्ने स्थिति देखिएको छ ।

रास्वपाको निर्वाचन आयोगले मतदानका लागि दुई दिन गरी ३६ घन्टा (बिहान ७ बजेदेखि राति ७ बजेसम्म) समय तोकेको थियो ।

सम्बन्धित क्षेत्र (रुपन्देही ३) का पार्टी सदस्य एवं विभिन्न निकायमा प्रतिनिधित्व गर्ने नेता कार्यकर्ता तथा केन्द्रीय सदस्यहरुले प्राइमरी इलेक्सनमा मतदानमा भाग लिन पाउने विधानमा व्यवस्था छ । सो क्षेत्रमा रास्वपाका २ हजार ७ सय १६ जना पार्टी सदस्य छन् भने केन्द्रीय समिति ६२ जनाको छ । यसरी कुल २ हजार ७ सय ७८ जना प्राइमरी इलेक्सनका मतदाता थिए ।

रास्वपाका अनुसार केन्द्रीय सदस्यबाहेक १५ सय ६७ मत खसेको छ । यो भनेको करिब ५८ प्रतिशत हो । रास्वपाका ११ सय ४९ जना सदस्यले प्राइमरी इलेक्सनमा भाग लिएनन् । यो आश्चर्यजनक हो ।

तर, योभन्दा आश्चर्यको विषय अर्को छ । ६२ जना केन्द्रीय सदस्यमध्ये २७ जनाको मात्रै मत खसेको छ । पार्टीका ३५ जना केन्द्रीय सदस्य (आधाभन्दा बढी) ले प्राइमरी इलेक्सनमा भोट हालेनन् वा उनीहरुको भोट गणना भएन ।

यस्तो न्यून मतदान के कारणले भयो भन्ने विषयले रास्वपाभित्रै कौतुहल पैदा गरेको छ । यसमा विभिन्न तर्कहरु आएका छन् । रुपन्देही ३ का कतिपय पार्टी सदस्यहरुसँग स्मार्ट फोन नरेको र अझै टिकटिके मोबाइल चलाइरहेकाले भोट हाल्न नपाएको हुन सक्ने एक नेताले बताए । यद्यपि, यो दावी पत्यारिलो छैन ।

केन्द्रीय सदस्यहरुका हकमा चाहिँ उनीहरुले उम्मेदवारहरुलाई राम्ररी नचिनेकाले ‘नो भोट’ मा गएको हुन सक्ने दावी गरिएको छ ।

‘प्राविधक समस्या केही पनि थिएन । तल्लो तहका केही सदस्यहरुसँग स्मार्ट फोन थिएन होला, तर केन्द्रीय सदस्यहरुसँग नहुने कुरै भएन । ३५ जना केन्द्रीय सदस्य आन्तरिक मतदानमा सहभागी नहुनु आश्चर्यको विषय हो । उम्मेदवारहरुलाई राम्ररी नचिनेको हुँदा आफ्नो भोट गलत ठाउँमा नजाओस भनेर सचेत भएका हुन् कि भन्ने पनि छ । तर, प्राइमरि इलेक्सनपूर्व नै सबै उम्मेदवारहरु जनमानसमै परिचित भइसकेको स्थितिमा केन्द्रीय सदस्यले नचिन्ने कुरा आउँदेन’, एक केन्द्रीय सदस्यले भने ।

यसैबीच रुपन्देही ३ का झण्डै तीन दर्जन पार्टी सदस्यहरुले रास्वपाको केन्द्रीय कार्यालयमा उजुरी गरेका छन् । प्राइमरी इलेक्सनमा सिस्टम ह्याक गरिएको र आफूहरुले मतदान गर्न नपाएको उनीहरुको दावी छ । ३२–३३ जनाको उजुरी प्राप्त भएको पार्टी स्रोतले बतायो ।

रास्वपा रुपन्देही अध्यक्ष डा. बुद्धि शर्माले केही प्राविधिक समस्याले यस्तो भएको बताएका छन् ।

‘एकैपटक भोटिङ गर्दा लोड भएर पनि समस्या भयो, नेपालको प्राविधिक समस्या पनि छँदैथियो, सबैले मोबाइल राम्रो नचलाएका पनि भेटिए, यो क्षेत्रमा करिब २७ सय मतदान गर्न मिल्ने सदस्य हुनुहुन्थ्यो’ उनले भने–‘केहीको भोट हालन नपाएको निवेदन आएर पनि समाधान भएको हो, केहीको युजर पासवर्डमा पनि समस्या आएको भेटियो, पहिलो प्रयोगमा सामान्य समस्या आए पनि समाधान हुन्छन् ।’

यो विषयमा रास्वपाले छानबिन गर्ने भएको छ । यस निम्ति भोलि–पर्सीतिर एउटा कार्यदल गठन हुन सक्ने एक नेताले जानकारी दिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *