काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सस्तो र सर्वसुलभ सेवा सुनिश्चितता, तथा चिकित्सा शिक्षा ऐनको अक्षरशः कार्यान्वयनको माग गर्दै प्रा. डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गरेका छन्।
आइतबार कैलालीबाट डा केसीले तीन दिने सत्याग्रहको घोषणा गरेका हुन् । गलत रुपमा गरिएको निजी मेडिकल कलेजहरुको सिट वृद्धि फिर्ता गर्ने साथैे इलाम,उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त संचालनमा ल्याउने लगायत यस अघि भएका सम्झौताहरु ( एकीकृत प्रतिष्ठान ऐन र विश्वविद्यालय पदाधिकारी नियुक्ति उच्च शिक्षा ऐन, गैरनाफामुलक मेडिकल शिक्षा , दरबन्दी सम्बन्धि आदि )कार्यान्वयन गर्न माग गरेका छन् ।
त्यस्तै लिपुलेकमा भइरहेको अतिक्रमण रोकि अतिक्रमित नेपाली भुमि फिर्ता गर्न भारतलाई तथा हाल चलिरहेका नर संहारकारी युद्धहरु रोक्न रुस र इजरायललाई माग राख्दै तीन दिने सत्याग्रह सुरु गरेको उनले विज्ञप्तिमार्फत बताएका छन् ।
डा.केसीका अनुसार हालै चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपमा निजी मेडिकल कलेजहरूको सिट संख्या बढाउने निर्णय चिकित्सा शिक्षा ऐनको मर्मविपरीत रहेको बताएका छन्।
इलाम, उदयपुर, डडेलधुरा र गेटामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्न पटक–पटक सम्झौता भए पनि कार्यान्वयन नगरेकोमा डा. केसीले सरकारको तीव्र आलोचना गरेका छन्।
‘त्रिविले १०० जना एमबीबीएस पढाउन हिचकिचाउँछ, तर पूर्वाधारहीन निजी कलेजलाई १३० सिट दिइन्छ, जुन दुर्भाग्यपूर्ण हो,’ डा.केसीको भनाइ छ।स्वास्थ्य प्रणालीको गिरावटमा नेताहरूको स्वार्थ, माफियाको चलखेल र आयोग नेतृत्वको निरीहता जिम्मेवार रहेको डा.केसीको ठहर छ।
उनले चीन र भारतले लिपुलेक हुँदै गरेको व्यापारिक सहमति तथा लिपुलेक अतिक्रमणको विरोधमा आवाज उठाउँदै नेपाल सरकारले त्यसप्रति तत्काल कदम चाल्नुपर्ने माग गरेका छन्।
त्यस्तै, युक्रेनमाथि रुसको आक्रमण र गाजामा इजरायलद्वारा गरिएका आक्रमणलाई मानवताविरुद्धको अपराध भन्दै विरोध जनाएका छन्। डा. केसीले सरकारलाई चेतावनी दिँदै जनस्वास्थ्यसँग खेलवाड सह्य नहुने उल्लेख गरेका छन्। उनले आफ्नो सत्याग्रह शान्तिपूर्ण र अहिंसात्मक हुने र माग पूरा नभएसम्म संघर्ष जारी रहने बताएका छन्।

Leave a Reply