डोटी । दाइहरूले तराईतिर बसाई सारेपछि वैशाख १५ गते माइतीको घर कुर्न आएकी रत्ना भण्डारी अहिले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतको शैयामा छटपटिँदै छन् । उनले माइतीघरमै आफ्नो सात वर्षीया छोरी गुमाउनु पर्यो ।
अछामको मंगलसैन नगरपालिका—६, तेर्सिङ्गे घर भएकी रत्ना श्रीमान् गोरे भण्डारीसँगै चार महिनादेखि पञ्चदेवल विनायक नगरपालिका–८ को बारला चुरखोलीमा रहेको माइत घरमा बस्दै आएकी थिइन् ।
पञ्चदेवल विनायक नगरपालिका–८ का वडाध्यक्ष छत्र बहादुर शाहीका अनुसार महिनावारी भएका कारण रत्ना चार दिनदेखि घर भन्दा करिब २५/३० मिटर टाढा खेतमा त्रिपाल हालेर बस्ने गरेकी थिइन् । बिहीबार राति पनि उनी आफ्नी सात वर्षीया छोरी कविता र स्थानीय निम जोशीसँगै त्रिपालमुनि सुतिरहेकी थिइन् ।
‘राती करिब ३ बजे माथिबाट पहिरो खसेछ, ढुङ्गा लागेर तीनै जना घाइते भएछन्’ वडाध्यक्ष शाहीले भने ‘रत्नाको टाउकोमा चोट लागेछ, कविता र निम ढुङ्गामुनि च्यापिएछन् ।’ छोरी ढुङ्गामुनि च्यापिएको देखेपछि रत्ना आत्तिएर चिच्याउँदै टोलतिर भागिन् । उनी चिच्याएको आवाज लगातार वर्षा भइरहेको सुनसान रातलाई चिर्दै गाउलेको कानसम्म पुग्यो ।
गाउलेहरू उद्धारका लागि खटे । कविता र निमलाई निकालियो । बचाउने प्रयास गरियो तर सम्भव भएन । उनीहरू दुवैको ज्यान गयो । ‘आमासँगै सुत्ने जिद्धि गरेर गएकी कविताले खाना पनि खाएकी थिइनन् रे’ वडाध्यक्ष शाही बताउँछन् । कवितासहित रत्नाका चार छोरी र दुई छोरा रहेका छन् ।
श्रीमान् गुमाएको एक वर्षमै निमको पनि ज्यान गयो
महिनावारी भएकै कारण रत्नासँगै त्रिपालमुनि सुतेकी स्थानीय निम जोशीको पनि अकालमै ज्यान गयो । गत वर्ष निमका श्रीमान् श्री जोशीको निधन भएको वडाध्यक्ष शाहीले बताए । ‘उहाँ मदिरा सेवन गरिरहनु हुन्थ्यो, त्यही कारण घरमा झगडा पनि भइरहन्थ्यो’ शाहीले भने ‘मदिराकै कारण उहाँको ज्यान गएको थियो ।’
निमका दुई छोरा छन् । आर्थिक अवस्था कमजोर भएका कारण जेठो छोरालाई निमकी दिदीले पढाइरहेकी छिन् । कान्छो छोरा आमासँगै बस्ने गरेको वडाध्यक्ष शाहीले जानकारी दिए ।
छाउगोठ भत्काउने अभियान अन्तरगत बारलामा भएका गोठहरू भत्काएपछि उनीहरू महिनावारी भएका बेला त्रिपालमुनि बस्दै आएका थिए ।
नगर प्रमुख चलाउने भन्छिन्—हामी छाउ नबार्नुस् भन्छौँ
महिनावारी भएका बेला छाउ बार्न नहुने कुरा सबैले भन्ने गरेको तर पनि बार्न कसैले नछाडेको अछाम पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेको दुखेसो छ ।
शुक्रवार घटनास्थल पुगेर घटनाको बारेमा सम्पूर्ण जानकारी लिएकी नगर प्रमुख चलाउनेले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ‘हामी भन्छौँ, छाउ नमानौँ तर घरमा श्रीमती छोरी बुहारीलाई गोठमा नबसौँ भन्दैनौँ ।’ उनले छाउ बार्दैनौँ, घरमै बस्छौँ भन्नेहरू पनि महिनावारी हुँदा गोठमै बस्ने गरेको बताएकी छन् ।
‘गोठ भत्काउँछौँ, अभियान गर्छौँ, फेरि पालमुनिको बास गर्छौँ’ नगर प्रमुख चलाउनेले भनेकी छन् ‘हामी अरूलाई तिमिले के गर्यौं भनेर प्रश्न गर्छौँ तर आफ्नो घरमा आमा श्रीमती छोरी बैनी बुहारीलाई पाखा नै राख्छौँ ।’ घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै उनले सामाजिक संरचनामा पितृसत्तात्मक सोच पुस्तान्तरण भएर आएको कुप्रथा हटाउन सबैले लाग्नु पर्ने बताएकी छन् ।
उनी थप्छिन् ‘महिलाहरू मान्दैनन् भन्ने भाष्य नै गलत छ, यो तपाई हामीले बनाएको गलत संस्कार हो ।’

Leave a Reply