के जनार्दनले ओलीसँग गोप्य वार्ता गरेका हुन् ? यस्तो छ भाइरल फोटोको वास्तविकता

काठमाडौं । माओवादी हेडक्वार्टरका निकट नेता कार्यकर्ताले पछिल्लो समय जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, मुख्य सल्लाहकार विष्णु रिमालसहितसँग बसेर खाना खाएको तस्बिर भाइरल बनाइरहेका छन् ।

उनीहरूले थाइल्याण्डमा पुगेर शर्माले माओवादी पार्टी फुटाउन एमाले अध्यक्ष ओलीसँग गोप्य वार्ता गरेको भनेर उक्त फोटो सार्वजनिक गरेका छन् ।

माओवादी कार्यकर्ताले फेसबुकमा भाइरल बनाइरहेको उक्त फोटोमा प्रधानमन्त्री ओली राधिका शाक्य, विष्णु रिमाल देखिन्छन् । यही फोटो भाइरल बनाएर पार्टीभित्र अन्तर संघर्ष चर्किएका बेला जनार्दनले ओलीसँग गोप्य वार्ता गरेको उनीहरूको आरोप छ ।

माओवादी पार्टीका आन्तरिक मेसेन्जर ग्रुपहरुमा उक्त तस्विर भाइरल बनाइएको छ । यसलाई ब्यापक शेयर गरेर हेडक्वार्टरको पक्षमा दृढतापूर्वक उभिऔं भन्दै आन्तरिक सर्कुलर जारी गरिएको छ ।

तर वास्तविकता भने फरक रहेछ । उक्त फोटो क्रप गरेर एकतर्फी मात्र भाइरल भइरहेको पाइएको छ । वास्तविक फोटोमा डाइनिङ टेबलको अर्कोतर्फ परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, कांग्रेस नेता एनपी साउद,जसपा नेता तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडा छन् ।

डाइनिङ टेबलको एकातर्फको मात्र फोटो क्रप गरेर अन्तर संघर्षलाई विद्रुपीकरण गरिएको वाइसिएलका पूर्व अध्यक्ष सुबोध शेर्पाली बताएका छन्। यो फोटो बिमस्टेक सम्मेलनका बेला प्रधानमन्त्रीको प्रतिनिधि मण्डलले सँगै खिचेको पाइएको छ ।

गत चैत १९ गतेदेखि २३ गतेसम्म बैंककमा भएको बिमस्टेक बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डलमा सांसदहरू समेत समेटिएका थिए । सोही बेलाको खाना खाने बेला खिचिएको तस्बिरलाई माओवादी विवादमा दुरुपयोग गरिएको शर्माको सचिवालयले जनाएको छ ।

सो फोटोमा देखिएका नेता यादवले आफूहरु सरकारी प्रतिनिधि मण्डलबाट नभएर इण्डिया फाउन्डेशनको निम्तोमा गएको र त्यहि बेला प्रधानमन्त्रीसँग भेट भएको बताए । एनपी साउद,आफू र जनार्दन शर्मालाई फाउण्डेशनले बोलाएको बताए । उनले अहिले माओवादी कार्यकर्ताले फोटो क्रप गरेर घृणित राजनीति गरेर जनार्दनको बदनाम गर्न खोजेको बताए ।

उनले परराष्ट्र मन्त्री राणाको आग्रहमा डिनर खान जाँदा सो फोटो लिइएको यादवले बताए ।

Comments

One response to “के जनार्दनले ओलीसँग गोप्य वार्ता गरेका हुन् ? यस्तो छ भाइरल फोटोको वास्तविकता”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    हैन यो प्रचारप्रसार गर्ने कति खतम मान्छे रहेछन् कम्युनिस्ट होइनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *