काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रूपमा व्यावसायिक उत्पादन सुरु गरेको छ। कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो।
परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२ साउन १२ गते देखि नियमित रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आयोजनाको व्यापारिक उत्पादन थालेको हो। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड ऊर्जाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो।
यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको छ। आयोजनाले ३ चैत्र २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो।
ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन (आइईई) २०८१ असोज ८ गते स्वीकृत भएको थियो। ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागबाट २०७२ असोज २२ गते उत्पादन इजाजत पत्र प्राप्त भएको थियो।
परियोजनाको इन्टेक करिब १५०० मिटर र पावर हाउस १२८२ मिटरको उचाइमा रहेको छ। पावर हाउसमा जडान गरिएका दुई वटा पेल्टन टर्बाइन युनिटहरू (प्रत्येक ५.५ मेगावाट) बाट कुल ११ मेगावाट उत्पादन हुनेगरी आयोजना डिजाइन गरिएको छ । डाइभर्सन बाँध र सहायक संरचना १०० वर्षको पुनरावृत्तिमा हुने बाढीलाई समेत ध्यानमा राखी डिजाइन गरिएको हो । जसको परिमाण २४७ घनमिटर प्रति सेकेन्ड अनुमान गरिएको छ।
नुवाकोट जिल्लाको समुन्द्रटार सबस्टेशनमा स्विचयार्डमार्फत जोडिएको आयोजनाबाट उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिशन लाइनमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको छ। यस प्लान्टबाट वार्षिक ६१ दशमलव ३१९ गीगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये ५० दशमलव ८९३ गीगावाट घण्टा वर्षायाममा र १० दशमलव ४२५ गीगावाट घण्टा सुख्खा मौसमी अवधिमा उत्पादन हुने अनुमान गरिएको छ।

Leave a Reply