हेटौँडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मधेश र महिलाका मुद्दा उठाउँदै नेतृत्वकारी भूमिकामा महिलाको हस्तक्षेपकारी उपस्थिति हुनु पर्ने बताएकी छिन् । वीरगन्ज उद्योग वाणिज्य संघको अयोाजनामा भएको ‘वृहत् महिला सम्मेलनः नारी शक्ति समर्पण र सम्मान’ कार्यक्रमा बताएकी हुन् ।
उनले भनिन्,‘संघले आयोजना गरेका ‘वृहत् महिला सम्मेलन, नारी शक्ति समर्पण र सम्मान’मा सहभागी हुन पाएँ । बारा–पर्सा क्षेत्रका उद्योग, व्यापार, सामाजिक क्षेत्रमा महिलासँग भेटघाट हुने अवसर भयो। महिला शक्ति परिवार निर्माणदेखि शैक्षिक सुधार र समाज रुपान्तरणमा अब्बल छन् तर उनीहरुलाई अझै अपेक्षित सम्मान प्राप्त भएको छैन ।’
‘महिला पनि नेतृत्व गर्न र उद्यम सञ्चालन गर्न सक्षम छन् भन्ने बारा–पर्साका महिलाले देखाएका छन्, वीरगन्जको उद्योग व्यापारमा महिलाले अग्रणी भूमिका खेल्नु सिंगो देशको अर्थतन्त्र सुदृढ बनाउने यात्रा हो ।’ भण्डारीले भनिन् ।

उनले समाजमा बाँकी रहेका लैंगिक असमानता हटाउन परिवर्तनको नेतृत्व महिलाले लिनु पर्ने बताइन् । कृषि, साना तथा मझौला, पर्यटन तथा ठुला उद्यममार्फत अर्थतन्त्र सुधार गर्न सकिने बताइन् । आत्मनिर्भर अर्थतन्त्रको सपना साकार पार्न लाग्नु पर्नेमा जोड दिइन् । वीरगंजले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको तर्क थियो । कार्यक्रममा बारा र पर्साका विभिन्न भूमिकामा रहेका अग्रणी नारीलाई सम्मान गरिएको थियो ।
मधेशका मुद्दा
भण्डारीले बारामा माछा, केरा, तरकारी, उखु उत्पादनबाट अर्थतन्त्र सुधार हुने बताइन् । बाराकै ऐतिहासिक सिम्रोनगढ, गढीमाइ र निकुञ्जले बाराको पर्यटकीय विकासमा योगदान दिइरहेको बताइन् ।
उनले चुरे क्षेत्रको अनियन्त्रित दोहनले मधेश मरुभूमिकरण भइरहेको, उर्वर भूमि नष्ट भएको र बालीको स्तर घटाइरहेको बताइन् । कृषि, उत्पादन र जनजीवन नै त्रसित भइरहेको बताइन् ।
उनले उखु किसानका भुक्तानी नहुनुले ग्रामीण अर्थमा गम्भीर असर परेको बताइन् । यस्तै, अझै मिटरब्याजी , साहुहरुको अमानवीय व्यवहार पीडितहरुको समस्यामा सरकारी नियमन फितलो रहेको बताइन् । सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गरिन् । सहकारी क्षेत्रमा उच्च ब्याजको प्रलोभनमा हजारौँले मेहनतको कमाइ गुमाइरहेका विषय पनि उठाइन् ।
५१ किलोको माला
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका नेता कार्यकर्ताले स्वागत गर्दै ५१ किलोको माला लगाइदिएका थिए । एमाले नेतृत्वले कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि केही नेता कार्यकर्ता विमानस्थल पुगेर भण्डारीलाई स्वागत गरेका हुन् ।
भण्डारीलाई स्वागतको नेतृत्व गर्नेमा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सचिवालय सदस्य जयप्रकाश थारु, केन्द्रीय सदस्य केदार न्यौपाने, अरविन्द सिंह, मधेश प्रदेश सचिव मनोज पौडेल, वीरगन्ज महानगर अध्यक्ष नवराज शर्मा, बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी थिए ।

पार्टी नेताहरुसँग छलफल छैन
आइतबार बाराको कलैयामा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पनि पूर्वराष्ट्रपति भण्डारीको सहभागिता हुनेछ । यसैले भण्डारी वीरगञ्जमै हुनेछिन् । ‘उद्योग वाणिज्य संघको कार्यक्रममा आउनु भएको हो, पार्टीका नेताहरुसँग कुनै औपचारिक भेटघाट र छलफल छैन,’ एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले भने ।
‘एमालेले राष्ट्रपति बनाएको र हाम्रो गौरवको विषय हो, यसैले आफ्नो गृहनगरमा आउँदा विमानस्थलमा स्वागत गरेका हौँ,’ एमाले मधेश प्रदेश सचिव मनोज पौडेलले भने, ‘भोलि कलैयामा कार्यक्रम छ भन्ने सुनेका छौँ, योबाहेक अरु पार्टीनिकट कुनै भेला छलफल उहाँसँग छैन, औपचारिक भेटघाट र छलफल पनि कतै छैन ।’
एमाले पर्साका सचिव महेश दासले भने वीरञ्जजमा औपचारिक कुनै कार्यक्रम नभएकाले विद्या भण्डारी उपस्थित हुने कार्यक्रममा सहभागी नहुन सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए ।


Leave a Reply