कुलमान घिसिङलाई प्रश्न- अब आफ्नै दल खोल्नुहुन्छ कि नयाँसँग मिलेर जानुहुन्छ ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अब राजनीतिमा आउने सङ्केत देखाएका छन्।

उज्यालो नेपाल अभियान लिएर एक महिने विदेश भ्रमणबाट फर्किएका घिसिङले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देशमा भएको निराशा हटाउनुपर्ने बताए।

विमानस्थलमा सञ्चारकर्मीहरूले अब नयाँ पार्टी खोल्ने कि नयाँ आएका शक्तिसँग मिलेर जानुहुन्छ ? भन्ने प्रश्न सोधेका थिए।

उनले जवाफमा भने, ‘धेरै सुझाव आएका छन्, पार्टीभित्र होस् वा बाहिर राम्रा व्यक्तिहरू आओस्, डेलिभरी दिन सक्ने टिम बनोस्। व्यक्तिगत रूपमा मात्रै प्रयास गरेर मात्रै हुँदैन। सामूहिक प्रयास हुनुपर्छ भन्ने नै हो। राम्रा व्यक्ति हरेक क्षेत्रमा आउनुपर्छ भन्ने हो। केही गर्छु भन्नेहरू एक भएर देश बनाउने अभियानमा लाग्नुपर्छ।’

उनले एक जना व्यक्तिले देशको समस्या समाधान गर्न नसक्ने भन्दै रुपन्देहीको उपनिर्वाचन आफ्नो प्राथमिकतामा नरहेको सुनाए।
उनले भने, ‘रुपन्देहीको उपनिर्वाचनमा धेरै जान चाहन्न, एउटा व्यक्ति गएर धेरै सुधार हुने अवस्था छैन। एक ठाउँको विषयलाई लिएर मैले यो अभियान सुरु गरेको पनि होइन। रुपन्देहीको विषयलाई मैले महत्त्व दिएको छैन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *