काठमाडौं । चाडबाड लागेसँगै अहिले हलमा नेपाली फिल्मको ओभरफ्लो सुरु भएको छ । फेस्टिभ मुडमा रहेका दर्शकलाई तान्न सकिन्छ कि भनेर मेकर्स यो समयमा रिलिजको हानाथाप गर्छन् । तर, चर्को प्रतिस्पर्धामा कतिपय राम्रा चलचित्र डुब्ने खतरा हुन्छ ।
गत हप्ता तीनवटा चलचित्र एकैसाथ प्रदर्शनमा आएका थिए– माग्ने राजा, जनै हराएको मान्छे र ताराहरु । यीमध्ये कलात्मक कलेवरमा प्रस्तुत गरिएको ताराहरु नामक चलचित्र आएको र गएकै पत्तो नै भएन । उत्कृष्ट रिभ्यू पाएको जनै हराएको मान्छेले पनि अपेक्षित दर्शक तान्न सकेको छैन । कमजोर रिभ्यूका बाबजुद माग्ने राजा भने हलमा टिकिरहेको छ ।
यो साता फेरि दुईवटा चलचित्र खप्टिएका छन्, कोसेढुंगा र गुन्यूचोलो । यी दुवै प्रतिक्षित चलचित्र हुन्, जसमध्ये काशेढुंगा आजबाट प्रदर्शनमा आइसकेको छ भने गुन्यूचोलो भोलि रिलिज हुँदैछ । अघिल्लो साता मैले जनै हराएको मान्छेको रिभ्यू गरेको थिएँ भने यो साता कोसेढुंगाको रिभ्यू लिएर आएको छु ।
यो रिभ्यू गर्नु वास्तवामा जटिल काम हो । चलचित्रमा जुन चिजले समिक्षकलाई छोएको हुन्छ, त्यसले आम दर्शकलाई अपिल नगर्न सक्छ । जुन चिज आम दर्शकलाई मन पर्छ, त्यसले समिक्षकलाई प्रभावित नगर्न सक्छ । समिक्षककै हेराइमा पनि एकरुपता हुँदैन । मैले चाहिँ समिक्षा गर्दा सँधै आफूप्रति इमान्दार हुने कोशिश गर्छु । मनमा एउटा र लेख्ने अर्को कदापी गर्दिनँ । यहाँले त्यही रुपमा बुझिदिनुहोला ।
अब लागौं कोसेढुंगाको समिक्षातर्फ ।
यो चलचित्रको निर्देशन सरोज पौडेलले गरेका हुन्, जसले नेपालको सर्वकालीन ब्लक बस्टर चलचित्र पूर्णबहादुरको सारंगी निर्देशन गरेका थिए । कोसेढुंगालाई पनि पूर्णबहादुरको सारंगीको निर्देशकले निर्देशन गरेको चलचित्र भनेर ब्राण्डिङ गर्न खोजिएको छ । इतिहासकै सुपरहिट चलचित्र दिएका निर्देशकले त्यसको ब्याज खान खोज्नु अस्वभाविक पनि होइन ।
प्रश्न उठ्छ, के निर्देशक पौडेलले पूर्णबहादुर सारंगीको साख धानेका छन् त ? उत्तर हो अवश्य धानेका छन् । पूर्णबहादुरको सारंगी कागतली लागेर उत्कृष्ट बनेको होइन भन्ने यो चलचित्रबाट उनले सिद्द गरेका छन् । एक हिसाबले उनले आफ्नो निर्देशकीय दक्षताको पुनपुष्टि गरे कोसेढुंगा मार्फत । व्यवासयीकरुपमा त पूर्णबहादुरको सारंगीको रेकर्ड पछ्याउन असम्भव नै होला । निर्देशकीय हिसाबले उनले आफ्नो छाप छोडेका छन् र नेपालका अब्बल निर्देशकको सूचीमा अब उनलाई आँखा चिम्लेरै समावेश गर्न सकिन्छ ।
चलचित्र चाहिँ कस्तो छ त ? निर्देशन राम्रो हुँदैमा चलचित्र उत्कृष्ट निस्किन्छ भन्ने पनि हुँदैन । चलचित्रको स्क्रिप्ट नै सबैभन्दा आधारभूत कुरा हो । कमजोर स्क्रिप्टमा टेकेर जतिसुकै अब्बल निर्देशकले पनि राम्रो चलचित्र दिन सक्दैन । पूर्णबहादुरको सारंगी जस्तै कोसेढुंगाको कथा पनि पौडेल स्वयम्ले लेखका हुन् । सह्रानीय के छ भने उनले कोसेढुंगाको कथा लेख्दा र निर्देशन गर्दा पूर्णबहादुरको सारंगीको उतिसारो धङधङी देखाएका छैनन् । धङधङी यस अर्थमा मात्रै छ कि यो चलचित्रमा पनि बढी भावुकता छ र दर्शकलाई रुवाउनै प्रयास गरिएको छ । कथावस्तुका हिसाबले भने कोसेढुंगाले फरक चिज पस्किएको छ । एकाध दृष्यले अवश्य पूर्णबहादुरको सारंगीलाई सम्झाउँछन् ।
अब कथा सारमा जाउँ ।
गाउँका दुई युवायुवती शीतल र सन्जोग (सुरक्षा पन्त र मञ्जिलकुमार) प्रेममा परेका छन् । तर, गरिब र बेरोजगार भनेर सुरक्षालाई छोरी सुम्पिन उनका बुवा तयार हुँदैनन् । लोकसेवा निकालेर सरकारी अफिसर बन्ने एकसुत्रीय अभियानमा छन् सन्जोग । गाउँमै बसेर पशुपालन गरिरहेका उनका फुपुका छोरा ऋषीराम (आर्यन सिग्देल)ले जसोतसो बुवालाई लट्पटाएर विहे गराइदिन सफल हुन्छन् ।
विहेपछि पनि सन्जोगले लोकसेवामा नाम निकाल्न सक्दैनन् । अन्ततः उनी विदेश पलायन बन्न बाध्य हुन्छन् । केही समय त राम्रै चल्छ । तर, अचानक उनी एउटा ठूलो विपत्तिको खाडलमा पर्छन् । त्यसपछि चलचित्रले नयाँ मोड लिन्छ ।
भयो, अब यहाँभन्दा बढी सस्पेन्स नखोलौं । सन्जोग यो खाडलबाट निस्किन सक्छन् कि सक्दैनन् भन्नेमा बाँकी कथा बहकिएको छ ।
चलचित्रको पहिलो हाफ तुलनात्मकरुपमा कमजोर छ । पृष्ठभूमिको निर्माण र क्यारेक्टर बिल्ड अप गर्न गर्न लेखक–निर्देशकले आवश्यकताभन्दा धेरै समय लिएका छन् । मुलकथामा प्रवेश गर्न आलटाल गरिएको छ । यद्यपि, दर्शक बोर नै भने हुँदैनन् । टेलिसिरिलका जस्ता हल्काफुल्का दृष्यले ईंगेज गराइराख्छन् ।
कतिपय दृष्य चाहिँ मिनिङलेस पनि छन्, जसलाई सहजै कैंची लगाउन सकिन्थ्यो । उदाहरणका लागि नीति शाहले लाइफ इन्सुरेन्सका लागि गाउँका मानिसलाई फकाएको बारम्बार देखाइएको छ । यसले इन्सुरेन्सको विषयमा केही सन्देश दिन खोजेको हो कि भन्ने लाग्छ, तर अन्ततः कथामा यसको कुनै पनि सरोकार भेटिन्न । यसरी नाश भएका दृष्य अरु पनि छन् । मैले चलचित्रको सुरुवातको र हाफटाइमपछिको दृष्य अलिकति छुटाएँ । जसले गर्दा केही मिस भएको हुन सक्छ । त्यसका लागि क्षमा चाहन्छु ।
सेकेन्ड हाफ हेर्न लायक छ । मुख्य पात्र विदेशिएसँगै कथा राम्रैसँग मुभ अन हुन्छ र दर्शक बल्ल चलचत्रिमा डुब्न थाल्छन् । चलचित्रको एउटा गीतको भिडिओ केही दिनअघि युट्यूवमा रिलिज भएको थियो । खासमा यो गीत हेरेपश्चात नै म कोशेढुंगा चलचित्र हेर्न लालायित बनेको थिएँ । झलकमा गन्धर्वको कालजयी गीत ‘आमैले सोध्लिन् नि।।’ को रिमेक हो यो । यो गीतले नै चलचित्रको सिंगै कथाको पेटारो खोलिदिएको जस्तो लागेको थियो मलाई । तर, निर्देशकले झुक्याएका रहेछन् । गीतले जे बोल्छ, चलचित्रको कथा त्योभन्दा फरक छ ।
गीतमा दर्शाइएजस्तै चलचित्रले वैदेशिक रोजगारसँग सम्वन्धित एउटा संवेदनशील मुद्दा बोकेको छ । चलचित्रको क्लाइमेक्स गहकिलो छ । चलचित्रको फाइनल ट्विस्टले दर्शकलाई झट्का दिने सामथ्र्य राख्छ । यद्यपि, यो एकदमै अनप्रेडिक्टेबल भने होइन । फिल्मी ट्वीस्टसँग अभ्यस्त दर्शकले यसको अनुमान गर्न पनि सक्छन् । आम दर्शकका लागि भने विष्मयकारी नै छ । अर्थपूर्ण र तार्किकरुपमा कथाको समापन गरिएको छ । यसलाई पूर्णबहादुरको सारंगीजस्तो पूरै वियोगान्त चलचित्र भन्न मिल्दैन । संयोग र वियोगको समिश्रण छ क्लाइमेक्समा । खुशीको कुरा यो हो कि नेपाली चलचित्रमा क्लाइमेक्स पनि गतिला बन्न थाले ।
अब कुरा गरौं कलाकारको । कथाको केन्द्रमा छिन् अभिनेत्री सुरक्षा पन्त । उनको अभिनय ए श्रेणीको छ । आफ्नो चरित्रको गहिराइसम्म पुगेकी छन् सुरक्षा । खट्किएको चाहिँ उनको र नायकको केमेस्ट्री हो । नायकभन्दा नायिका पाको देखिनु हाम्रो फिल्मी गणितमा त्यति उपयुक्त मानिँदैन । यो चलचित्रमा या त नायक या नायिका अर्को खोजिनुपथ्र्यो, उमेर मिल्दो । उमेरकै कारणले सुरक्षालाई चञ्चले दृष्यमा त्यति सुहाएको पनि छैन, यद्यपि, उनले आफ्नो तर्फबाट चाहिँ राम्रो गरेकी छन् । यो चलचित्रको सफलता वा असफलता सुरक्षाका लागि निकै महत्वपूर्ण हुनेछ ।
चलचित्रमा सुरक्षाको जोडी बनेका छन् अभिनेता मन्जिल कुमार । उनले आफ्नो चरित्रको वजनलाई अलि धान्न नसकेको हो कि जस्तो लाग्यो । अभिनयको हकमा सुरक्षाको अगाडि उनी फितला लाग्छन् । सायद अनुभवको कमिले पनि हुनुपर्छ । नायककै रुपमा चाहिँ उनीबाट धेरै आशा गर्न सकिन्न ।
आर्यन सिग्देल पनि गतिलै भूमिकामा छन् । कुनै जमानाका चकलेटी वा रोमान्टिक हिरो आर्यन पछिल्लो केही समय सेलाएपछि अहिले फेरि आफूलाई ‘अभिनेता’का रुपमा रिभाइभ गर्न खोजिरहेका छन् र यो चलचित्रले उनलाई त्यसमा पक्कै सघाउने छ । उनको भूमिका जति र अभिनय दुवै वजनदार छ ।
उदियमान अभिनेत्री नीति शाह इन्सुरेन्स एजेन्टको रुपमा छिन् । उनको सुन्दरताको त वर्णन गरिरहनु परेन । कम मेकअपमा पनि उनी पर्याप्त ग्ल्यामरस देखिएकी छन् । नीतीको अभिनयमा भने अझै परिस्कारको आवश्यकता देखिन्छ । विशेषत डाइलग डेलिभरीमा सुधार ल्याउनुपर्ने छ ।
अभिनेता पवन खतिवडाको पनि चलचित्रमा बलियो उपस्थिति छ । मैले भनिरहन नपर्ला कि उनी एक कुशल अभिनेता हुन् । यो चलचित्रमा पनि आफ्नो छाप छोडेका छन् । उनको संवाद सम्प्रेषण निकै राम्रो छ । चलचित्रमा पवनको भूमिका कबड्डी सिरिजका दयाहाङ राईसँग एकदमै मिल्दोजुल्दो लाग्छ । उनलाई काजीको बाहुन भर्सन भन्दा पनि फरक पर्दैन, जो दुई आसेपासेलाई आफ्नो पछाडि राखेर मोटरसाइकलमा कुद्छ र एउटी केटीलाई असफलतापूर्वक निरन्तर फलो गरिराख्छ ।
चलचित्रमा ऋचा शर्मा पनि छिन् र तर उनी किन छिन् भन्ने प्रश्नको उत्तर चाहिँ मैले भेटिनँ । चलचित्रमा उनको भूमिका अति मामूली छ । ऋचाले यो भूमिका किन स्वीकार गरिन् वा उनलाई किन अफर गरियो भन्ने उदेक लाग्छ ।
अन्य कलाकारले आआफ्नो भूमिकालाई राम्रैसँग निभाएका छन् ।
चलचित्रको संगीतपक्ष बलियो छ । चलचित्रमा समावेश ‘नत्र भने जिन्दगी व्यर्थ छ।’ बोलको गीत पहिल्यै सुपरहिट भइसकेको थियो । यो गीतको कोरियोग्राफी पनि बबाल छ । खासमा गीत हिट हुनुको केही श्रेय कोरियोग्राफर स्मृती तिमल्सिनालाई पनि दिनुपर्छ । उनले गराएका केही स्टेप टिकटकमा भाइरल छन् । यो गीतको लोकप्रियताले चलचित्रको व्यवसायीकतालाई मलजल गर्ने विश्वास निर्माण पक्षले लिएको छ ।
साथै, झलकमान गन्दर्भको ‘आमाले सोध्लिन् नि ।’ बोलको गीतलाई रिमेक गरेर चलचित्रमा समावेश गरिएको छ, जुन औधि मार्मिक सुनिन्छ । यो गीतको भिडिओ पनि बेदनामय छ ।
चलचित्रको कथा टमक्क मिलेको छ । कथाले एउटा ज्वलन्त मुद्दाको उठान मात्रै गरेको छैन, प्रभावकारीरुपमा सन्देश प्रवाह पनि गरेको छ । पटकथामा भने केही कमीकमजोरी छन् । मध्यान्तरपूर्व चलचित्र पुरै ‘शाकाहारी’ हुनु पटकथाको कमजोरी हो । संवाद औसत छ । शहरमा हाकिम र नेतासँगका संवाद परम्परागत शैलीका छन् ।
अहिले लाखौं नेपाली युवा रोजगारीकै प्रयोजनका लागि विदेशिएका छन् । आफ्नो छोरा–सन्तानलाई वैदेशिक रोजगारीमा पठाएका परिवारका सदस्यलाई यो चलचित्रले निकै संवेदित र आहत तुल्याउन सक्छ । साथै, देशका नीति निर्माताले पनि हेर्नुपर्ने चलचित्र हो यो । चलचित्रले उनीहरुलाई देशलाई बस्न लायक किन बनाउन सकेनौं भनेर सोच्न वाध्य बनाउने छ ।

Leave a Reply