जसराज किराती: जसलाई कवि कहलाउन काठमाडौं धाइरहनु परेन

‘धेरै कुरा बिर्सिसकेँ हौ ! अचेल धेरै कुरा याद आउनै छाडिसक्यो !,’ कसैसित कुराकानी गर्नुअघि ८२ वर्षीय वरिष्ठ कवि जसराज किरातीले राख्ने ‘डिस्क्लेमर’ हो यो । बोल्दै जाँदा कुनै प्रसंग छुट्न सक्ने कुरा पहिल्यै सचेत गराउँछन् । अनि सम्झनाको पोकोपुन्तुरो खोतल्न थाल्छन् ।

उसो त पछिल्ला एकाध वर्षदेखि कवि किराती हिजोका कुरा फ्याट्–फ्याट् भन्न सक्दैनन् । उमेरका कारण कतिपय सम्झनाहरु विस्मृतिको गर्तमा पुगिसकेका छन् ।

करिब करिब विस्मृतिमै पुगिसकेका किरातीको जीवन–कथा उधिन्न अलिकति सन्दर्भ कोट्याइदिने मान्छे छेवैमा हुनुपर्छ । यसपछि चलचित्रको फ्लासब्याक जसरी मिहीन तवरले विस्मृतिमा पुगिसकेको स्मृतिका वहीखाता पल्टाउन सुरु गर्छन् ।

खोटाङको बुइपामा जन्मिएका किरातीले पाँच दशकअघि नै पहिलो कवितासंग्रह सार्वजनिक गरेका थिए, ‘उज्यालो खोज्ने आँखाहरु’ (२०३४) । २०५७ सालमा ‘जसराज किरातीका कविता’ सार्वजनिक गरे, २०६५ मा ‘जसराज किरातीका प्रतिनिधि कविता’ सार्वजनिक गरे ।

पहिले गाउँमा हली थिए । अलि पछि व्यापारी भए, त्यसपछि शिक्षक भए । अलि पछि नेता भए, त्यसपछि जिल्ला पञ्चायतको उपसभापति भए । सबैभन्दा ज्यादा निख्खुर अर्गानिक कवि भए ।

सर्पले सर्पको खुट्टा देख्छ

कवि किराँतीको जीवनको किताब पल्टाउने हो भने त्यहाँ अनेकखाले उपकथाहरुको लामै श्रंखला भेटिन्छ । ती उपकथाहरु तत्कालीन समय र समाज देखाउने आँखीझ्याल समेत हुन् । जीवनको ऊर्जाशील समय खोटाङको माटोमा लगानी गरेका किराती शिक्षक थिए, विद्यार्थीलाई अक्षरको गोहो देखाए । राजनीतिज्ञ थिए, विकास र समृद्धिका सवाल उठाए । एक जिम्मेवार पिता थिए, १६ जना छोराछोरीलाई भविष्य देखाए ।

मूलतः कवि थिए, कवितामार्फत् आममानिसका पक्षमा उभिए । समाजको विकृति, विसंगतिविरुद्ध दह्रो प्रश्न उठाए । देश र माटोप्रति माया देखाए, राजनीतिमाथि प्रश्न तेर्साए । अनि गाउँमा बसेर पनि कवि बन्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखाए ।

किरातीसँग मूलधार (काठमाडौं केन्द्रित)को मिडिया थिएन । मिडियाकर्मीसँग ओहरदोहर थिएन । काठमाडौंबाट साढे दुई सय किलोमिटर टाढा बुइपा (खोटाङ)मा बसेर निरन्तर काव्य साधनामा लीन भए । खोटाङको भूगोललाई आफ्नै पैतालाले नापेका किरातीले कविताको भूगोल कलमका निवले नापे ।

काठमाडौंबाट दूर रहेर पनि आफ्नो कविताको ओजलाई कमजोर हुन दिएनन् । अहिले पनि पारिजातले भनेको वाक्य कवि किरातीको कानमा गुन्जिरहन्छ । पारिजातले भनेकी थिइन्, ‘किराती कवि, तिमी राम्रो लेख्छौ जसराज, लेख्न कहिल्यै नछाड ।’

खोटाङमै बसे पनि कवि किराती संस्कृतिविद् सत्यमोहन जोशीको नजरमा परे । जोशी सँगसँगै बसे, साहित्यका कुरा गरे, लोक संस्कृतिबारे गन्थनमन्थन गरे । सँगसँगै लोकल रक्सीलाई चिरिप्प पारे । प्राध्यापक अभी सुवेदीदेखि खगेन्द्र संग्रौलासम्मले कवि किरातीको कवित्वमाथि आफ्ना शब्दहरु खर्चिएका छन् । यी उदाहरणका आधारमा भन्न सकिन्छ, किरातीले काठमाडौं खोज्दै आउन परेन, काठमाडौं नै उनका कवितालाई खोज्दै खोटाङसम्म पुग्यो ।

तर, कसरी साहित्यमा घुसे त किराती ? यसको ठोस जवाफ किरातीसित छैन । त्यसवेलाको बुइपा अलग्गै थियो । पढ्ने मान्छेहरु औंलामा गन्न सकिने अवस्थामा थिए । शिक्षाको नाममा अक्षर चिन्नु नै ठूलो विषय हुन्थ्यो ।

अक्षर खुट्याउनु पहाड फोर्नुजस्तो गाह्रो हुने समयमा कविता लेख्ने मान्छे बुइपामा भेटिनु सर्पको खुट्टा देखिनु जत्तिकै गाह्रो थियो । तर, भनिन्छ नि, सर्पले सर्पकै खुट्टा देख्छ । स्कुले जीवनमै किरातीको कवित्व देख्न सक्ने अर्का कवि गोरखबहादुर श्रेष्ठ सर्प बनेर आइपुगे । किरातीको कलममा कवित्व देख्ने ओखलढुंगाका शिक्षक गोरखबहादुर नै पहिलो व्यक्ति थिए ।

‘किन लेख्ने भएँ म ? बडो अनौठो लाग्छ । मलाई गोरखबहादुर सरले जीवनमा जीवनै दिनुभए जस्तो लाग्छ,’ किराती सुनाउँछन्, ‘म लेख्न नजाने पनि गाउन जान्ने मान्छे थिएँ । त्यो गीत गाउने कला नै पछि गएर कविमा परिणत भयो ।’

किरातीको लेखनलाई अझैं परिस्कृत गराउन सहयोग गर्ने काम तत्कालीन प्रशासक परशु प्रधानले गरिदिए । साहित्यकार प्रधान सीडीओ बनेर खोटाङ गएका थिए । खोटाङमा साहित्यमा जमेका किराती थिए । दुवैबीच दोस्तियारी भयो । मिल्ने साथी बने । किताब साटासाट गरेर पढे । एक अर्काको सृजना देखाएर सुझावको लेनदेन गरे ।

‘गोरखबहादुर श्रेष्ठ त बित्नुभयो । भोजपुरे परशु प्रधान जीवितै हुनुहुन्छ । उहाँलाई अहिलेसम्म नभेटेकोमा मलाइ विस्मात् पनि लाग्छ,’ किराती थकथकी मान्छन् ।

कतिवेला कवि भए, पत्तै पाएनन्

२० को दशकबाटै कविता लेखनमा सक्रिय भएका थिए किराती ।

आमाले आपाबाट लुकीलुकी किरातीलाई पढ्ने वातावरण मिलाइदिन्थन् । आपा भने छोराको पढ्ने सौखको विरुद्धमा थिए । आपाको चाहना थियो, आफूले जे काम गरेको हो छोराले त्यही काम गरोस् ।

किरातीका आपा भाँडा व्यापारमा सक्रिय थिए । बाबुछोरा भााडाकुँडा किन्न धरानदेखि काठमाडौंसम्म हिँडेर जान्थे । झण्डै एक महिनामा भाँडाकुँडा बोकेर गाउँ पुग्थे । खोटाङका विभिन्न ठाउँमा पुर्याएर बेच्थे ।

‘आपाले मैले जे काम गरेको हो, त्यही गर् भन्नुहुन्थ्यो । राईको छोराले पढेर केही पनि हुँदैन भन्नुहुन्थ्यो,’ किराती सम्झिन्छन्, ‘तर म लुकी लुकी पढेँ ।’

आपाले किरातीलाई पढाइमा रोक्नुका पछाडि अनेक कारण थिए । प्रमुख कारण थियो, गरिबी । किरातीका आपा टुहुरा थिए, फुपूले हुर्काएकी थिइन् । जमिनको नाममा दुई चार टुक्रा बारी मात्रै थियो । गाउँमा अरुको हली गरेर गुजारा चलाउनुपथ्र्यो । तर, जब भाँडाको व्यापारमा बाबुछोरा लागे, तब आर्थिक अवस्था सुध्रिँदै गयो । मनग्गे पैसा कमाए । जग्गा जमिन पनि जोडे । भाँडाकु्ँडाको व्यापारमै भविष्य देखेका पिताले किरातीलाई पनि त्यतै लगोस् भन्ठान्थे ।

तर, किरातीले हिँड्ने बाटो अलग्गै तय भइसकेको थियो । आमाको सहयोगमा स्कुल पढ्न थालेका किरातीले २०२८ साल एसएलसी पनि दिए । एसएलसीमा उनलाई अनिवार्य अंग्रेजी लाग्यो । आपाले ठिक्क पर्यो भने । पछि भोजपुर पुगेर पूरक परीक्षा दिए, एसएलसी पास भए ।

स्कुल पढ्दाताका नै गोरखबहादुर काठमाडौं आउ–जाउ गरिरहन्थे । काठमाडौंबाट किताबका रास बोकेर लैजान्थे । त्यसवेला नै पारिजातको किताबहरु गोरखबहादुरले बुइपा पुर्याइसकेका थिए । पछि किराती स्वयं नै पारिजातसँग नजिक भए । काठमाडौं आउँदा जहिल्यै पारिजातले भेटेर मात्रै फिर्थे ।

किराती सुनाउँछन्, ‘गोरखबहादुर सरले मलाई किताब ल्याएर दिनुहुन्थ्यो, पढ्थेँ । म त थाहै नपाई भित्रभित्रै लेखक भइसकेको थिएँछु । अनि कविता लेख्न थालेँ ।’

दुई महिनामा दुई विवाह

किरातीको १४ वर्षको उमेरमै विवाह भएको थियो ।

पछि श्रीमतीको मृत्यु भयो । २०२२ सालमा किरातीले दोस्रो विवाह गरे । दोस्रो विवाह गरेको दुई महिनामै तेस्रो विवाह गरे ।

तेस्रो बिहेबारे किराती सुनाउँछन्, ‘तेस्री श्रीमती लाहुरेकी श्रीमती हो । ससुराले मेरो आपालाई फकाउनुभएछ, ‘ज्वाइँलाई खेटत पनि दिन्छु, जारी पनि तिरिदिन्छु’ भनेर । आपा फकिनुभयो । तर, मैले दोस्रो बिहे गर्न नमान्ने भएँ । आपाले काट्छु, मार्छु, मैले भनेको मान्दैनस् भन्नुभएपछि बिहे गर्नैपर्यो ।’

बिहे गरेपछि सर्त अनुसार खेत पाएनन् । किरातीका आपा सम्धीसँग बेस्सरी रिसाए । त्यसवेला १२ सय हो वा १४ सय जारी किरातीले नै लाहुरेलाई तिर्नुपर्यो ।

समय बदलिँदै गयो । दुई बिहे गरेको छ वर्षपछि किरातीले एसएलसी पास गरे । गाउँकै विद्यालयमा शिक्षक भए । किराती सुनाउँछन्, ‘पछि आपाले पनि पढ्नुपर्ने रैछ भन्ने बुझ्नुभयो ।’

त्यसवेला किरातीको तलब १२० वा १७० थियो, उनलाई यकिन छैन । तथापि दुई सयभन्दा कम्ती नै थियो । नेपाली विषयको शिक्षक थिए । एसएलसी गरेकाहरुलाई नै पढाउनुपर्ने थियो । झण्डै आफू समानका विद्यार्थीहरुलाई पढाउनुपर्दा किरातीले झनै धेरै पढ्नुपर्ने भयो ।

‘धेरै पढ्नुपर्ने जिम्मेवारीले मलाई फाइदा नै गर्यो,’ किराती सुनाउँछन्, ‘विस्तारै मलाई पढ्ने, लेख्ने आदत बस्दै गयो ।’

नागरिकतामै ‘किराती’ थर लेख्ने पहिलो व्यक्ति

त्यसवेला ‘राई’ थरलाई पदविको रुपमा लिइन्थ्यो । अहिले पनि इतिहासविद्हरुले ‘राई’लाई थर नभएर पदवि भएको बताउँछन् । यो तथ्य प्रमाणित पनि भएको छ ।

बुइपामा पनि तालुकदारहरुले मात्रै ‘राई’ लेख्थे । बाँकीले ‘जमी’ लेख्थे । किरातीले गोरखबहादुरसँग सल्लाह लिए, ‘के गर्ने दाइ ? राई नै लेख्नुपर्ने के बाध्यता छ र ? म थर फेर्छु ।’

गोरखबहादुरले सोधे, ‘थरमा के लेख्छौ त ?’

किरातीले भने, ‘किराती लेख्दा हुन्छ कि ?’

नयाँ थर सुन्नसाथ गोरखबहादुर उत्साहित बने, ‘काइदाको थर आयो । तिमीले साँच्चै राम्रो थर जुरायौ ।’

यसपछि किरातीले नागरिकतामै आफ्नो थर किराती राखे ।

नागरिकतामा नयाँ थर राख्नलाई उनलाई खास्सै झमेला भएन । उनको साथी परशु प्रधान नै सीडीओ थिए ।

‘अहिले यो थरमा आनन्द लाग्छ । सुदर किराती र गोपाल किरातीले पनि किराती नै लेखेका छन् । गोपालले पहिला राई लेख्थ्यो । अहिले धेरैले किराती लेख्छन्,’ उनी भन्छन्, ‘नागरिकतामा सबैभन्दा पहिला किराती लेख्ने मान्छे म नै हो ।’

‘राजनीतिमा लागेर ठूलो गल्ती गरेँछु’

शिक्षक भइखाएका थिए । कविको परिचय बनाएका थिए । तर, एक दिन किरातीलाई मान्छेहरुले सुझाए, ‘तिमी जत्तिको मान्छे नेता बन्नुपर्छ ।’

किराती पनि हौसिए । शिक्षकबाट राजीनामा दिए । पंचायतको राजनीतिमा लागे । जिल्ला पन्चायतको उपाध्यक्षसम्म भए । पंचायत ढलेको केही वर्षपछि माओवादीले ‘जनयुद्ध’ सुरु गर्यो । पछि माओवादीमै गोपाल किरातीको समूह पनि समाहित भयो ।

गोपाल किराती उनको घर बुइपामा आइबस्थे । उनकै घरमा माओवादीको बैठक बस्थे । जनयुद्ध उत्कर्षको वेला रामबहादुर थापा बादल पनि बुइपा नै आइपुगे । किरातीलाई सबैले फकाए, फुल्याए । अन्ततः उनी माओवादी भए ।

पछि २०६२/६३ को जनआन्दोलन भयो । २०६४ सालमा संविधानसभाको चुनाव पनि भयो । किरातीलाई समानुपातिक सूचिमा पनि राखियो । नारायणकाजी श्रेष्ठले पनि किरातीलाई निकै आश्वासन दिएका थिए । तर, अन्तिममा किरातीको ठाउँमा गणेश अधिकारीलाई समानुपातिक सांसद बनाए ।

‘मलाई उनीहरुले बिगारेर छाडिदिए नि ! त्यतातिर दिनुपर्ने समय मैले लेखनमा लगाउनुपर्ने थियो, तर म लहैलहैमा लागेँ । पछि मैले राजनीति नै छाडिदिएँ,’ किराती सुनाउँछन्, ‘मैले ठूलो गल्ती गरेँछु । मैले पहिल्यैदेखि लेखेर बस्नुपर्ने थियो । राजनीति गर्ने हुँदा मलाई यता मिल्काए, उता मिल्काए ।’

०००

किरातीका दुई श्रीमतीबाट १६ जना छोराछोरी छन् । अहिले दुई श्रीमतीसँगै बसिरहेका छन् । छोराछोरीमध्येमा देवान किराती कविकै रुपमा स्थापित छन् । उपसचीव अनिल किराती पनि कवि नै हुन् । अर्को छोरा मिलन किराती पनि गीतकार तथा कवि हुन् । छोरी बबिना किराती अहिलेको चल्तापूर्जा गायिका हुन् ।

सन्तान पनि कला, साहित्यमा लाग्दो कस्तो लागिरहेछ तपाईंलाई ?

कतिपयको सपना सम्पत्ति कमाउने, ठूलो घर बनाउने, सुखसयलमा बस्ने मात्रै हुन्छ । त्यो भनेको गतिलो चिज चाहिँ होइन । गतिलो चिज भनेको त आफूले गरेको काम लामो समयसम्म बाँचिरहनुपर्छ । आफूले गरेको कामले समाजलाई योगदान देओस् न !

यहाँ मान्छेले दश तले घर बनाओस्, कसैले पनि भन्दैन कि उसको दशतले घर छ भनेर । तर एउटा गीत सुन्यो वा कविता पढ्यो भने भन्छ, ‘क्या अचम्मको मान्छे रैछ, कस्तो सृजनशील रैछ । मैले पनि लेख्न पाएको भए हुन्थ्यो ।’

तर, ठूलो घर छ भन्दैमा कराउँदै हिँड्नु भएन । धनी छु भनेर सुनाउँदै हिँड्न मिलेन । तर गर्वका साथ म कविता लेख्छु भन्न त पाइयो नि ! कवि, लेखकलाई ‘ल हजुर तपाईं हाम्रो कार्यक्रममा आइदिनुहोस्’ भन्छन् । तर, ‘तपाईं धनी हुनुहुन्छ, आइदिनुहोस्’ भन्ने कुरा भएन । त्यसैले त सृजनाको महत्व हुन्छ । त्यसैले मेरा सन्तान सृजनात्मक क्षेत्रमा लागेको देख्दा खुसी लाग्छ ।

जीवन भनेको चाहिँ के रहेछ ?

नजानिन्जेलसम्म केही पनि होइन, जानियो भनेदेखि जीवन भनेको अनौठो चिज हो । त्यो चिजभन्दा अर्को चिज केही पनि पाइँदैन । म त एक दिन मरिहाल्छु । सबै मान्छे मरेरै जाने हुन् । तर, मर्नुअघि केही न केही सृजनात्मक कामहरु गरेर मर्नु पर्दोरहेछ । त्यो नै जीवन रहेछ ।

कविता के हो तपाईंका लागि ?

कविता नभइदिएको भएदेखि जसराज नै जसराज बन्दैन थियो क्या ! कविता नलेख्ने भएको भए जसराजलाई कसैले पनि चिन्दैन थियो, कसैले नि बुझ्दैन थियो । जसराज किरातीलाई बचाएको नै कविताले हो ।

पछाडि फर्केर हेर्दा आफूले हिँडेर आएको आठ दशक लामो समय कस्तो लाग्छ ?

मैले गल्ती गरेँ । मैले जे काम गर्नुपर्ने थियो, त्यो काम नगरिकन जथाभावी हिँडेर, लोभिएर मैले जीवन बिगारेको हुँ । मैले धेरै गल्ती गरेँ छु । मैले लगातार लेख्दै जानुपर्ने थियो । नेता हुन छोड्नुपर्ने थियो ।

 

Comments

2 responses to “जसराज किराती: जसलाई कवि कहलाउन काठमाडौं धाइरहनु परेन”

  1. Raju Bikram Chamling Avatar
    Raju Bikram Chamling

    ज्याँदै मार्मिक तरिकाले आदरणिय व्यक्ततित्वज्यूको संक्षिप्त जीवनी सरल भाषामा उतार्नु भएकोमा युवा पत्रकार भाई नविन काजी राईलाई हार्दिक नमन् ।
    – यो स्थान दिने नेपाल प्रेसलाई पनि हार्दिक नमन् । उहाँको जीवनीबाट पछिल्लो पिंढीका धेरै युवाहरुलाई उर्जा मिल्नेछ । साथै जसराज किराति भनेर स्थापित नाम धेरैले सुनेका तर वास्तविक संघर्षको कथा नसुनेका सबैमा यो तथ्य सहितको जानकारी पाउँदा सबैलाई खुशी लाग्दछ ।
    एक हरफ ज्याँदै उर्जामय छ ।
    @ जीवन भनेको चाहिँ के रहेछ ?
    – “नजानिन्जेलसम्म केही पनि होइन, जानियो भनेदेखि जीवन भनेको अनौठो चिज हो । त्यो चिजभन्दा अर्को चिज केही पनि पाइँदैन । म त एक दिन मरिहाल्छु । सबै मान्छे मरेरै जाने हुन् । तर, मर्नुअघि केही न केही सृजनात्मक कामहरु गरेर मर्नु पर्दोरहेछ । त्यो नै जीवन रहेछ ।”

  2. मनोज Avatar
    मनोज

    जसराज किराती दाइ मेरो छिमेकी। मलाई पनि कविताको छिर्काले अलिअलि त भेट्यो तर कविताको मूल फुट्ने बेलामा उही राजनीतिको बाढीले हुत्यायो। धनको आँधिबेहरीले उडायो।
    दाइको कवितामा कवित्व छ, हाम्रोमा नारा!
    अर्को कुरा दाइ, परशु प्रधान स्वर्गीय हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *