काठमाडौं । आदिवासी जनजाति उत्थान प्रतिष्ठानद्वारा नौ वटा पुस्तक लोकार्पण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पुस्तकको विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले समावेशी प्रणाली अझैँ राम्रोसँग लागू नहुनुमा निर्वाचन प्रणाली दोषी नभई नेताको नियत दोषी भएकाले जनमत निर्माणमा आदिवासीले साथ दिनुपर्ने सुझाव दिए ।
उनले भने, ‘आदिवासी जनजातिको आन्दोलन सामाजिक र सांस्कृतिक क्षेत्रमा मात्रै केन्द्रित भएको छ । अब राजनीतिक र आर्थिक गतिविधिमा पनि जोड दिनुपर्छ । सङ्घीयता आएपछि सीमान्तकृत समुदायले के कस्ता उपलब्धि हासिल गरे भन्ने विषयमा तथ्याङ्कगत अध्ययन गर्नुपर्छ ।’
सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजाति प्रतिष्ठानले आदिवासीका विषयमा अध्ययन गर्ने मात्रै नभएर आदिवासीको हक हितलाई सुरक्षित राख्ने अभिन्न अङ्ग रहेको बताए । उनले पछिल्लो समय राज्यका नेतृत्वकर्ताबाटै पटक पटक प्रतिष्ठान आवश्यक छैन भन्दै आलोचना गर्नु आदिवासीको समस्याप्रति संवेदनशील नभएको प्रष्ट हुने उल्लेख गरे ।
रेशम गुरुङले भने, ‘आदिवासी जनजाति प्रतिष्ठानलाई अझै बलियो र प्रभावकारी बनाउनुपर्नेमा उल्टै हटाउनुपर्ने धारणा राख्नु आदिवासी जनजातिप्रतिको असंवेदनशील बुझाइ हो ।’
प्रतिष्ठान र आदिवासी जनजाति आयोगको कार्य क्षेत्राधिकार फरक रहेकाले प्रतिष्ठानसँग सिङ्गो आदिवासीको आशा र विश्वास जोडिएको उपाध्यक्ष गुरुङको भनाइ छ । प्रतिष्ठान स्वायत्त निकाय भएकाले आदिवासीको विषयमा स्वतन्त्र पूर्वक पैरवीको काम गर्न सकेको बताए । प्रतिष्ठान, आदिवासी आयोग र थारु आयोगको बजेट जोडेर वार्षिक १७ करोड मात्र राज्यको खर्च भइरहेको तर आदिवासीहरू मुलुकमा ३५ प्रतिशत रहेको समेत उनले स्मरण गराए ।
प्रा. डा. कृष्ण हाछेथुले प्रतिष्ठान आदिवासीको ज्ञान उत्पादन गर्ने संस्था भएकाले यसको आवश्यकता रहेको बताए । आदिवासीको ज्ञानसँगै आदिवासीको इतिहासको खोजी र लेखनको काम समेत प्रतिष्ठानले गर्नुपर्ने हाछेथुको सुझाव छ । डा. जनक राईले पनि प्रतिष्ठानले प्रकाशन गरेको आदिवासी ज्ञान कोष राम्रो दस्ताबेज भएको बताउँदै त्यसले आदिवासीको ज्ञान वृद्धि गर्न र अध्ययनकर्ताको सन्दर्भ सामग्रीमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा ‘नेपालका आदिवासी जनजाति ज्ञान कोष भाग १’, जाति तथा जाति समूह सम्बन्धी र भाषिक समुदाय सम्बन्धी ‘नेपाल एट लस’ विमोचन भयो । ‘नेपाल एट लस’ योगेन्द्र गुरुङ, शेरबहादुर गुरुङ, विद्या श्रेष्ठ र तारामणि राईले तयार पारेका हुन् ।
समारोहमा गुरुङहरूको मृत्यु तथा अर्घु परम्परा सम्बन्धी ‘सी पै छ्योए’, थारु भाषाको पुस्तैनी, मगर स्थान नाम, मुगा भाषा र फाङ्दुवाली भाषाको वर्ण पहिचान सम्बन्धी पुस्तक र प्रतिष्ठानको मातृभाषासम्बन्धी प्रकाशन थुङको पनि विमोचन भएको थियो । कार्यक्रममा हाछेथुं, योगेन्द्र गुरुङ र जनक राईसमेतले प्रकाशित पुस्तकको समीक्षा गरेका थिए ।

Leave a Reply