रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित यशोदा फुड्स प्रा.लिमा कार्यरत सयौँ मजदुर गत बिहीबारदेखि आन्दोलनमा छन् । सेवा सुविधा नपाएको, पारिश्रमिक समयमा नपाएको, कर्मचारीबीच विभेद भएको र महिलामैत्री सुविधा नदिएको गुनासो लिएर उनीहरूले उद्योगको मूल गेटमै धर्ना तथा नाराबाजी थालेका हुन् ।
मजदुरहरूले माग सम्बोधन नभएसम्म काममा फर्किने अवस्था नरहेको बताएका छन् । वर्षौँदेखि सोही कम्पनीमा कार्यरत रहेका कमलेश गुप्ताले कामअनुसारको पारिश्रमिक नदिएर श्रम शोषण गरेको बताए ।
दैनिक १२ घण्टा काम गरे पनि ७ सय ५० को दरले दिने त्यो पनि समयमा पारिश्रमिक नपाउँदा आफूहरू समस्या पर्ने गरेको उनले बताए । यस्तै अर्जुन थारुको पीडा पनि उस्तै छ । “आफ्नो मागहरू पटक–पटक सम्बन्धितलाई राख्दा पनि सुनवाइ भएको छैन” उनले भने ।
त्यसै गरी शर्मिला रावतले रात्रिकालीन समयमा काम गरे पनि सरकारले तोके बमोजिमको पारिश्रमिक नपाएको गुनासो गरिन् । तीजमा समेत बिदा नपाउँदा खल्लो हुने गरेको उनको भनाइ छ । कर्मचारीलाई अभद्र व्यवहार गरेको रावत बताउँछिन् । सामान्य चोटपटक लाग्दासमेत औषधी उपचारका लागि उद्योगले कुनै कदम नचालेको कामदारहरूको गुनासो छ ।
प्रालिमा डेढ वर्षदेखि कार्यरत पूजा चौधरीले कामका लागि कर्मचारी कम्पनीमा काम गर्न आए पनि समयमा नआएको भन्दै फर्काउने गरेको बताइन् । यसरी कम्पनीमा पुगेका कामदारलाई फर्काउँदा घरबाट कम्पनी, कम्पनीबाट घर आवतजावतमा समस्या हुने गरेको उनले बताइन् ।
सोही कम्पनीमा अन्य ठाउँका कामदारलाई ९ सयका दरले दिने गरे पनि यहाँका कामदारलाई विभेद गरेको उनीहरूको भनाइ रहेको छ । शुक्रवार बिहान उद्योग परिसरमा कर्मचारीहरू नाराबाजीसहित आन्दोलन गरेका थिए । शुक्रवार आन्दोलित कामदारहरू स्थानीय शिवराज नगरपालिकामा समेत पुगेका थिए ।
नगरप्रमुख अजय थापासँग आफूहरू अन्यायमा परेको गुनासो राखेपछि थापाले कामदार व्यवस्थापनको जिम्मा पाएका प्रतिनिधि र उद्योगलाई सम्पर्क गरी तुरुन्त सम्बोधन गर्न भनिएको बताए । कुनै पनि मजदुर अन्यायमा पर्न नहुने भनाई राख्दै मजदुरका मागहरू सम्बोधन गर्न सबै उद्योगलाई सूचना जारी गरेको जिकिर उनले गरे । यता नगरपालिकाले शुक्रवार नै न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धी सूचना समेत जारी गरेको छ ।
यशोदा फूड्स प्रालिका प्रतिनिधि गोपाल भट्टले कामदारहरूको ठेकेदार पक्षलाई ठेक्का दिएको भन्दै पन्छिन खोजेका छन् । कर्मचारी आन्दोलन गरे सम्झौता ठेकदार पक्षसँग सम्झौता भङ्ग गर्ने धम्की दिएका छन् । कामदारसँग उद्योगको कुनै सम्बन्ध नरहेकोले व्यवस्थापन गर्ने काम ठेकदार पक्ष रहेको उनले जिकिर गरे ।
फूड्स प्रालि कामदार व्यवस्थापन गर्ने जिम्मा पाएको अंगिता मेनपावर पक्षका अर्जुन चौधरीले आन्दोलनरत कामदारसँग छलफल गरी निकास निकाल्ने बताए । आन्दोलनबारे जानकारी नभएको बताउँदै जानकारी पाउनसाथ माग सम्बोधन गरी काममा फिर्ता गराउने तयारी भएको उनले बताए ।


Leave a Reply