घरमै खुलेको ‘थ्री एल’ ग्यालरी, सुमित्राको समर्पण पोखिने थलो

रूपन्देही । काठमाडौंमा ललितकलामा स्नातकोत्तर पास गरिसकेपछि सुमित्रा राना सुत्पराईले आफ्नो जीवनलाई चित्रकला र सिर्जनात्मक कलासँग बाँध्ने निर्णय गरिन् ।

काठमाडौंमा यसको भविष्य बढी थियो तर उनले त्यहाँको व्यस्त जीवन छाडेर रुपन्देहीलाई कर्मथलो बनाएकी हुन् । विशेषतः २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं छाडेर बुटवल आएकी सुमित्राले सपना देखेकी थिइन् आफ्नै नाममा आफ्नै घरमा एउटा कला ग्यालरी खोल्ने ।

त्यो सपना २०८२ साल बैसाख १७ गते पूरा गरेकी हुन् । उनले सैनामैना नगरपालिका–१, वनकट्टा, नमूना पथस्थित आफ्नै ढाईतले घरमा ‘सुमित्रा थ्री एल ग्यालरी’ सञ्चालन गरेर आफ्नो सोखलाई व्यावसायिक रूप दिएकी हुन् ।

उमेरले चार दशक पुगेकी सुमित्रा अहिले कालिका कलेज, दीप बोर्डिङ स्कुलमा आफ्नै विषयको अध्यापनसँगै लुम्बिनी फाइन आर्ट्सको सञ्चालनसँगै काठमाडौं बाहिर पोखरापछि पहिलो ग्यालरी हाउस सञ्चालनमा ल्याएर यो क्षेत्रको संरक्षणमा लागेकी हुन् ।

श्रीमान् लीलबहादुर सुत्पराई रोजगारीको लागि लामो समयदेखि बहराइनमा छन् यता सुमित्राले अध्यापनसँगै आफ्नो सीपलाई व्यावसायिक रूपमा अघि बढाएकी छन् । ‘धेरै कमाउन त अरू क्षेत्रमा लागेको भए पनि हुने थियो होला तर आफ्नो जीवनको उद्देश्य पूरा गर्नका लागि यसमा लागेकी हुँ, विद्यालय तहबाटै म यसमा आबद्ध थिएँ, यसमै प्रतिबद्ध थिएँ, यसैलाई व्यवस्थित र व्यावसायिक बनाउन लागेकी हुँ’ ग्यालरी उद्घाटनको दिन सुमित्रा जीवनकै सर्वाधिक खुसी भएको बताउँछिन् ।

यसको लागि उनका सहकर्मी कलाकारहरूले घरको आँगनमै चित्रकला कार्यशाला सञ्चालन गरेर साथ दिएका छन् । यहाँ  आउने साहित्यकार र कविहरूले कविता रचना सुनाउँछन्, आफन्त, साथी र छिमेकीहरूले शुभकामना दिन्छन् । यो देखेर सुमित्रा मात्र होइन, उनका सबै शुभचिन्तकलाई खुसी बनाएको छ । सुमित्राको कर्म र उद्यममा हर्षित बनेका छन् उनीहरू ।

सुमित्राले आफ्नै र श्रीमान्को कमाइले ठड्याएको ढाईतले घरको पहिलो तलामा आफ्ना सिर्जनालाई सजाएकी छन् । त्यसै गरी, अन्य कलाकारका कृतिलाई पनि स्थान दिएकी छन् । उनका योजनामा पूरै घरलाई कलाले सजाउनु छ । यही घरमा सुरु भएको ग्यालरी ‘सुमित्रा थ्री एल ग्यालरी’ नामले चिनिन्छ । ’मेरो चाहना यो ग्यालरीमा यो क्षेत्रका सबै कलाकारको सामग्रीलाई सजाउने हो, बिस्तारै सबैतिरबाट साथ पाएको छु, १५ वर्षको छोरा एलिसले पनि यो विषयलाई चासो दिएर अध्ययन गरेकाले निकै खुसी छु’ उनले भनिन् ।

‘बच्चादेखि सिनियर आर्टटिस्हरुको कला एक ठाउँमा हेर्न पाइने ठाउँ कतै थिएन, राजधानीमा यसको व्यावसायिक सुरुवात भए पनि पोखराबाहेक अन्त रहेको मलाई जानकारी छैन, सरकारले पनि कतै बनाएको छैन, नयाँ पुस्तालाई यसको जानकारी दिने मेरो मुख्य उद्देश्य हो’ उनले भनिन् ‘मेरो सपना नै मैले सिकेको सीपलाई कसरी समाजलाई देखाउन सकूँ र यसलाई कसरी व्यावसायिक बनाउने भन्ने हो, यो क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढेकाले पनि यो गर्न जरुरी थियो ।’

ललितकलामा पेन्टिङ, मूर्ति सँगै व्यवहारिक शिक्षा पनि पढाइने भएकाले यो विषय पढेकाहरू सबैजसो काममा पहिले नै पूर्ण भएर व्यवस्थित भएर बसेको सुमित्रा बताउँछिन् ।

सुमित्राका अनुसार उनले नामकरण गरेको ‘थ्री एल’ नाममा पनि गहिरो अर्थ लुकेको छ । पहिलो एल ‘लुम्पेक’ हो– सुमित्राको जन्मथलो, गुल्मीको सत्यवती गाउँपालिका । दोस्रो एल ‘लम्करा’– उनको विवाहपश्चात्को कर्मथलो, गुल्मीकै काली गण्डकी गाउँपालिका । तेस्रो एल ‘लुम्बिनी’– जहाँ अहिले उनी बस्छिन्, सिर्जना गर्छिन्, गौतम बुद्ध जन्मिएको पवित्र भूमि । यी तीनै ‘एल’ले सुमित्राको जीवनयात्रा र सिर्जनात्मक कर्मलाई प्रतिनिधित्व गर्छन् ।

कलाकारको उद्यमशीलतामा यहाँ आउने हरेकको ध्यानाकर्षण गर्दछ । यहाँ आएका पाहुना, साथी र आफन्तहरूले ग्यालरीप्रति प्रोत्साहन स्वरूप चित्रकला खरिद गरेर उनलाई उत्साहित बनाउँछन् । यसले सुमित्रालाई उत्साह थपिदिएको छ । उनी कालिका कलेजसँगै बुटवलको दीप आवासीय विद्यालयमा अध्यापन गरेर पनि आफ्नो सीप बाँड्दै आएकी छन् । तर उनको मन भने ग्यालरीमै चौबीसै घण्टा घोप्टिन, क्यान भाससँग रमाउन चाहन्छिन् । उनको लक्ष्य छ– ग्यालरीलाई संसारकै सुन्दर कला–घर बनाउने ।

छोरा एलिसलाई पनि उनले ललितकलाको ज्ञान दिएकी छन् । आमा–छोरा मिलेर ग्यालरीको प्रचारप्रसारमा जुटिरहेका छन् । सामाजिक सञ्जाल, युट्युव च्यानलमार्फत ग्यालरीलाई चिनाउने प्रयास भइरहेको छ ।

सुमित्राको भनाइमा काठमाडौं बाहिर पोखरापछि सम्भवतः यो पहिलो निजी ग्यालरी हो । उनले नयाँ सिकाइयादेखि वरिष्ठ कलाकारसम्मका मौलिक र सिर्जनात्मक कृतिलाई स्थान दिने सोच बनाएकी छन् । मौलिक नेपाली कलालाई संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गर्दै अर्थोपार्जनसँग जोड्ने संकल्प गरेकी छन् । ग्यालरीलाई कलाकारहरूको साझा सिर्जनात्मक कर्मथलो बनाउने योजनामा उनी दृढ छन् ।

तर यो सजिलो निर्णय थिएन । उनले भनिन्,–‘नेपालमा सृजनशील कलाकार बाँच्न सक्दैन भन्ने अवस्था छ । तर सङ्कटको बेला समाधान खोज्नुपर्छ । अहिले ग्यालरी नखोले कहिले खोल्ने ? मैले नखोले को खोल्छ ? भन्ने लागेर हिम्मत गरेर सुरु गरेकी हुँ ।’

‘अहिले पनि केही पालिकाले यसको सुरुवात गरेका छन् तर सबैलाई यसको जानकारी दिन सकिएको छैन, तर बुटवलको कालिकामा यस वर्षबाट यसको औपचारिक विषय समावेश गर्न सकियो, अब यसको भविष्य बढ्दै जानेछ’ सुमित्राले भनिन्, ‘विद्यालय तहमा यसमा रमाउनेहरूले बाहिर पढ्न पाएका थिएनन् काठमाडाै‌ं पढ्न सबैलाई सम्भव थिएन ।’

करिब १० वर्षदेखि सुमित्रा बुटवल दीप नगरमा ‘लुम्बिनी फाइन आर्ट्स’ सञ्चालन गर्दै नयाँ कलाकार उत्पादनमा लागेकी छन् । उनले कला सिकाउने मात्र होइन, कलाकारलाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिँदै आएकी छन् । कलामा मरिमेट्ने उनको स्वभावले उनले जीवन रहुन्जेल कलामा नै जीवन व्यतीत गर्ने लक्ष्य बनाएकी छन् ।

सुमित्राको जीवनमा कला मात्र रुचि होइन, त्यो उनको कर्म हो, अस्तित्व हो । यही कारण उनले व्यक्तिगत सपना मात्र होइन, सामूहिक साझा सिर्जनात्मक स्थल बनाउने साहस देखाइन् । उनको उद्यमले नेपाली कला र कलाकारलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

सुमित्राको ‘थ्री एल ग्यालरी’ एक साधारण ग्यालरी मात्र होइन, एक महिलाको सपना, सङ्घर्ष र उद्यमशीलताको प्रतीक रहेको यहाँ पुगेका कलाकार दलबहादुर गुरुङ बताउँछन् । आफ्नो जीवनका तीन ‘एल’लाई ग्यालरीमार्फत अमर बनाएकी सुमित्रा अब कलाको यात्रामा अझ दृढतापूर्वक अघि बढेको र यो सबै कलाको उच्च सम्मान भएको उनको भनाइ छ ।

‘कलाले जीवनलाई सुन्दर बनाउँछ । यो ग्यालरी मेरो मात्र होइन, सबै कलाकारहरूको साझा कर्मथलो हो । यसबाट सबै सृजनशील प्रेमीलाई उत्साह थपेको छ’ उनले भने ।

उनको ग्यालरी उद्घाटन गरेका लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले नीजि स्तरबाट आफ्नै घरमा आफ्नै ज्ञान, सीप र कला प्रदर्शन गर्नका लागि उदाहरण भएको बताए । कलाले मानिसलाई शान्त, धैर्यवान् र जीवन बुझ्न सक्ने बनाउने बताउँदै उनले सुमित्राको उद्यमशीलतामा प्रशंसा गर्दै कलाप्रति समर्पणले सफलतामा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

ललितकलामा धेरै जनशक्ति छैन तर यसको माग सबैतिर रहेको छ । यस कारण पनि नयाँ पुस्तामा यसको आकर्षण बढेको र भविष्य रहेको सुमित्रा बताउँछिन् । अहिले लुम्बिनी प्रदेशमा करिब डेढ सय यस्ता कलाकार रहेको तथ्य भए पनि अनौपचारिक रूपमा लागेकाहरू धेरै रहेको हुनसक्ने उनको भनाइ छ ।

   

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *