युट्यूवरले ‘त्यति नचलेका कलाकार’ भनेपछि ‘अभिमन्यू’ को निर्माण कम्पनीले निकाल्यो विज्ञप्ति

काठमाडौं । निर्माणाधीन चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को ट्रेलर हिजो एक कार्यक्रमका बीच सार्वजनिक गरियो । कार्यक्रममा चलचित्रका निर्माता, कलाकार लगायत जम्बो टोलीको उपस्थिति थियो ।

भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर रिलिजमा एक महिला युट्यूवरले सोधिन्, ‘यो चलचित्रमा अभिनयअनुसार जति चल्नुपर्ने हो, त्यति नचलेका कलाकारहरु हुनुहुन्छ । अभिमन्युपछि तपाईंहरुको कामलाई दर्शकले कसरी लेलान् ?’

यसपछि युट्यूवरले नै मुख्य अभिनेता कामेश्वर चौरासियालाई जवाफका लागि माइक दिन अनुरोध गरिन् । कामेश्वरले भने, ‘यसको जवाफ मसँग छैन जस्तो लाग्छ । दर्शकले नै भन्नुहोला नि ! कि त म आफैं टिकट काउन्टरमा जानुपर्यो, दर्शकलाई पालैपालो सोध्नुपर्यो ।’

यसपछि अर्का अभिनेता शिशिर बाङ्देल जवाफ दिन अगाडि सरे । उनले सुरुवातमै भने, ‘नचलेको कलाकार भनेर कसैले भनेजस्तो त लाग्दैन । मलाई जनताले माया दिनुभएको छ । चल्नु, नचल्नु अन्तिममा गएर दर्शककै हातमा हो ।’

अर्का युट्यूवर सोध्छन्, ‘कत्तिको कन्फिडेन्ट हुनुहुन्छ म चलेको छु भनेर ?’

शिशिरले जवाफ दिन्छन्, ‘दुई सय प्रतिशत छु ।’ यसपछि परर ताली बज्छ ।

तर, ‘नचलेको कलाकार’ भन्ने शब्दको लफडा ट्रेलर रिलिज कार्यक्रममा मात्रै सिमित रहेन । कार्यक्रमपछि कलाकारहरुले निर्माता विनोद पौडेलसँग गुनासो गरे । कलाकारको गुनासोपछि निर्माण पक्षले एक विज्ञप्ती नै जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नचलेका कलाकार शब्द प्रयोग भएको घटनाप्रति सेभेन सिज सिनेमाको गम्भीर ध्यानाकर्षण भएको छ । र यसप्रति हामी घोर भत्र्सना गर्दछौं । र, यस असावधान शब्द प्रयोगले कलाकारको कलाकारको सम्मानमा आँच पुगेकोमा गहिरो दुःख प्रकट गर्दै सम्पूर्ण कलाकारसँग माफी माग्दछौं ।’

यस विषयमा थप बुझ्न खोज्दा निर्माता पौडेलले भने, ‘असंवेदनशील शब्दले उहाँहरुलाई बिझायो । हामीसँग आएर गुनासो नै गर्नुभयो । मधेशको कस्तो ठाउँबाट संघर्ष गरेर उहाँहरु यो ठाउँमा आइपुग्नुभएको छ, त्यस्तो शब्दले उहाँहरुको आत्मसम्मानमा चोट पुग्नु स्वभाविक हो नि !’

आफूकहाँ आएर कलाकारहरुले यस्तो असंवेदनशील प्रश्नको सामना गर्नुभन्दा कुनै पनि कार्यक्रम नगरी सीधै चलचित्र प्रदर्शन गर्न सुझाव दिएको पौडेलले बताए । पौडेल ऐतिहासिक ग्रस कलेक्सन गरेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’का एक निर्माता हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *