काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई हिजो पक्राउ गरेर प्रहरीले ४ दिन थुनामा राख्न अदालतसँग अनुमति लियो । तर, पाँडे आजै मामूली धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश धु्रवराज उप्रेतिले २० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको हो । पाँडेलाई हिजो पक्राउ गरेर म्याद थपिएको थियो भने आज उनीविरुद्ध मुद्दा दायर भएको थियो । तर, अदालतले उनलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आवश्यकता देखेन ।
पाँडेलाई हिरासतमा राखिँदा नै प्रहरीको ‘नियत’ माथि प्रश्न उठेको थियो । उस्तै आरोपमा हिजो एमाले नेता ऐन महरलाई केहीबेरमै ससम्मान छोडिएको तर रास्वपाका पूर्व केन्द्रीय सदस्यलाई म्याद थपेर राजनीतिक पूर्वाग्रह देखाइएको भन्दै सामाजिक सञ्जालमा सरकारको निकै आलोचना भयो । अदालतले यसलाई करेक्सन गर्दै पाँडेलाई दुई दिनमै रिहाइ गरेको छ ।
पाँडेमाथि जाहेरीकर्ता महिलाले लगाएको आरोप हो– आफूलाई ह्वाट्सएपमा गालीगलौजयूक्त म्यासेज गरेको । जाहेरी दिने महिला पाँडेकी पत्नीको साथी भएको दाबी गरिएको छ । पाँडेले आफ्नो बयानमा श्रीमतीमार्फत उनलाई चिनेको बताएका छन् ।
दुवै पक्षको बयानलाई प्रहरीले अभियोगपत्रमा समेटेको छ । महिलाले लगाएको आरोपलाई पाँडेले स्वीकार गरेको दाबी गरिएको छ ।
महिलाको भनाइअनुसार पाँडेले अंग्रेजीमा लेखेको म्यासेजमा उनलाई चरित्रहीन (कगित० करार गरेका छन् ।
अभियोगपत्रमा उल्लेख गरिएको म्यासेजको अंश यस्तो छ (केही अपशब्दहरु हटाइएको):
You I regret … with you … your son should be disgusted with you. You always reaching out to me, being flirty with me, inviting me over almost always when …. was out of town. Trying to seduce me during swimming while being divorced and having boyfriends. l Aways contacting me for help. Disgusting low class … with your fake accent. DO NOT contact me ever again.
नेपाली भावार्थ (केही अपशब्दहरु हटाइएको)
तिमीसित नजिक भएकोमा मलाई पछुतो छ । तिम्रो छोरालाई पनि तिमीप्रति लाज भएको हुनुपर्छ । तिमीले सँधै मलाई पछ्यायाै । सँधै मेरी श्रीमती शहरबाहिर हुँदा निम्त्याएर मलाई आकर्षित गर्न खोज्यौ । सँधै मलाई सहयताका लागि सम्पर्क गरिरह्यौ । तिम्रो नक्कली लवज बन्द गर । अब आइन्दा मलाई कहिल्यै सम्पर्क नगर ।
प्रहरीको अभियोजनपत्रमा उल्लेखित बयान पूर्ण सत्य हो भने पाँडेले उक्त म्यासेज आफूले पठाएको स्वीकार गरेको देखिन्छ । म्यासेजमा केही अश्लिल शब्दहरु छन् । तर, उनले महिलाकै चरित्रमा प्रश्न उठाएका छन् । महिलाले आफूप्रति एकोहोरो आशक्तिको व्यवहार देखाएको उनको दावी छ । आफ्नो श्रीमती काठमाडौमा नभएको बेलामा उनले भेट्न बोलाउने गरेको पाँडेले बयानमा बताएका छन् ।
पाँडेको बयानको सार यस्तो छ:
‘२०६९ सालतिर निजसँग शुरूमा मेरो श्रीमतीमार्फत चिनजान भई कहिलेकाहीँ पारिवारिक भेटघाट समेत हुने गर्दथ्यो । निजले एकतर्फी मप्रति आशक्ति राख्न खोजेको जस्तो मैले महसुस गरी २०७५र२०७६ सालदेखि निज नेपाल आई कल गर्दा समेत वास्ता नगरी भेटघाट समेत नगरी बस्दै आइरहेको थिएँ । यसै सालको असार २५ गते राती मेरो दाँतको अप्रेसन गरी दुखाई कम गर्ने पेनकिलर सेवन गरी घरमा आरम गर्दै गरेको अबस्थामा निजले ह्वाट्सएपमा अडियो कल गरी मेरो श्रीमती घरमा भए नभएको सम्बन्धमा सोधिन् । आफू बेलायतबाट नेपाल आउन लागेको र भेट गरौ भनि अनुरोधसमेत गरिन् । तर कुरा गर्दागर्दै फोन काटियो । निजले खाली मेरो श्रीमती नेपालमा नरहेको कुरा बुझि भेट्न बोलाउने गर्थिन् । मलाई उक्त व्यवहार मन नपरी ह्वाट्सएपमा Has ur husband left u ? Is that why ? भन्ने लगायतको म्यासेजहरुसमेत गरेको हुँ ।
जाहेरीकर्ता महिलाले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड)को कर्मचारी तथा शिक्षा विज्ञसमेत रहेका पाँडेसँग आफ्नो सामान्य चिनापर्ची मात्र रहेको बताएकी छन् । छोराले साइन्स पढ्ने इच्छा गरेकाले पाँडेसँग सुझावका लागि सम्पर्क गरेको उनको भनाइ छ । तर, पाँडेले ह्वाट्सएपमा आफूलाई अश्लिल ‘तिमीलाई श्रीमानले छोडिसक्यो, त्यही भएर हो ?’ लगायत गालीगलौजयुक्त म्यासेज (माथि उल्लेखित) पठाएको उनले बताएकी छन् ।
महिलाले पाँडेलाई विद्युतीय कारोवार ऐनमा कारवाही गरी मनासिब क्षतिपूर्तिसमेत भराउन उनको माग छ ।

Leave a Reply