काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भदौ २९ देखि अनिवार्य अवकाशमा जाँदैछन् । प्रतिस्पर्धामा दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक छन् । उनीहरू प्रहरीको एआईजीसरह मानिन्छन् ।
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमातहतको निकाय हो । फितलो गुप्तचरी सेवालाई मजबुत बनाउन सरकारले विशेष सेवा विधेयक अगाडि सारेको छ । त्यसको संवेदनशीलतालाई दृष्टिगत गर्दै आगामी अनुसन्धान विभाग प्रमुख चयन गर्नुपर्ने कारण हतारमा निर्णय नलिइएको प्रधानमन्त्री कार्यालयस्रोतले जनाएको छ ।
देशका विभिन्न भागमा निर्वाध रूपमा विदेशी जासुस एजेन्सी छिरेको र स्वदेशका गुप्तचरी सूचनाको चुहावटलाई नियन्त्रण गर्ने कुरासँग अनुसन्धान विभाग प्रमुखको नियुक्ति सम्बन्धित रहेको स्रोतको भनाइ छ । २०८४ भित्र सम्पन्न हुने विभिन्न तहका निर्वाचन सुरक्षासँग पनि यो नियुक्तिले सरोकार राख्ने स्रोत बताउँछ ।
अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरु ओम जोशी र टेकेन्द्र कार्की विभाग प्रमुखका प्रतिस्पर्धी हुन् । त्यसमध्ये कार्कीको स्थित बलियो रहेको स्रोतले जनाएको छ । विभाग प्रमुखको नियुक्ति सरकारले अगाडि सारेको विशेष सेवा विधेयकसँग प्रत्यक्ष सरोकार राख्छ ।
राज्यको नियन्त्रणमा रहनुपर्ने गुप्तचरी तथा चुस्त सूचना प्रणालीलाई व्यवस्थापन गर्न सरकारले आवश्यकताअनुसार फोन ट्यापिङलगायतका व्यवस्था प्रस्तावित गरेको छ । त्यसको व्यवस्थापन र परिचालन अनुसन्धान विभागका आगामी प्रमुखले गर्नुपर्ने छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फर्किएपछि निर्णय गर्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ ।
को कस्ता हुन् ?
जोशी र कार्की दुवै २०५२ सालमा तत्कालीन नेपाल गुप्तचर विभागको इन्स्पेक्टरमा भर्ना भएका हुन् । जोशी भर्ना मितिका हिसाबले कार्कीभन्दा ८ दिनले अगाडि छन् ।
तर, हालको अनुसन्धान विभागको ऐन, नियमावली र कार्यविधिले नयाँ प्रमुख चयनका निम्ति ज्येष्ठतालाई आधार मानेको छैन । कार्यसम्पादन, कार्यक्षमता, प्राज्ञिक स्तरलाई आधार मानेको छ । त्यस आधारमा कार्की अगाडि छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर उपाधिप्राप्त छन् ।
कन्चनपुर निवासी जोशी र गृहमन्त्री रमेश लेखक नाताले मामा, भान्जा हुन् । कार्कीचाहिँ जुम्लाका स्थायी बासिन्दा हुन् ।

Leave a Reply