विजय बरालको फ्लप फिल्म ‘यो मन त…’ ले मनायो ५१ दिन ! केक काटेर गरियो धुमधाम

काठमाडौं । कुनै हिट चलचित्रले हलमा प्रदर्शनको ५१ दिन मनाउनु सामान्य हो । तर ५१ दिन मनाउँदैमा त्यो फिल्म हिट भन्ने चाहिँ नहुने रहेछ ।
हालैमात्रै एउटा नेपाली चलचित्रले ५१ दिन पार गरेको भन्दै उत्सव मनायो । चलचत्रिको नाम हो ‘यो मन त मेरो नेपाली हो’ । अहिलेका जल्दाबल्दा अभिनेता विजय बरालले अभिनय गरेको यो चलचित्र करिब दुई महिना अगाडि प्रदर्शनमा आएको थियो, तर पानी पनि भन्न पाएन। चलचित्र फ्लप भएको बराल स्वयम्ले स्वीकार्ने गरेका छन् ।

तर, अहिले अचानक फिल्मले ५१ दिन मनाएको खबर सुनेर फिल्मकर्मीहरु नै ट्वाँ परेका छन् । असार २७ गते बाट प्रदर्शनमा आएको यो चलचित्रको निर्माण टिमले बालाजुस्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो ।

खासमा यो चलचित्र फ्लप मात्र हैन, कहिले रिलिज भयो र हलबाट कहिले उत्रियो भन्ने समेत धेरै दर्शकलाई थाहा छैन । न यो चलचित्रको प्रचारप्रसार बलियो गरिएको थियो, न त प्रदर्शनपछि चलचित्र हेर्न हलमा दर्शक नै थिए । तर पनि अष्टनारायण हलमा केक काटेर सेलिब्रेशन गरियो ।

सेलिब्रेसन कार्यक्रममा केक काटेपछि निर्माता तथा कलाकार रोशन श्रेष्ठले आफुले अरु फिल्मको जस्तो टिकट काटेर दर्शक नल्याएको बताए ।

उनले भने, ‘जति दर्शक आउनुभयो, स्वतस्फुर्त टिकट काटेर आउनुभएको हो । हाम्रो फिल्मको चर्चा भएन होला तर पनि फिल्मले ५१ औँ दिन पार गरेको छ । हामी यसमै खुशी छौं ।’

कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौला, राजकुमार राई, रबिन्द्र खड्का लगायत केही फिल्मकर्मीहरुको सहभातिाग थियो । तर त्यत्रो सेलिब्रेसनमा चलचित्रको मुख्य अभिनेता विजय बराल नै उपस्थित थिएनन् । उनीबिनै चलचित्रको ५१ औं दिनको सेलिब्रेसन सप्पन्न भयो।

सेलिब्रेसन कार्यक्रममा केक काट्दै चलचित्रको टिम तथा

सञ्चारकर्मीहरुलाई मायाको चिनोसमेत प्रदान गरियो । तर कुरा यतिमा मात्र सिमित रहेन । सेलिब्रेसनसंगै ‘यो मन त मेरो नेपाली हो’ टिमले अर्को चलचित्र ’स्वाहः’ को पनि निर्माण घोषणा गर्यो । कार्यक्रममै एक पोस्टर सार्वजनिक गर्दै टिमले ‘स्वाहः’ को घोषणा गरेको हो जसको लागत रहेको छ, चार करोड ।

‘स्वाहः’ पनि ‘यो मन त मेरो नेपाली हो’ कै निर्देशक तथा लेखक मित्र प्रधानले निर्माण तथा निर्देशन गर्न लागेका हुन । अब यहाँ एउटै चलचित्रले लगानी उठाउन सकेको छैन, अर्को चलचित्र बन्ने पक्का भइसक्यो । खैर, निर्देशक मित्र प्रधान पुन अर्को चलचित्र बनाउन जुट्नुलाई भने साहसकै रुपमा लिनुपर्छ । आशा गरौं उनको नयाँ चलचित्र ‘स्वाहा’ मा गरिएको लगानी पनि स्वाहा नहोस् ।

‘यो मन त मेरे नेपाली हो’ मा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङको प्रमुख भूमिका छ । ‘पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालि’को प्रस्तुतिमा बनेको यो चलचित्रको निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *