पाल्पा । माथागढी गाउँपालिका ४ नंं. वडा निवासी लक्ष्मण बहादुर जिसीले रत्न माध्यमिक विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।
जिसीले आफ्नो ८१ औं जन्मोत्सवका अवसरमा आफूले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा जिसीले पाँच लाखको चेक विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा माथागढी गाउपालिका अध्यक्ष यम बहादुर चिदीले जिसी धनको मात्र नभई मनको समेत धनी रहेको बताए । उनले जन्मदिनको अवसरमा गरेको सहयोगले अन्य मनकारी व्यक्तिहरुलाई पनि राम्रो काम गर्ने प्रेरणा मिल्नुका साथै शैक्षिक क्षेत्रमा थप जिम्मेवारी बन्न सिकाउने बताए । प्रत्येक वर्षको एईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई दिने गरी स्थापना गरिएको अक्षयकोषले उच्चशिक्षा अध्ययनमा समेत मद्दत गर्ने अध्यक्ष चिदीको भनाइ थियो ।
विद्यालयका प्रद्यानाध्यापक नीर बहादुर सारूले जिसीलाई अक्षयकोष स्थापना गरिदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले स्थापना भएको अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ठुलो सहयोग हुने बताउनुभयो ।

Leave a Reply