काठमाडौं । नायक अनमोल केसी र नायिकाद्वय आँचल शर्मा र जसिता गुरुङ अभिनित चलचित्र ‘जेरी अन टप’ को टिजर वर्ल्डवाइड ट्रेन्डिङमा परेको छ । गत सोमबार सार्वजनिक भएको चलचित्रको टिजर नेपालसहित दर्जनबढि देशमा ‘युट्यूव मुभिज ट्रेन्डिङ’ को शीर्ष स्थानमा पर्न सफल भएको हो ।
नेपालमा भने ‘जेरी अन टप’ को टिजर ट्रेन्डिङ नम्बर एकमा छ । टिजरलाई हालसम्म दर्शकले १५ लाख बढी पटक हेरिसकेका छन् । त्यस्तै, चलचित्रको टिजर अष्टेलियामा ट्रेन्डिङ नम्बर ३, पोर्चुगलमा ट्रेन्डिङ नम्बर ४, रोमानिया र माल्टामा ट्रेन्डिङ नम्बर ५, हङकङमा ट्रेन्डिङ नम्बर ८, जापानमा ट्रेन्डिङ नम्बर ९, कुवेत, कतार र यु.ए.ईमा ट्रेन्डिङ नम्बर १३, मलेसिया र साउथ कोरियामा ट्रेन्डिङ नम्बर १४ र साउदी अरबमा ट्रेन्डिङ नम्बर २४ मा पर्न सफल भएको छ।
आफ्नो चलचित्रको टिजर वर्ल्डवाइड ट्रेन्डिङमा परेपछि खुसी व्यक्त गर्दै नायक अनमोल केसीले एक स्टाटससमेत लेखेका छन् ।
दर्शकलाई धन्यवाद दिँदै उनले लेखेका छन् ,’आज मेरो मन भरिएको छ । हाम्रो चलचित्र जेरी अन टपको टिजर वर्ल्डवाइड ट्रेन्डिङमा छ र यो सबै तपाईँहरूको कारणले हो । ममाथि विश्वास गरि संसारको हरेक कुनाबाट म र मेरो टिमको मेहेनत र प्रयासलाई सफल पार्दिनुभएकोमा धन्यवाद ।’
‘यो क्षण केवल मेरो मात्र होइन, यो हामी सबैको हो। माया, समर्थन र सकारात्मकताका साथ यो यात्रालाई सँगै जारी राखौं । सधैँ आभारी,’उनले जोडेका छन् ।
त्रिकोणात्मक प्रेम सम्बन्धसहित हिमाल आरोहणको कथा रहेको यो चलचित्रमा सरोज न्यौपानेको प्रस्तुति र सुयोग गुरुङको निर्देशन छ। चलचित्र आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउँदैछ। यो चलचित्रमा अनमोल, आँचल र जसीताका अलावा केदार प्रसाद घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा उप्रेती, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भुमिका छ।
‘जेरी अन टप’को कथा हेमराज बिसीले लेखेका हुन । चलचित्रमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ ।

Leave a Reply