निरन्तर असहयोग भएपछि अकोरावको महासचिव दनुवारले दिइन् राजीनामा

काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघकी महासचिव बन्दना दनुवारले अध्यक्ष अर्जुन गिरीको निरन्तर असहयोगका कारण २ वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा दिएकी छन् ।

उदयपुरबाट रेडियो पत्रकारिता गर्दै सामुदायिक रेडियो सञ्चालक बनेकी अल्पसंख्यक समुदायबाट स्थापित सञ्चारकर्मी दनुवारलाई असफल पार्न अध्यक्ष नै लागेपछि उनले राजीनामा गरेकी हुन् ।

२ महिनाअघि नै उनले दिएको राजीनामा हालै अकोराबको कार्य समितिले स्वीकृत गरेको छ । महासचिव जस्तो कार्यकारी पदको व्यक्तिलाई किन काम गर्न दिइएन भनेर छलफल गर्नुपर्नेमा अकोराबको कार्य समितिले अध्यक्षकै चाहनाअनुसार राजीनामा स्वीकृत गरेको हो ।

दनुवार गत वर्ष भदौ २८ र २९ गते सम्पन्न आठौं महाधिवेशनबाट महासचिव पदमा निर्विरोध निर्वाचित भएकी थिइन् । अध्यक्ष कांग्रेसनिकट प्रेस युनियनका गिरी बन्दा महासचिव एमालेनिकट प्रेस चौतारीबाट दनुवार बनेकी थिइन् ।

उनले राजीनामा पत्रमा अकोराबभित्र आफूले प्रत्यक्ष अप्रत्यक्ष विभेदहरु भोगेको र महासचिवको भूमिकालाई नै ओझेलमा पार्ने काम भएको बताएकी छन् ।

राजीनामा पत्रमा उनले भनेकी छन्–महिलाहरुलाई नेतृत्वमा आउन र नेतृत्वमा रहेर काम गर्न कति संघर्ष गर्नुपर्छ भन्ने कुरा हामीले रेडियोमा भन्दै आएका छौ र भोग्दै आएका छौं । ..मेरो क्षमता र दक्षतालाई प्रहार गर्ने,महासचिवको भूमिकालाई नै ओझेलमा पार्ने व्यवहारहरुको सामना गरेँ । मेरो क्षमतामाथि गरिएको अविश्वास र आत्म सम्मानबिनाको असहज वातावरणमा मेरो पदीय जिम्मेवारीले गति लिन सक्दैन ।

२०६६ सालदेखि सामुदायिक रेडियो उदयपुरको स्थापनासँगै सो संस्थामा रहेकी दनुवार यसअघि सचिव र उपाध्यक्ष भइसकेकी थिइन् । उनी विज्ञापन बोर्डको सदस्य पनि भएकी थिइन् ।

यसैबीच सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का अध्यक्ष अर्जुन गिरीले महासचिव बन्दना दनुवारले २ महिना अघि नै दिएको राजिनामा स्वीकृत भइसकेको नेपाल प्रेससँग बताए ।

राजीनामा दिनुको कारणबारे उनले भने, ‘उहाँले पारिवारिक कारणले राजिनामा दिनुपरेको बताउनुभएको थियो । साथै काम गर्न कठिनाई भयो, काम गर्ने वातावरण भएन भनेर पनि भन्नुभएको थियो । राजिनामा दिएपछि काम गर्ने वातावरण निर्माण गर्छौ, फिर्ता लिनुहोस पनि भनेका थियौ । तर, उहाँले फिर्ता लिनुभएन । त्यसपछि स्वीकृत गरेर कार्यवाहक महासचिवको जिम्मेवारी सचिव भक्तबहादुर स्याङतानलाई दिइसकिएको छ ।

दनुवारले भने अध्यक्ष गिरीकै असहयोग,हेपाई र विभेदकारी व्यवहारका कारण विवाद गरेर बस्नुभन्दा राजीनामा दिएको बताएकी छन् ।

 

Comments

One response to “निरन्तर असहयोग भएपछि अकोरावको महासचिव दनुवारले दिइन् राजीनामा”

  1. Yakindra Timilsina Avatar
    Yakindra Timilsina

    राजनीति गर्नेले त गरिरहलान । नाफा घाटा हेरिरहलान । आआफ्ना पदीय जिम्मेवारीमा रहनु र जिम्मेवारी अनुसारको काम गर्नु पदमा पुगेकाहरुको कर्तव्य हो । महासचिवले पनि अध्यक्षको घरेलु कामदार जस्तो राजीनामा दिन सर्वथा गलत हो । जसलाई नाफा वा जसलाई घाटा भए पनि समग्रमा सामुदायिक रेडियोहरुको छाता संस्थाका लागि यो कालो टीका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *