तिहारमा आउँदै प्रकाश सपुतको ‘सोल्टिनी’, कार्यकारी निर्मातामा ‘अ हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’

काठमाडौं । नायक तथा गायक प्रकाश सपूत अभिनित चलचित्र ‘सोल्टिनी’ अब तिहारको भाइटिकामा आउने भएको छ। पहिला यो चलचित्र संविधान दिवसको अवसर पारेर असोज ३ गते आउने पक्का थियो। अहिले भने निर्माण टिमले प्रदर्शन मिति सारेर कार्तिकको ६ गतेलाई रिलिज मिति तय गरेको हो।

यो चलचित्रको कार्यकारी निर्माताको रूपमा ‘अ हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ। यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङले गर्छन्। तर यो चलचित्रमा भने उनको संलग्नता छैन । चलचित्रको मिडिया कोडिनेटर जीवन पराजुलीको अनुसार हर्क साम्पाङको टिम भए तापनी उनी चलचित्रमा आवद्ध छैनन् । ‘अ हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ मा आवद्ध अन्य व्यक्तिहरुले मात्र चलचित्रलाई विभिन्न तरिकाले सघाउने पराजुलीको भनाई छ।

रिलिज मिति घोषणासंगै चलचित्रको एकसाथ पाँच पोस्टर सार्वजनिक गरिएको छ। चार वटा फरक-फरक पोस्टरहरू चलचित्रको कथावस्तुमा आधारित छ भने एक पोस्टरमा नायक-नायिकाको रोमान्टिक केमेस्ट्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। सार्वजनिक एक पोस्टरमा नायिका परीक्षा लिम्बु परम्परागत भेषभुषा र गहनामा सजिएकी छिन् भने अर्को एक पोस्टरमा ग्रामीण परिवेशमा पुल पार गर्दै हाँसिरहेका नायक-नायिकालाई देखाईएको छ। एक सामूहिक पोस्टरमा भने नायक-नायिका सहित अन्य पात्रहरूलाई पनि समेटिएको छ।

अर्जुन सुवेदीले निर्देशन गरेको यो चलचित्रमा प्रकाश सपुतको अलावा परीक्षा लिम्बु, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल सुजन खतिवडालगायतका कलाकारहरूको अभिनय छ। प्रशान्त सिवाकोटीको संगीत रहेको गीतमा सुशन प्रजापतिको छायांकन र अर्जुन सुवेदी र कुमार भट्टराईको लेखेन छ।

प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने सह-निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *