बसाइसराइको प्रभाव : वडाबासी खोज्दै चितवन पुगे राक्सिराङका अध्यक्ष (भिडिओ)

हेटाैंडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उत्तम वाइबा आफ्ना वडाबासी खोज्दै चितवन पुगेका छन् ।

आर्थिक वर्षको शुरुवातमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडाबासीको विवरण अद्यावधिक गर्न सेवाग्राही खोज्दै वडाध्यक्ष गाउँबस्ती, छिमेकी पालिका हुँदै छिमेकी जिल्लासम्म पुगेका हुन् ।

राक्सिराङ गाउँपालिकाका वासिन्दा बसार्ईं सरेर नजिकैको मनहरी र सीमा जिल्ला चितवनको राप्ती नगरपालिकासम्म पुगेका छन् । विकट गाउँको बस्तीबाट शहरमा बसोबास गरे पनि उनीहरुको मतदाता अधिकार पुरानै पालिका र वडामा छ ।

सामाजिक सुरक्षा भत्ता वितरणमा पछि कसैलाई समस्या नहोस् भनेर वडाध्यक्ष वाइबा उनीहरुको घर खोज्दै वडाका कर्मचारी बोकेर सेवा दिन पुगेका हुन् ।

‘वडाका केही मानिस चितवनतिर छन्, केही मनहरीमा छन्, अहिले गाउँ आएर अद्यावधिक गर्न उहाँहरुलाई समस्या छ, बाढीले मनहरी खोला ठूलो हुँदा पालिका र वडा आउन समस्या भएपछि हामी नै घरमै पुगेर सेवा दिएका हौँ’, वाइबाले भने, ‘यसो गर्दा गाउँबस्तीमा बासिन्दासँग सम्बन्ध पनि नवीकरण हुन्छ, पछि भत्ता वितरणमा समस्या पनि हुँदैन र हजारौँ खर्च गरेर वडामा पुग्नपर्ने झन्झट पनि टर्छ ।’

बुधबार वडाध्यक्ष वाइबाले राक्सिराङ–३ मै घरघरमा पुगेर वडा कार्यालय आउन कठिन भएका जेष्ठ नागरिक र अशक्तलाई सेवा दिएपछि उनको चर्चा चुलिएको थियो । उनको कामलाई सञ्चार र सामाजिक सञ्जालले राम्रो भनेका थिए ।

राक्सिराङ यस्तो पालिका हो, यसको केही वडा हेटौँडा र मनहरी बजारसँग जोडिएको छ भने केही वडामा जान चितवनको राप्ती नगरपालिका हुँदै जानुपर्छ । केही वडा धादिङको सीमानासम्म जोडिएको छ ।

‘भौगोलिक हिसाबले आउजाउमा कठिन हुने जेष्ठ नागरिक र अशक्तलाई घरमै गएर सेवा दिने काम प्रभावकारी हुने देखेर यो काम गरेका हौँ’, राक्सिराङ गाउँपालिकाका वडाध्यक्ष राजकुमार मल्लले भने, ‘वडा नम्बर ३ का वडाध्यक्षले गरेको कामको परिणाम देखिएको छ, घरमै स्थानीय सरकार पुगेर काम गरिदिएकामा उनीहरुले राम्रै मानेका छन्, आशीष दिएका छन् ।’

‘बुधबारबाट शुरु भएको अभियान आइतबार सकाउने तयारीमा छौँ,’ वडाध्यक्ष उत्तम वाइबाले भने, ‘यसपटक कम्तीमा वडा कार्यालय आउन कठिन भएका ५० जति जेष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर सेवा दिने तयारी छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *