काठमाडौं । शुक्रबारको मन्त्रिपरिषद् बैठकले भदौ १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई छान्याे । प्रहरीभित्र निरन्तर अपहेलित एउटा अधिकृत अन्ततः कसरी आईजीको फुली लगाउने दिनमा पुग्छ ? यो रहस्य जान्नका निम्ति खापुङलाई यसरी पढौँ-
तेह्रथुम सदरमुकाम म्याङलुङभन्दा पर छ, मोराहाङ गाउँ । त्यहाँबाट सदरमुकाम छिचोल्दै धनकुटाको हिले बजारभन्दा तल्तिरसम्म पैदल नै यात्रा गर्नुपथ्र्यो । जसोतसो धरान उत्रिएपछि प्रायः तेह्रथुमे त्यहाँबाट अगाडि बढ्दैनन् । त्यहीँ सुस्ताउँछन् ।
तर, चन्द्रकुवेर धरानमा अडिएनन् । वकिल बन्ने सपना बुनेर काठमाडौं हान्निए । तेह्रथुमका लिम्बूमा पनि खापुङ परिवार न त्यतिबेला कमजोर थियो, न त अहिले नै । जतिबेला चन्द्रकुवेर तेह्रथुम छोडेर काठमाडौं छिर्दै थिए, त्यो समयका शक्तिशाली पञ्च थिए, पर्शुराम खापुङ । अहिले उनी आफैँ देशभरका ७० हजारभन्दा बढी जनशक्ति रहेको प्रहरी संगठन सम्हाल्ने ओहोदामा पुगेका छन् ।
विद्यमान प्रहरी कानूनअनुसार उनको कार्यकाल छोटो छ । तर, तेह्रथुम र सिंगो पूर्वले गर्व गर्ने व्यक्तित्व बनाएका छन् । संयोग पनि कस्तो भयो भने नेपाल प्रहरीले ७० वर्षपछि सप्तकोशी तरेर आईजीपी भेट्टाएको छ, २०१० सालको मंसिरमा नियुक्त ज्ञानबहादुर याक्थुम्बापछि २०८२ भदौमा चन्द्रकुवेर खापुङ । भूगोलमात्र एउटै रहेन, समुदाय पनि उही ।
२०४३ सालमा नेपाल ल क्याम्पसमा भर्ना भएका खापुङले काठमाडौं बसेर पढ्नेबाहेक अर्थोक केही गरेनन् । घरकै पैसामा बाँचे, आफूले कमाएनन् । किनभने, वकिलको पढाई थियो । वकिल भनेको स्वाभिमानी हुनुपर्छ भनेर उनले भविष्यको पेशाप्रति न्याय गर्न पनि अन्य पेशा, व्यवसाय गरेनन् । २०५० सालमा नेपाल प्रहरीमा इन्स्पेक्टरका लागि जागिर खुल्यो । गोरखापत्रको सूचना पढेर उनले पनि नक्सालस्थित प्रहरी हेडक्वार्टरमा आवेदन दिए ।

लगत्तै शारीरिक परीक्षणमा सामेल भए । त्यही वर्ष लिखित परीक्षा पनि भयो । तर, नतिजा आउँदा ‘भद्रगोल’ भयो । एउटै सूचनाले परीक्षा दिएर इन्स्पेक्टर उत्तीर्ण भएका अधिकृतलाई समूह क, ख, ग मा वर्गीकृत गरियो । त्यतिबेलालाई सम्झिएर यो कुरा गर्दा ‘दुःख’ थियो । यतिबेलालाई हेरेर भन्दा ‘भयंकर सुख’ सावित भएको छ । किनभने, उक्त लिखित परीक्षा र तालिममा सामेल एउटै टोलीले तीनजना आईजीपी पायो (वसन्तबहादुर कुँवर, दीपक थापा हुँदै चन्द्रकुवेर खापुङसम्म आइपुग्दा) ।
उनीसँग ब्रिटिश लाहुरे बनेर युके र हङकङ जाने सुविधा थियो । त्यस्तो सपना र सुविधा त्यागेर वकिल बन्न काठमाडौं भित्रिएका उनले प्रहरीमा जागिरको आवेदन दिए । उत्तीर्ण त भए, तर नियुक्ति पत्र पाउन अदालतसम्म धाउनुपर्यो । समूह ‘क’ मा परेकाले २०५१ चैत ५ गते नियुक्तिपत्र लिइसकेका थिए । ‘ख’ र ‘ग’ नियुक्तिपत्रका निम्ति दौडिरहे । कहिले प्रधानमन्त्री मनमोहन अधिकारीसँग भेट्थे, त कहिले गृह मन्त्री केपी शर्मा ओलीकहाँ ‘धर्ना’ नै बस्थे । ओलीले त नियुक्ति दिने गरी चाँजोपाँजो मिलाइसकेका थिए ।
तर, २०५२ भदौमा सरकार ढल्यो । त्यसपछि ‘ख’ र ‘ग’ टोली अदालत गयो । अदालतकै आदेशले उनीहरूले नियुक्तिपत्र पाए । तर, सँगै पाएनन् । अवकाशउन्मुख आईजी दीपक थापासहितको टोलीले भदौ १८ को मितिमा नियुक्तिपत्र पायो, खापुङहरूले कात्तिक २७ मा । त्यतिबेलाको त्यही ‘दुःख’ अहिले ‘सुख’ मा परिणत भयो । एकैदिन परीक्षा दिएका तीनजना लगालग आईजीको फुली लगाउन सफल भए ।
आश नगरेको उपलब्धि
खापुङको ‘ट्रयाक रेकर्ड’ हेर्दा तीन चिज भेटिँदैन, अनियमितता, निरंकूशता र जबरजस्ती । यस्ता प्रहरी विरलै पाइन्छन् । यस्तो हुनुको ‘दुःख’ हो, राम्रो पोष्टिङ हत्तपत्त नपाइनु ।
खापुङले जागिरभर आईजी हुन्छु भन्ने आश गर्नै पाएनन् । त्यसमाथि एसपी बढुवामा त व्याचीभन्दा डेढ वर्ष ढिलो भएपछि ‘बर्बादै भयो’ भन्नेमा पुगिसकेका थिए । अरुले २०७१ फागुन १० गते एसपीमा बढुवा पाए । उनले भने एसपी हुनका लागि २०७३ पुस १० सम्म कुर्नुपरेको थियो ।
त्यसमाथि विभागले कोही, कतै जान नमानेका, नचाहेका ठाउँमा उनलाई पठाइरह्यो । एक किसिमको विभेदका बीच उनले जागिरे जीवनको २९ वर्ष गुजारे ।
तर, डीआईजी र एआईजीका बढुवादेखि उनी हावी भए । हिसाब किताब निकाल्दा सँगै नियुक्तिपत्र बुझेका साथी उमेर हद लागेर घर जाने, आफू एक्लो हुने भएपछि आईजी पक्कापक्कीको स्थितिमा रहे । डीआईजीमा कोशी प्रदेश र एआईजीमा सिआईबी प्रमुख, जागिरभर उनका पोष्टिङमध्येका सबभन्दा गतिला यिनै थिए ।
उनले वकिल बन्न ल क्याम्पस पढे, जीवनमा एक दिन पनि वकालत नगरी पुलिस बने । पारिवारिक र सामाजिक परिस्थितिका कारण ‘ब्रिटिश लाहुरे’ हुनुपर्ने दबाब थियो, मानेनन् । पुलिस हुन्छु भन्दा अनेकन वादविवाद र मुद्दामामिलामा गए । जसै पुलिस भए, ‘लो-प्रोफाइल’ का । तर, समय यस्तो बलियो बनेर आयो कि, उनै ‘लो–प्रोफाइल’ खापुङको काँधमा भदौ १८ गते आईजीपीको फुली चढ्दैछ ।

Leave a Reply