राप्रपाका चार आकांक्षीले गरे सहमतिपत्रमा हस्ताक्षर, पार्टीले जसलाई उठाए पनि साथ दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही ३ को उम्मेदवार छनोट गर्ने अन्तिम तयारीमा जुटेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय कमिटीबाट सिफारिस भएका चारैजना आकांक्षीहरुलाई बोलाएर छलफल गरेका छन् ।

रुपन्देही ३ राप्रपाका दिवंगत नेता दिपक बोहराले जितेको क्षेत्र हो । त्यसबेला एमालेसँगको सहकार्यमा उनी विजयी भएका थिए । यसपालि सम्भवतः एक्लै लडेर बिरासत जोगाउनुपर्ने चुनौति राप्रपासामू छ । त्यसैले उम्मेदवार चयनमा पार्टीले पर्याप्त सावधानी अपनाइरहेको देखिन्छ ।

उपनिर्वाचनमा स्वर्गीय बोहराको परिवारबाट तीन आकांक्षीहरू छन् । बोहराका दुई छोरा गौरब बोहरा र प्रज्ज्वल बोहरा तथा नातिनी स्वाती थापा चुनाव लड्न कस्सिएका छन् । परिवारभित्रै मतैक्यता हुन नसकेपछि तीनैजनाको नाम सिफारिस गरेर पठाइएको थियो । उनीहरुबाहेक बसन्त विक्रम शाहीको नाम पनि सिफारिस भएको छ ।

अध्यक्ष लिङदेनले चारजना आकांक्षीहरुलाई गत ८ गते काठमाडौं बोलाएर सामूहिक छलफल गरेका थिए । सो छलफलका क्रममा आकांक्षीहरु पार्टीले जसलाई रोजे पनि समर्थन गर्ने र सघाउने कुरामा प्रतिवद्धता दर्शाएका छन् । जो उम्मेदवार भए पनि आफूहरू बागी नबन्ने भनेर लिखित सहमतिपत्रमा चारैजनाले हस्ताक्षर गरेको स्रोतले बतायो ।

पार्टीले अहिलेसम्म कसलाई अगाडि सार्ने भनेर निधो गरिसकेको छैन । स्रोतका अनुसार राप्रपाले बोहराकै परिवारभित्रबाट उम्मेदवार खडा गरिने लगभग निश्चित छ । दुई छोरा गौरव र प्रज्ज्वल एकजनालाई अघि सार्ने सम्भावना बलियो रहेको पार्टी स्रोतले बतायो ।

स्व. बोहराका दुई श्रीमती, दुई छोरा र एक छोरी छन् । गौरव दिपक बोहराका जेठी पत्नी (मञ्जु) पट्टिका छोरा हुन् भने प्रज्ववल कान्छी पत्नी (उन्नतीशिला) पट्टिका हुन् । अमेरिकामा बिहे भएकी छोरी जेनीको गत फागुन २ गते निधन भएको थियो । त्यसको दुई महिनापछि बोहरा बितेका हुन् ।

बोहराका दुवै छोरा प्रज्ज्वल र गौरव उपनिर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेर बुवाको विरासत जोगाउन चाहन्छन् । गौरव पेशाले पाइलट हुन् । उनी बुद्ध एयरमा क्याप्टेनका रुपमा कार्यरत छन् । अब राजनीतिमा मोडिने उनको इच्छा छ । गत आम निर्वाचनमा उनी बुवालाई जिताउन खटिएका थिए ।

बोहराको पारिवारिक ‘लिगेसी’ लाई धान्दै आएका कान्छी श्रीमती उन्नतीपट्टिका छोरा प्रज्ववल भने आइटी इन्जिनियर हुन् । अमेरिकाको नागरिकता त्यागेर गएको निर्वाचनमा बुवालाई सघाउन आएदेखि उनी यतै बसेका छन् । प्रज्ज्वल राप्रपाभित्र सक्रिय पनि छन् । छोटो समयमा पार्टीमा राम्रो पकड बनाएका उनलाई उम्मेदवार बनाउँदा चुनाव जित्न सहज हुने राप्रपाका स्थानीय नेताहरूको बुझाइ छ ।

निर्वाचनपछि बिरामी अवस्थामा रहेका बुवालाई बोलाइने कार्यक्रममा प्रज्ज्वल जान थालेका थिए । बोहरा जीवित छँदा नै उनको उत्तराधिकारीका रूपमा प्रज्ज्वललाई अघि सार्ने गरी परिवारले तयारी गरेको छनक मिलेको थियो । राप्रपाका धेरै कार्यकर्ताले इलाममा सुवास नेम्वाङको छोरा सुहाङलाई जस्तै यहाँ पनि प्रज्ज्वललाई जिताउन सकिने ठानेका छन् ।

बोहरा परिवारकी तेस्रो आकांक्षी हुन् स्वाती थापा । राप्रपाकी केन्द्रीय सदस्यसमेत रहेकी उनी दीपक बोहराकी नातिनी हुन् । उनी हजुरबुवाको चुनावी अभियानमा निकै खटिएकी थिइन् । उनी पार्टीका हरेक कार्यक्रममा सक्रिय सहभागी हुने गरेकी छन् । अमेरिकामा अध्ययन गरेर फर्केकी स्वातीले सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यक्रम गर्दै आएकी छन् ।

बोहराका दुई छोरामध्ये एकलाई रास्वपाले पनि उम्मेदवार बनाउन खोजेको थियो । जेठा छोरा गौरवसँग पटकपटक कुराकानी भयो । गौरवले रास्वपा अध्यक्ष रवि लामिछानेलाई हिरासतमै भेटेर छलफलसमेत गरेका थिए । तर, त्यो सार्थक भएन । रास्वपा अहिले उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सनको प्रक्रियामा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *