काठमाडौं । सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै लगानी गर्न आह्वान गरिएको छ । सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्व सन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरेका हुन् ।
मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्भेन्चरको सम्मिश्रण भएको प्रदेश हो । सुदूरपश्चिमका थुप्रै पर्यटकीय सम्भावनाहरू उजागर भइरहेका छन् । यस लगानी सम्मेलनमार्फत सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान पनि गर्दछु ।’
मन्त्री पाण्डेले लगानी सम्मेलनको सम्पूर्ण आयामहरु मार्फत् पूर्ण तयारीमा उल्लेख गर्दै यसका लागि निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
सुदूरपश्चिमको पर्यटन विकासका लागि सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्री पाण्डेले जानकारी गराए ।
त्यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गरे । उनले भने, ‘हामी सुदूरपश्चिमका सम्भावनाहरूलाई लगानी सम्मेलनमार्फत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छौँ । यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी हामी लिन तयार छौँ ।’
मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गरेका हुन् । सुदूरपश्चिममा आगामी मङ्सिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि सुदूरपश्चिम सरकार काठमाडौंमा आएर विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

Leave a Reply