काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्ष झन् चर्किँदै गएकाे छ । पछिल्लो स्थायी कमिटीको बैठकपछि केही साम्य जस्ताे देखिए पनि फेरि दुई नेता एकअर्कामाथि सार्वजनिकरूपमै खनिन थालेका छन् ।
स्थायी कमिटी बैठकले अभिव्यक्तिप्रति आत्मालोचना गर्न अस्वीकार गरेका शर्माले अध्यक्ष प्रचण्डविरुद्ध फेरि फायर खोलेका हुन् । हेडक्वार्टरले शर्मालाई पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रूपमा माइन्यूटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिविधि सञ्चालन गरिरहने जस्ता कार्य नगर्न निर्देशन दिएको थियो ।
‘कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको विषय बाहेक अन्य विषयहरूमा ठोस रूपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो’, सर्कुलरमा भनिएको थियो, ‘अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ ।’

हालैमात्रै प्रचण्डले आफूले राजनीतिको खाँबो थामेजस्तो लागेको भन्दै छाडे गर्ल्यामगुर्लुम ढल्छ भनेपछि शर्माले शेषनागले पृथ्वी थामेको भ्रम पालेजस्तो कसैले नपाल्न कटाक्ष गरेका थिए ।
‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । बोकेको पनि हुँदैन, त्यो त दन्त्यकथा हो । शेषनागले हल्लाइदियो भने भूकम्प आउँछ भन्ने कुरा दन्त्यकथा हो, आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो, त्यसकारण यो पृथ्वी चल्छ, केही ढल्दैन । पृथ्वी कसैले छोड्दैमा ढल्दैन’, शर्माको जवाफ थियो।
प्रचण्डको अर्को झटारो
प्रचण्डले विहीबार विराटनगरमा प्रभाकरले आफूलाई नपत्याउँदैमा केही नहुने बताए । कोशी प्रदेश कमिटी सचिवालय बैठकमा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले शर्माको विषयमा अब बस्ने पदाधिकारी बैठकमा समीक्षा हुने बताएका थिए ।
प्रचण्डले भने, ‘अब स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसिपभन्दा बाहिर सार्वजनिक रूपमा वा आन्तरिक रूपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरू गर्नु पार्टीविरुद्ध गतिविधि गर्नेलाई भनिएको हो । एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन । यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रस्ट पारेको छ ।’
उनले जनार्दनको विषयलाई धेरै चर्काउने आवश्यक नभएको भन्दै प्रचण्डले भने, ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा उहाँले के भनेको त्योबारे पनि फेरि समीक्षा गर्छौँ ।’
उपमहासचिव शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज पार्टी पार्टीजस्तो बन्न नसकेको टिप्पणी गरे । बुटवलमा विहीबार आयोजित वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र नेतृत्व पुस्तान्तरणको कुरा उठाए ।
उनले थपे, ‘अब नयाँ पुस्ताले इगोको टकराब नगर्ने गरी, इगोकै कारणले नेकपा टुट्यो । अब नेताहरूलाई गाली गर्ने होइन । उहाँहरूलाई धारे हात लगाउने होइन। उहाँहरूको भूमिकालाई स्थापित र सम्मान गर्ने तर गल्तीहरूबाट सिकेर पार्टीलाई लोकतान्त्रीकरण गर्नुपर्छ ।’
०७९ को चुनावमा गठबन्धन गरेर लड्दा पनि अवसर पाएको जनार्दनको भनाइ थियो ।
उनले भने, ‘चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो । केही कामको थालनी पनि भएको थियो । तर, आफ्नै बुद्धिले, के गर्छस् मङ्गले आफ्नै ढङ्गले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेन्डाहरू सम्बोधन गर्ने सम्भावना छैन । अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको छ । त्यसको जिम्मेवार पनि हामी हौँ ।’
पार्टीभित्र समस्या छैन: देवेन्द्र पाैडेल
माओवादी सचिव देवेन्द्र पौडेलले दुवैजनाले बाहिर बोलेको विषयलाई धेरै तन्काइएको भए पनि पार्टीभित्र समस्या नभएको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘अहिले उहाँहरूबीच कुनै समस्या छैन, बैठकले एक ढिक्का भएर जाने निर्णय गरेको पनि छ । दुवैजनाले बाहिर बोलेको विषयलाई जोडेर धेरै तन्काइयो पनि । त्यस्तो ठूलो समस्या छैन ।’
पार्टीले अब गुटबन्दी खारेज गर्ने भनेर निर्णय गरिसकेको उनको भनाइ छ ।

पौडैलले थपे, ‘उहाँले प्रभाकरजीको विषयमा अबको बैठकमा समीक्षा हुन्छ भनेको मैले पनि सुनेँ । उहाँले के बोल्नुभयो मसम्म आएको छैन । एकमतले अब गुटबन्दी खारेज गर्ने भनेर पार्टीबाट निर्णय भइसकेको कुरा पनि हो। त्यसमा जनार्दनजीको पनि सहमति छ । बाहिर नबोल्ने भन्ने कुरा भएको थियो । त्यो बैठकपछि उहाँले बोलेको पनि सुनेको छैन ।’
पार्टीभित्र उठेको विषय सकेसम्म मिलाएरै जानुपर्छ भन्नेमा रहेको बताए ।
उनले भने, ‘शेषनागका कुरा चाहिँ जोडेर प्रचण्डलाई नै भन्यो भनेर विम्ब बनाउन खोजेका छन्, त्यस्तो होइन । उहाँहरूबीच अन्तरसंघर्ष चल्यो भनेर बाहिर हल्ला धेरै गराइएको हो । भित्र त्यस्तो छैन ।’
अर्का सचिव चक्रपाणि खनाल जनार्दनले आफ्नै ढङ्गले हिँड्न खोजेजस्तो देखिएको बताउँछन् ।
उनले भने, ‘उहाँलाई आगामी महाधिवेशनमा अध्यक्षसँग भिड्नको लागि कसैले रोकेको छैन । त्यसलाई कसैले इन्कार गर्न कुरा पनि भएन । त्यो कुरा त सबैले स्वीकारिहाल्नुहुन्छ, तर त्यसको लागि गर्ने कस्तो क्रियाकलाप के हो ? भन्ने हुन्छ । उहाँको क्रियाकलाप सन्तोषजनक भएनन् भन्ने कुरा उठेको हो ।’
उनले आगामी महाधिवेशनमा नेतृत्वकै तयारीमा गरेको भएपनि त्यो अनुसारको संवाद पार्टीभित्र नबढाएको बताए ।
केन्द्रीय सदस्य युवराज चौलागाईँ अहिले पार्टीभित्रको समस्या समाधान गरेर एकताबद्ध भएर जानुपर्नेमा जोड दिन्छन् ।

उनी भन्छन्, ‘अहिले माओवादीलाई एकताबद्ध बनाएर पार्टीको कार्यदिशालाई कार्यान्वयनमा लैजाने बेला हो । माओवादीसामु अहिले धेरै ठुलो जिम्मेवारी छ। अहिले सबैले नेतृत्वलाई सहयोग गर्ने, र आफ्नो विषयहरू छन् भने पार्टीको वैधानिक फोरमभित्र बसेर छलफल गरेर जानु नै अहिले उपयुक्त हुन्छ ।’
पार्टी हितविपरीत गतिविधि गरेको आरोप
शर्माले स्थायी कमिटीको बैठकमा पार्टीको कुरा बाहिर नलाने प्रतिबद्धता जनाए पनि पालना नगरेको एक पदाधिकारीले बताए ।
ती पदाधिकारीले भने, ‘उहाँले देखाउँदा प्रचण्डको विरुद्ध जस्तो देखाउने, गतिविधि पार्टीविरुद्ध गर्ने गरिराख्नुभएको छ। उहाँको नियत के भन्नेमा प्रश्न उठेको छ । यसमा पार्टीमा गम्भीर समीक्षा अध्यक्षले भने झैँ हुनुपर्छ । उहाँको नियत पछिल्ला क्रियाकलापले देखाएको भएपनि हामीले सकेसम्म यो विषयलाई अगाडि नबढाउने भनेका थियौँ। तर त्यो निर्णयअनुसारको स्थिति देखा परेको छैन ।’
शर्माले राजनीतिक वैचारिक, सङ्गठनात्मक कुरा भन्दा पनि अन्टसन्ट कुरा उठाउँदै हिँड्नुभएको ती नेताको आरोप छ ।
‘प्रक्रियागत हिसाबले संगठनलाई अगाडि बढाउने कुनै विकल्पअघि सारेको पनि देखिँदैन । वैचारिक कार्यदिशा अहिलेको अनुरूप भएन भन्ने कुरा पनि देखिँदैन । तर, उहाँले अरूसँग भन्दा पनि अध्यक्षसँग सवाल जवाफ गरेपछि अलग धारजस्तो देखिन्छ भन्ने प्रयास गर्नुभएको बुझिन्छ’ ती नेताले भने ।
अहिले विप्लव, घनश्यामसँग शर्माले अलग धार बनाउने प्रयत्न भइरहेको चर्चा सुनिन आएको भन्दै उनले अहिले आन्तरिक सङ्घर्षको विषय तत्काल कारबाहीको तहमा नपुग्ने प्रचण्डको मनसाय गरेको ती नेताले सुनाए ।
ती पदाधिकारीले भने, ‘विप्लव र घनश्यामसँग जनार्दन मिसिएपछि नबन्दै विघटन हुन्छ त्यो । उहाँहरूको प्रवृत्तिले नै देखाउँछ । त्यो असफल प्रयत्न हो । घुर्की धम्कीबाट केही पाइन्छ कि भन्ने होला ।’
शर्मा निकट एक नेताले भने पार्टीमा विधि र पद्धतिको कुरा चलाउँदा नेतृत्वबाटै आक्रमण भएको बताए ।
ती नेता भन्छन्, ‘उहाँले विधि र पद्धतिको कुरा उठाउनुभएको हो । उहाँले आफ्नो कुरा अब बस्ने बैठकमा पनि राख्नुहोला । पार्टीलाई विधिसम्वत् चलाएर जाऔँ भन्दा प्रचण्डमाथि आक्रमण गर्यो भन्ने ढङ्गबाट प्रचार गरियो । उहाँले पार्टी फुटाउँदै छ भन्ने ढङ्गले नेतृत्वबाटै हल्ला भएपछि उहाँ असन्तुष्ट हुनुभएको हो ।’
पार्टीलाई विधान अनुसार चलाउनुपर्छ भनेर विशेष महाधिवेशनको माग गरेको ती नेताले सुनाए ।
‘प्रचण्डले प्रश्नलाई किनारा लगाउन खोज्दै छन्’
राजनीतिक विश्लेषक चन्द्र किशोर जनार्दनले उठाएको विषयलाई प्रचण्डले बहुमतका आधारमा किनारा लगाउन खोजेको तर्क गर्छन् ।

उनी भन्छन्, ‘प्रचण्ड र जनार्दनबीचको सङ्घर्ष पार्टीभित्र आन्तरिक लोकतन्त्रको कुरा हो । असहमति राख्न पाइन्छ र राख्नु पनि पर्छ। तर नेतृत्वले त्यसको जवाफ दिनुपर्नेमा बहुमतको आधारमा प्रश्नलाई किनारा लगाउने प्रयास भइरहेको छ । अहिले माओवादीमा प्रचण्डको बहुमत छ तर जनार्दनजीले केही महत्त्वपूर्ण विषयमा प्रश्न उठाउनुभएको छ ।’
उनले आफूविरुद्ध उठेको प्रश्नको जवाफ दिनु भन्दा पनि किराना लगाउन खोजेको बताए ।
प्रचण्डलाई आगामी महाधिवेशनमा शर्माले चुनौती दिने सम्भावनाबारे उनले भने, ‘जनार्दनजीले कति सक्नुहुन्छ त्यो आफ्नो ठाउँमा होला । आजको अवस्थामा माओवादीमा प्रचण्डलाई मात्रै होइन, कांग्रेसमा देउवा र एमालेमा ओलीजीविरुद्ध प्रश्न उठाउने धेरै छन् । तर, चुनौती दिन सक्ने अवस्था देखिँदैन । उनीहरूले नै बनाएको पार्टी संरचनाले भोट गर्ने हो नेतृत्वका लागि त्यसैले सफल हुँदैनन् । प्रश्न उठाउनेहरू बलियो हुँदैनन् ।’

Leave a Reply