कोशीमा रोजगारी र उद्यमशीलतामा फड्को- ‘उदय’ परियोजनामार्फत बिना धितो ३० लाखदेखि ३ करोडसम्म कर्जा

विराटनगर । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि ‘उदय’ परियोजना सुरू गरेको छ । स्वीस सरकारसँगको सहयोगमा सञ्चालन हुने यस परियोजनाबाट रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा प्रदेश सरकारको छ ।

परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ । ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ अर्ब बराबरको कर्जा सुरक्षा गरिने र २८ करोडको च्यालेञ्ज फन्डमार्फत प्रवर्द्धनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

यसबाहेक इन्फर्मेशन पोर्टलमार्फत बजारसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था पनि परियोजनाले गर्नेछ । ‘उदय’ परियोजनाअन्तर्गत बिना धितो ३० लाखदेखि ३ करोडसम्मको कर्जा उपलब्ध गराइने र त्यसका लागि बैंक छनोटको प्रक्रिया अघि बढाइएको छ । ‌

यो परियोजनाले प्रदेशमा उद्यमशीलताको विकाससँगै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र आर्थिक आधारलाई मजबुत पार्ने लक्ष्य लिइएको छ । परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरेको सम्वद्ध अधिकारीले बताएका छन् । ‌‌

प्रदेशका १४ वटै जिल्लामा परियोजना सञ्चालन गर्ने लक्ष छ । पहाडी क्षेत्रको बसाइसराइ न्यूनीकरणमा मध्यनजर गरेर त्यहाँका साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्ने र नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने नीति कोशी प्रदेश सरकारले लिएको छ । परियोजनाअन्तर्गत कोशी प्रदेश सरकारको क्रेडिट ग्यारेन्टीमा झण्डै ८ अरब रूपैयाँ लगानी परिचालन हुनेछ । पहिलो चरणमा चार वर्षसम्म सञ्चालन हुने यो परियोजनाबाट कोशी प्रदेशमा ३ हजार रोजगारी सिर्जना हुनेछ ।

परियोजनाका व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले यो परियोजनाको प्रोजेक्ट १० वर्षसम्म सञ्चालन गर्ने गरी तयार गरिएको बताए । पहिलो चरणमा यो परियोजना चार वर्षसम्मको हुनेछ । परियोजना टीम लिडर अरुण राणाले नवउद्यमी र उद्यम गरिरहेका हरूको बीचमा पुर्‍याउने योजना सुनाए । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीले यो परियोजनाबाट कोशी प्रदेशलाई थप उचाइमा लैजान सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले परियोजना बजार प्रवर्द्धनदेखि नयाँ उद्योग स्थापना गर्ने बाटो खोल्ने बताए ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘उदय’ परियोजनालाई सफल बनाएर देशव्यापी रूपमा नमूनायोग्य बनाउने प्रतिबद्धता जनाए । उनले भने, ‘यो परियोजना कोशी प्रदेशको आर्थिक समृद्धि र विकासका लागि कोसेढुङ्गा हुनेछ ।’

प्रदेश सरकारले पर्यटन, कृषिमा ध्यान दिएको उल्लेख गर्दै कार्कीले पदमार्गमा आधारित पर्यटन विकासका लागि चारवटा पदमार्ग निर्माण गरिरहेको र योसँगै अहिले ‘उदय’ परियोजना मार्फत सञ्चालनमा ल्याइन लागेको नव उद्यमशीलता प्रवर्द्धन कार्यक्रमले कोशी प्रदेशको समृद्धिमा ठूलो योगदान पुग्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *