कैलाली । अछाममा महिनावारी बार्न खेतमा पाल टाँगेर सुतेको अवस्थामा ढुङ्गा लागेर दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा मंगलबार बिहान करिब ५:३० बजे भीरबाट खसेको ढुङ्गाले त्रिपालमुनि सुतेका तीन जनालाई च्याप्दा घटनास्थलमै दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
मृत्यु हुनेमा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनाल छन्। घटनामा कविता भण्डारीकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन्। उनको टाउकोमा गम्भीर चोट लागेको र अहिले उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको छ।
उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले त्रिपाल टाँगेर सुतिरहेका उनीहरुलाई ढुङ्गाले लागेको थियो । ती मध्ये दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते लाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्यचौकी बारला पठाइएको थियो । मृतक खनाल र भण्डारी दुवै जना माइतीघरमा आएर महिनावारी भएपछि खेतमा पाल टाँगेर सुतेका थिए ।
भण्डारीकी ७ वर्षीया छोरी आमाको मायाले उनीहरूसँगै त्रिपालमुनी सुतेकी थिइन् । आमा गम्भीर घाइते हुँदा छोरीसहित थप एक जनाको मृत्यु भएको हो ।
(तस्बिरमा घाइते रत्ना भण्डारी)

Leave a Reply