रूपन्देही-३ मा डा. उमाशंकरलाई अघि सार्ने रेशमको संकेत, रञ्जिताको मौनता

रुपन्देही । मधेसी र थारु समुदायको धेरै मतदाता रहेको रुपन्देही–३ को उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले डा. उमाशङ्कर चौधरीलाई स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेका छन् । यसलाई उनी निकट नेताहरूले पुष्टि गरेका छन् ।

बिहीबार रेशम आफैँले उमाशंकरको फोटा सामाजिक सञ्जालमा पोस्ट गरे पनि त्यसमा अरू केही लेखेका छैनन् । उनले पहिलेबाटै डा. उमाशङ्कर र डा. सरोज चौधरीलाई उम्मेदवार बनाउने गरी छलफल चलाएका थिए ।

नाउपा केन्द्रीय सदस्य तथा रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राकेश कोइरीले रुपन्देही–३ मा रेशम चौधरीको प्रस्तावमा डा. उमाशङ्कर चौधरीलाई अगाडि सारिएको पुष्टि गरेका छन् ।

‘डा. उमाशंकरलाई स्वतन्त्र उम्मेदवार बनाउने गरी रेशम चौधरीले प्रस्ताव गर्नुभएको हो, मोर्चाको पनि यसमा साथ रहेको छ, यो निर्णयसँगै अहिले रेशम सर प्रचारमा लागिसक्नुभएको छ,चाहना त धेरैको थियो नि म पनि आकाङ्क्षी थिएँ सबैले पाउने कुरा भएन’ उनले भने ।

दल निर्वाचन आयोगमा दर्ता हुन नसकेपछि नाउपाले स्वन्तन्त्र उम्मेदवार उठाउने निधो गरेको हो तर यसमा अध्यक्ष रन्जिता श्रेष्ठको धारणा प्रष्ट भएको छैन । लोकतान्त्रिक मधेसी मोर्चाले पहिले नै रेशम चौधरीसँग समझदारी गरेकाले उनले उठाएकै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेपछि अब उमाशङ्कर नाउपाको मात्रै नभएर यो मोर्चाकै साझा उम्मेदवार बन्ने भएका छन् ।

यो विषयमा उमाशंकरले आफू आकाङ्क्षी भएपनि पार्टीले संस्थागत निर्णय नगरेकाले आधिकारिक मान्न नसकिने नेपाल प्रेसलाई बताए । ‘म आकाङ्क्षी हो तर यसको आधिकारिक निर्णय गर्ने त पार्टीले हो, रेशमजीले फेसबुकमा मेरो फोटा पोस्ट गरेपछि धेरैले सोधेका छन् तर त्यसमा केही लेखिएको छैन, आधिकारिक निर्णयपछि पत्रकार सम्मेलन गरेरै सार्वजनिक होला नि’ उनले घुमाउरो शैलीमा भने ।

तर मोर्चाकै घटक दल जनमत पार्टीले चुनावमा कसैसँग साझेदारी नगर्ने निर्णय गर्दै अलग्गै उम्मेदवारीको तयारी गरेको छ । नाउपाबाट ०७९ को निर्वाचनमा क्षेत्र नं १ उम्मेदवार बनेर राम्रो मत ल्याएका धनीराम चौधरी अहिले जनमत प्रवेश गरेर उम्मेदवार बन्ने भएपछि रेशम चौधरीलाई चुनौती थपिएको हो भने नाउपाकै अध्यक्ष रहेकी उनकी श्रीमती रन्जिता श्रेष्ठसँग विवाद बढ्दै गएकाले रेशमको उम्मेदवारलाई साथ रहनेमा नेताहरूले आशङ्का गरेका छन् ।

धनिराम रुपन्देही ३ कै सियारीका हुन् । अध्यक्ष श्रेष्ठले पनि रुपन्देही–३ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार दिने यसअघि नै बताएकाले यसको संस्थागत निर्णय गर्न चुनौती रहने छ ।

रुपन्देहीमा नाउपालाई साथ दिएका जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील दल, राष्ट्रिय मुक्ति पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टीले भने रेशम चौधरीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय दोहोराएर गरिसकेका छन् । उनीहरुसँगको बैठकमा रेशम चौधरीले ‘रुपन्देही–३ मा विद्वान, समाजलाई प्रभाव पार्न सक्ने उम्मेदवार दिने र पिएचडी डाक्टर, त्यो पनि पनि थारु समुदायबाटै उठाउने बताइसकेका छन् ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा निर्देशकबाट निवृत्त भएका उनी त्यसपछि थारु आयोगमा रहेर काम गरिसकेका अनुभवी हुन् । २०७८ असार १० गते थारु आयोग सदस्यमा नियुक्त भएका थिए । नवलपरासीका स्थायी बासिन्दा उनी अहिले भने भैरहवामै बस्दै आएका छन् ।
रेशम चौधरीले पनि आफूले प्रस्ताव गरेको नाममा मोर्चा घटक दलको असहमति नरहने बताए । भैरहवा निवासी डा. सरोजसिंह चौधरी पनि रेशमको रोजाइमा थिए ।

उनी दन्त चिकित्सक हुन् । पार्टीको प्रदेश अध्यक्ष रहेका उनले पछिल्लो समय घरदैलोलाई पनि तीव्रता दिएका छन् । नाउपा नेता राकेश कोइरीले अहिले रेशम आफै जिल्लामा प्रचारमा लागेको र पार्टीले पनि यस खालका कार्यक्रम बनाइरहेको बताए । रुपन्देही–३ बाट निर्वाचित राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि रिक्त स्थानमा उपचुनाव हुन लागेको हो । आगामी असोज २१ गते उम्मेदवारी दर्ताको कार्यसूची छ ।

मोर्चामा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले रेशम चौधरीले प्रस्ताव गरेको उम्मेदवार नै मोर्चाको आधिकारिक उम्मेदवार रहने निर्णय भएको जनाए ।

‘नाउपा भित्रको समस्या मोर्चाको सरोकार होइन, तर रेशमजीसँग बसेर पहिले समझदारी गरेका हौं, पार्टी आयोगमा दर्ता नभए पनि हामीले चौधरीले सिफारिस गरेको उम्मेदवारलाई साथ दिने निर्णय दोहोराएका छौँ, रेशमजी मोर्चाको प्रारम्भिक कालदेखि नै साथमा हुनुहुन्छ र सहयोग गर्दै आउनुभएको छ, त्यसैले हाम्रो साथ उहाँलाई रहनेछ ।’ उनले भने ।

नागरिक उन्मुक्ति पार्टीभित्र अहिले दुई धार देखिएका छन् । एउटा पक्षको नेतृत्व चौधरीले गरेका छन् भने अर्को पक्ष अध्यक्ष रञ्जिता श्रेष्ठले गरिरहेकी छन् । यही विवादका कारण उपनिर्वाचनका लागि निर्वाचन आयोगले दिएको समय सीमामा दल दर्ता हुन सकेन । आयोगले साउन २१ देखि २७ गतेभित्र दल दर्ता गरिसक्न भनेको थियो ।

तर विवाद चुलिँदै जाँदा चौधरी पक्षको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्य नरहने गरी अध्यक्षबाट हटाउँदै लालवीर चौधरीलाई अध्यक्ष बनायो । आयोगले भने लालवीरलाई मान्यता नदिएर श्रेष्ठलाई नै कायम राख्यो । श्रेष्ठले मान्यता पाएको दिन साउन २८ गते थियो, जति बेला आयोगले दल दर्ता गर्न दिएको समय सीमा गुज्रिएको थियो ।

चौधरीले भने आफू अध्यक्ष नभएकाले पार्टी दर्ता हुन नसक्नुमा दोष नलाग्ने बताएका छन् । मधेसी मोर्चामा रहेका दलको उल्लेख्य मत रहेकाले यसको साझा उम्मेदवार प्रतिस्पर्धामा आउन सक्ने आङ्कलन गरिए पनि नाउपाभित्रै विवाद र जनमतको साथ नरहने भएसँगै चुनौती थपिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *