सुनसरी । इनरुवा नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापा विरुद्ध अङ्गभङ्गको फौजदारी अभियोगमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएको छ । तर, निलम्बनको मितिपछि पनि उनले वडाध्यक्षकै हैसियतमा काम गरेको तथ्य सार्वजनिक भएको छ ।
२०८१ साल फागुन २२ गते साँझ चतराबाट कान्छी चोकतर्फ आउँदै गर्दा उनले चलाएको बा २१ च ६८८८ नम्बरको निशान कारले प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेकी देविका खनाल गम्भीर घाइते भएकी थिइन् ।
विराटनगरस्थित विराट नर्सिङ होममा प्रारम्भिक उपचारपछि उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सीसीयुमा भर्ना गरिएको छ । छ महिनादेखि उनको अवस्था गम्भीर नै छ । घाउमा सुधार आएको छैन ।
दुर्घटनालगत्तै पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता गर्न खोज्दा अस्वीकार गरिएको थियो । पीडित पक्षले पटक पटक विभिन्न निकायमार्फत जाहेरी दर्ता गर्ने प्रयास गरेपनि प्रहरीले नमान्दा दर्ता हुन नसकेर पीडितहरू थप पीडामा लामो समयसम्म रहेका थिए ।
अन्तिममा पीडितहरूले हुलाकमार्फत पठाइएको जाहेरी पनि लामो समयसम्म दर्ता नगरी प्रहरीले थन्काएको थियो । त्यसपछि पीडित पक्षले उच्च अदालतमा निवेदन दिनु परेको हो ।
अदालतले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दिएपछि प्रहरी सक्रिय भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार साउन १६ गते मुद्दा दर्ता भई साउन २० गते पक्राउ पुर्जी जारी भएको छ ।
उनले आफूहरूले सुमन थापाविरुद्धको मुद्दामा उनको पहिचानको लागि प्रशासनलाई पत्र पठाएको जानकारी दिँदै कानुनअनुसार पक्राउ पुर्जी जारी भएको व्यक्ति सुमन थापा वडाध्यक्ष हुन कि होइन भन्ने विषयमा अनभिज्ञ रहेको बताए ।
यद्यपि उनले सार्वजनिक पद धारण गरेको व्यक्ति भए मुद्दा दर्ता भएको अवस्थामा स्वतह पद निलम्बन हुने बताए ।पीडितको तर्फबाट उच्च अदालत विराटनगरमा भएको रिट निवेदन सुनवाइमा सहभागी भएका अधिवक्ता वसन्त सुवेदीले अदालतको आदेशपछि मात्रै प्रहरीले जाहेरी दर्ता गर्न सक्रियता देखाउनुले प्रहरी यो विषयमा संवेदनशील नदेखिएको दाबी गरे ।
उनले उच्च अदालतको आदेशपछि प्रहरीले उच्च अदालतलाई जाहेरी दर्ता भएको र सोहीअनुसार मुद्दा समेत दर्ता भई पक्राउ पुर्जी जारी गरेको जवाफ दिए ।
सवारी अङ्गभङ्गको मुद्दा फौजदारी मुद्दा भएकोले सो मुद्दा परेपछि सार्वजनिक पद धारण गरेको व्यक्ति कानुनअनुसार स्वतः निलम्बन हुने व्यवस्था रहेको अधिवक्ता सुवेदीले बताए ।
कानुनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि फौजदारी अभियोगमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएलगत्तै पद स्वतः निलम्बन हुने भएपनि वडाध्यक्ष थापाले भदौको पहिलो सातासम्म वडाध्यक्षकै हैसियतमा कार्यालय सञ्चालन गरेको वडा कार्यालय स्रोतले जनाएको छ ।
त्यसपछि मात्र उनले वडा सदस्य कृष्ण श्रेष्ठलाई कार्यवाहक जिम्मेवारी दिएर उपचारका लागि काठमाडौँ गएको जानकारी नगरपालिकाले दिए ।
थापाले भदौ ८ गते सदस्य श्रेष्ठलाई कार्यवाहक दिएका थिए । इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले मुद्दा दर्ता र निलम्बनबारे कुनै निकायबाट औपचारिक जानकारी नआएको बताए ।
उनले औपचारिक रूपमा पत्र आएपछि सोहीअनुसार कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिए । वडाध्यक्ष आइतबारमात्रैकार्यवाहक दिएर गएको जानकारी दिँदै यति मुद्दा दर्ता भएर पद निलम्बन भएको भए निलम्बनको मितिदेखिका यता उनले गरेको सबै काम बदर हुने बताए ।
नगर प्रमुख केदार भण्डारीले अहिलेसम्म वडाध्यक्ष थापाविरुद्ध फौजदारी अभियोगमा अदालतमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएको विषयमा आफूलाई कुनै औपचारिक जानकारी नभएको उल्लेख गर्दै औपचारिक पत्र आएपछि मात्र कानुनअनुसार कारबाही अघि बढाइने प्रतिक्रिया दिएका छन् ।
कानुनले प्रहरीलाई मुद्दा दर्ता भएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराउने र पक्राउ सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। तर, जिल्ला प्रहरी कार्यालय भन्दा तीन किलोमिटरको दुरीमा रहेको वडा कार्यालयमा वडाध्यक्ष थापा भदौ ८ गते आइतबारसम्म कार्यरत रहँदासमेत पक्राउ नगरेको घटना र जाहेरी दर्तामा गरेको ढिलाइ लगायतको कारण प्रहरीको नियतमा गम्भीर आशङ्का उत्पन्न भएको पीडितहरू बताउँछ तर प्रहरीस्रोत भने घटनामा उच्च राजनीतिक दबाबका कारण घटना सक्रियता देखाउन नसकेको बाध्यता पोख्दछ ।

Leave a Reply