रुपन्देही । तीन प्रमुख कम्युनिस्ट नेताहरूले वामपन्थी शक्तिहरूबीच ध्रुवीकरण आवश्यक रहेको बताएका छन्। देशमा बढ्दो निराशा र छटपटीलाई अन्त्य गर्दै मुलुकलाई बलियो कम्युनिस्ट पार्टीमार्फत अघि बढाउनुपर्ने धारणा उनीहरूले राखेका हुन्।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको यो अभियानको अन्तर्य खुलेको छैन तर सोलोडोलोमा बाम एकताको कुराले यसको पक्षमा बोल्नेहरूलाई बिजनेस दिएको छ ।
त्यसो त यी तीन नेता एउटै मञ्चमा सँगै देखिन लागेको पहिलोपटक होइन। उनीहरूको सामूहिक भेटघाट, छलफलसँगका अन्तरक्रियाले पार्टीभित्रको आन्तरिक समस्यादेखि देशको मुख्य समस्या उठाउन उठाउन थालेका छन् ।
बिहीबार बुटवलमा सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको वर्तमान राजनीतिको सङ्कट र निकास विषयक अन्तरक्रियामा तीव्र नेताहरूले शीर्ष दलको मात्रै नभएर आफ्नो पार्टीको पनि खुलेर आलोचना गर्दै अब बाम एकता नभए समस्या बढ्दै जाने र प्राप्त उपलब्धिमाथि पनि चुनौती बढ्ने सन्देश दिएका छन् ।
विप्लवको आक्रोश : भ्रष्टाचारले देश खाइसक्यो
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अर्थतन्त्र सीमित घरानाको कब्जामा गएको भन्दै गणतन्त्रका यस्तो अर्थतन्त्रको कल्पना पनि गर्न नसकिने जनाए । मुलुकलाई दलाल पुँजीवादी संरचनाले कब्जा गरेको दाबी गरे। उनले भिजिट भिसा प्रकरणको उदाहरण दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ५० लाखसम्म घुसखोरी हुने गरेको आरोप लगाए।
‘हामीले रमेश लेखकलाई कांग्रेसभित्रको बौद्धिक मान्छे ठानेका थियौँ, तर उहीँमाथि कर्मचारीमार्फत दैनिक करोडौँको घुस प्रकरण बाहिर आयो,’ विप्लवले भने, ‘यस्ता घटना अरू धेरै क्षेत्रमा छन्।’ उनले उपप्रधानमन्त्री भइसकेका नारायणकाजी श्रेष्ठले ‘न्यायालयमा पैसाविना केही सम्भव छैन’ भनेर दिएको अभिव्यक्तिले नै देशको वास्तविक अवस्था देखाएको बताए।
विप्लवका अनुसार गणतन्त्र प्राप्तिपछि कुन वर्ग, विचार वा नेतृत्वद्वारा मुलुक अघि बढ्ने भन्ने टुङ्गोमा नपुग्दा आजको सङ्कट सिर्जना भएको हो। ‘गणतन्त्रपछि अर्थतन्त्रमा रूपान्तरण नआउनु नै समस्या हो,’ उनले भने।
उनले तीन नेताबीच काठमाडौंमा सुरु गरिएको बहसले देशभर तरङ्ग ल्याएको बताउँदै, ‘यो नयाँ पार्टी निर्माणको प्रयास होइन, मुलुककै आवश्यकता अनुसारको विमर्श हो,’ भने। उनका अनुसार यो बहस ८–१० वटा अन्तरक्रियापछि टुङ्गिन पनि सक्छ। उनले बुटवलबाट आएको यो धारणाले दलहरूलाई सच्चिन र नयाँ एकताको लागि दबाब सृजना गर्ने बताए ।
प्रचण्डविरुद्ध आक्रोशित जनार्दन
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अहिलेका कम्युनिस्ट दलहरूले जनताको मुद्दा उठाउन नसकेको आरोप लगाए। उनका अनुसार वाम दलहरूको पुनर्गठन अपरिहार्य छ।
उनले भने, ‘कम्युनिस्ट धु्रविकरण आजको आवश्यकता छ।सानो समूह होइन, एउटा बृहत् स्वार्थ समूहभन्दा बाहिर रहेर। हामीले नेकपा बनाएर पनि प्रयास गर्यौँ। सिद्धान्त मिलेको थियो थिएन एउटा पाटो होला। मिलाउन सक्ने ठाउँ पनि थियो। जनताको साथले दुई तिहाइ नजिक बहुमत प्राप्त भयो। तर सत्ता स्वार्थको कारणले चिसो पानी खन्याइयो। म व्यक्ति विशेषलाई कुनै दोष दिन चाहन्नँ।’
‘दलहरू जनताका मुद्दामा प्रस्ट भएनन्, बरु अलमलमा फसेँ,’ शर्माले भने, ‘लोकतन्त्रको अभ्यास नभएकाले दलहरू जयजयकार गर्ने समूहमा सीमित भए।’ उनले सुशासन, पारदर्शिता र चुनौती सामना गर्ने क्षमता दलहरूमा नदेखिएको दाबी गरे।
‘लोकतन्त्र जनताको होइन, दलाल पुँजीपतिको भयो,’ शर्माले भने, ‘४७ देखि ५० लाख युवा रोजगारी नपाएर खाडी मुलुकमा छन्, खेतबारी बाँझो छ, प्राकृतिक स्रोत–साधन दलाल पुँजीपतिले कब्जा गरेका छन्।’
शर्माले आर्थिक नीति अझै पनि पञ्चायतकालीन ढाँचाको नक्कल रहेको भन्दै त्यसले दलाल पुँजीवादलाई मजबुत बनाएको बताए। माओवादी केन्द्र र एमालेबीचको एकतापछि आशा जागेपनि विघटनसँगै निराशा सुरु भएको उनको भनाइ थियो।
उनले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने, ‘चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो। केही कामको थालनी पनि भएको थियो।तर आफ्नै बुद्धिले, के गर्छस् मङ्गले आफ्नै ढङ्गले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेन्डाहरू सम्बोधन गर्ने सम्भावना छैन। अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको छ। त्यसको जिम्मेवार पनि हामी हौँ।’
‘किसानले मल, बिउ, सिँचाइ, उचित मूल्य र बजार पाएका छैनन्। शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको जिम्मेवारीमा छैन,’ उनले भने, ‘संविधान पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन।’
घनश्याम भुसालको चेतावनी: घुस नखाने कम्युनिस्ट पार्टी चाहिन्छ
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पुराना दलहरू भ्रष्ट बनेकाले नयाँ भ्रष्ट दलमा जनता जान बाध्य भएको तर त्यहाँबाट निकास सम्भव नभएकाले बलियो कम्युनिस्ट पार्टी चाहिने बताए । उनले नेपालमा घुस नखाने नेताहरूको कम्युनिस्ट पार्टी आवश्यक भएको बताए। उनका अनुसार, वर्तमान पार्टीहरू दलाल पुँजीवादको कब्जामा परेका छन्।
‘व्यवस्था फेरियो, संविधान फेरियो तर दलहरूको ढाँचा, संरचना र शैली उस्तै छ,’ भुसालले भने, ‘यसैले जनतामा निराशा बढेको हो।’उनले जनतामा विकल्प नभएको र नेताहरूको गुटले जनतालाई अपमानित बनाएको बताए।
‘समाज नै बौलाएको छ, यसबाट निकास दिन ध्रुवीकरण जरुरी छ,’ उनले जोड दिए।उनका अनुसार मुलुक अहिले नयाँ इतिहास बनाउने प्रसव पीडामा छ। पुराना मान्यता र संरचनाले काम नगरेकोले नयाँ मानक निर्माण गर्नुपर्ने बेला आएको उनले उल्लेख गरे।
‘मूलतः युद्ध र शान्तिपूर्ण आन्दोलनबीचको विभाजन बाहेक अरू कृत्रिम विभाजन भत्काउनुपर्छ,’ भुसालले भने, ‘हामी तीन जनाले नयाँ पार्टी बनाउन होइन, एकता र सही सिद्धान्त बुझाउने अभियानमा आएका हौँ।’ उनले कम्युनिस्ट आन्दोलनमा चिन्तित सबैलाई वडास्तरसम्म बहसमा सहभागी हुन आह्वान गरे।
सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष वसन्त सिले केन्द्रदेखि तल्लो तहसम्म फैलिएको भ्रष्टाचारले जनतामा राजनीतिप्रतिको विश्वास कम भएको बताए। उनका अनुसार, अब राजनीतिक समस्याको निकास खोज्ने गम्भीर प्रयास जरुरी छ। प्रतिष्ठानले सहिद तथा बेपत्ता परिवारका सवाललाई मात्र नभई देशको राजनीतिक सङ्कट समाधानमा समेत योगदान पुर्याउने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको उनले स्पष्ट पारे।
नेतृत्वविरुद्ध असन्तुष्टि राख्ने मञ्च
तीनै नेता पार्टीभित्र दबाबमा छन्। चन्द, भुसाल र शर्माको स्वभाव पनि मिल्दैन। चन्द र शर्मा एकै स्कुलिङबाट आएपनि घनश्यामको निकै फरक रहेको छ । अहिले त उनीहरू तीनै जना आबद्ध पार्टीको राजनीतिक कार्यक्रम र कार्यदिशा नै अलग रहेको छ तर चन्द आफै नेतृत्वमा भएपनि शर्मा र भुसालले यस्ता फोरमहरू नेतृत्वप्रति असन्तुष्टि राख्ने मञ्चका रूपमा प्रयोग गरेका छन् ।
शर्मा प्रचण्डसँगको विवादका कारण समस्यामा छन्। एकीकृत समाजवादीमा पनि उस्तै विवाद रहेकोले महासचिव भुसाल दबाबमा छन्। चन्दलाई पनि अब पार्टीलाई कसरी अघि बढाउने र माओवादी केन्द्रसँगको एकता गर्ने तुरुपलाई कसरी लैजाने भन्ने तनाव छ ।
चन्द समाजवादी मोर्चाको संयोजक रहेको र पार्टीकै कार्यकारी पदमा रहेकाले उनी सहभागी कार्यक्रममा हल खचाखच भरिएका हुन्छन् । अहिले प्रायः नेताहरू जाने कार्यक्रममा सहभागीको सङ्ख्या कम भइरहेको समयमा उनी सहभागी कार्यक्रममा कार्यकर्ताले भरिएको हुन्छ र नेताहरू भाषण खुलेर गर्छन् ।
त्यसमाथि चन्द आफै उत्पादनमूलक कृषि क्षेत्रमा नयाँ काम थालेकाले पनि केहीको अझै आकर्षणमा छन् भने संसदीय फाँटमा नबसेकाले पनि धेरै विवादित छैनन् । तर माओवादी केन्द्रबाट निर्णयसहित एकताको प्रस्ताव आएसँगै कसरी अघि बढ्ने, पार्टीलाई अब कसरी संसदीय मोर्चामा लैजाने उनलाई मुख्य चुनौती छ ।

Leave a Reply