कोशीमा प्रचण्डको दाबी : चुनावमा दुई तिहाइ ल्याएर प्रदेशको नाम ‘किरात-लिम्बूवान-कोच’ राख्छौं

विराटनगर । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशको नामकरणमा पार्टीले त्रुटि गरेको बताएका छन् । अबको चुनावबाट दुई तिहाइ बहुमत ल्याएर नाम फेर्ने उनले दाबी गरे ।

माओवादीको कोशी प्रदेश सचिवालय बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रचण्डले यस्तो दावी गरेका हुन् । संविधान सभामा आरक्षणलगायतका विषयमा भिन्न मत राखेर पनि संविधान पारित गरेको स्मरण गर्दै उनले कोशी प्रदेशको नाममा पनि त्यसैगरी भिन्न मत राखेर दुई तिहाइ बहुमतले गरेको निर्णयलाई स्वीकार गर्नुपर्ने बताए ।

आगामी निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर प्रदेशको नाम किरात लिम्बूवान र कोच राख्ने प्रचण्डको भनाइ थियो ।

उनले भने, ‘अहिलेलाई दुई तिहाइले पारित गरेको नामलाई ‘डी फ्याक्टो’(वास्तविक) रूपमा स्वीकार गरे पनि ‘डी जुरे’ (न्यायिक) रूपमा मान्नु हुँदैन ।

बैठकमा प्रचण्डले पार्टीभित्रको अन्तरसङ्घर्षलाई सामान्यरूपमा लिनुपर्ने बताए । आलोचना, टिप्पणी र सुझावलाई अग्रगामी चेतनाको परिणामका रूपमा लिएको उनको भनाइ छ ।

उनले भने, ‘मार्क्सवादको सार नै सत्य पत्ता लगाउन आलोचना गर्ने र प्रश्न उठाउने हो । समाजवादमा पुग्नका लागि पार्टीभित्र र बाहिर वर्ग सङ्घर्ष र अन्तर विरोध अपरिहार्य छ ।’

माओले आफ्नो जीवनमा १० पटक ठूला अन्तरसंघर्ष भोगेको स्मरण गर्दै उनले अन्तरसंघर्षबाट भाग्ने विकल्प नभएको बताए ।

प्रचण्डले बाबुराम भट्टराई, मातृका यादव, गङ्गा श्रेष्ठ र किरणलगायतका नेताहरू पार्टी विभाजन गरेर गएको तर अहिले उनीहरू फेरि पार्टी एकताको पक्षमा फर्किँदै गरेको भन्दै खुसी व्यक्त गरे । उनले पार्टी विभाजन गर्नेहरूको आलोचना गरे पनि उनीहरूलाई उचित सम्मान र जिम्मेवारी दिनुपर्ने उल्लेख गरे ।

दुई बुँदे सहमतिको विरोध

नेकपा माओवादी केन्द्र कोशी प्रदेश सचिवालयको बैठकमा संसद खोल्ने विषयमा पार्टीले सत्ता गठबन्धनसँग गरेको दुई बुँदे सहमतिको विरोध भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रमुख अतिथि रहेको बैठकमा नेताहरूले दुई बुँदे सहमतिले पार्टीलाई धक्का पुगेको भन्दै आलोचना गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई जोडेर संसद अवरोध गरिरहेको माओवादीले अचानक सत्तारुढ दलहरूसँग ‘निशर्त’ जस्तै सहमति गरेको थियो । सो सहमतिबाट पार्टीले पछिल्लो समय लिएको क्रान्तिकारी धार भुत्ते भएको र एमाले-कांग्रेससँग एकाकार भएको भन्दै बैठकमा आलोचना भएको हो ।

एक सदस्यले भने, ‘सरकारबाट हटेपछि पार्टीले क्रान्तिकारी धार समातेको थियो, दुई बुँदे सहमतिले पार्टी कांग्रेस-एमालेकै लाइनमा गयो ।’

यस्तै अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति देखाएको सहानुभूति पनि ठीक नभएको टिप्पणी बैठकमा गरिएको छ । बैठकमा धारणा राख्ने सचिवालय सदस्यहरूले पार्टीमा विधि र पद्धति मिचिएको आरोपसमेत लगाए ।

बैठकमा ३३ जना सचिवालय सदस्यहरूले धारणा राखेका थिए । उनीहरूले पार्टीभित्र देखिएको गुटबन्दीको विरोध गरे । अवसरवाद र जनसरोकारका मुद्दाबाट माओवादी टाढा बनिरहेको गुनासो पोखे । पार्टी नेतृत्वले हल्का अभिव्यक्ति दिने र शीघ्र प्रतिक्रिया दिने काम गर्न नहुने प्रदेश तहका नेताहरूको भनाइ थियो ।

माओवादीमा फरक विचार राख्दै आएका उपमहासचिव जनार्दन शर्माको कोशी प्रदेश कमिटीमा प्रभाव रहेको बताइँदै आएको छ । त्यसैले सो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको थियो । पछिल्लो समय शर्मा पार्टीभित्र अध्यक्ष प्रचण्डका विरोधीको रूपमा उदाएका छन् ।

प्रचण्ड पक्षधरको बचाउ

सचिवालय बैठकमा केही नेताहरूले प्रचण्डको बचाउ गरे । प्रचण्डपक्षीय नेताहरूले हेडक्वाटरका विरुद्ध भइरहेको आक्रमण नियन्त्रण गर्नुपर्ने मागसमेत गरेका थिए ।

एक सदस्यले भने, ‘अहिले हेडक्वाटरविरुद्ध एक खाले आक्रमण भएको छ । यस्तो आक्रमण नियन्त्रण गर्ने कि नगर्ने ?’

स्थायी समिति बैठकपछि पनि पार्टीमा अराजकता सिर्जना गर्ने प्रयास भइरहेको प्रचण्ड पक्षीय नेताहरूको भनाइ थियो । बैठकमा एक नेताले भने, ‘पार्टीले स्वीकार गरे पनि न गल्ती गर्नेलाई कारबाही भयो, न त्यो सच्याउने प्रक्रिया नै अघि बढ्यो ।’

Comments

2 responses to “कोशीमा प्रचण्डको दाबी : चुनावमा दुई तिहाइ ल्याएर प्रदेशको नाम ‘किरात-लिम्बूवान-कोच’ राख्छौं”

  1. ksp pyl Avatar
    ksp pyl

    जिम्मेवारी लिनु नपर्नेले जे भने पनि भयो । यस्ता गैरजिम्मेवारहरूलाई दुईतिहाई होईन अब राजनीतिबाट विदा गर्न ढिला भैसक्यो ।

  2. राम वावु Avatar
    राम वावु

    यी बुढाले केही अर्चन की भनेको खाली गिथल्ने काम मात्र अर्चन तो गाउँ जति धपार रित्ताए अव फेरी क्यार्नी हुन । नयाँ विचार ल्यार पनि समाल्न सौतेनन तो गाँठे

Leave a Reply

Your email address will not be published. Required fields are marked *