पुराना भ्रष्ट नेताविरुद्ध नयाँ भ्रष्टलाई रोज्न बाध्य भए जनता, असन्तुष्ट जनमत तान्ने योजना बनाऔं -भुसाल

रुपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पुराना दलका भ्रष्ट नेताहरु र गुट उपगुटको पेलाईमा परेका कार्यकर्ता नयाँ भ्रष्टलाई रोज्न बाध्य भएको जनाएका छन् ।

बिहीबार बुटवलमा सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पुराना भ्रष्टको विरोधमा नयाँ भ्रष्टहरुले ती कार्यकर्तालाई तानेका हुन्, नयाँ पनि उस्तै छन् । राम्रो भएर रोजाईमा परेका होइनन्, जनताले विकल्प नभएकाले नयाँ खोजेका हुन्। अब हामीले त्यो असन्तुष्ट जनमतको सुरक्षा गर्नेगरी जानुपर्दछ ।’

नेता भुसालले नयाँ पार्टीको नाम र नेताको नाम नभनी नयाँ दल र यसका नेताहरुको कटाक्ष गरेका थिए ।

उनले देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रविसम्म असन्तुष्टि रहेकाले अब नयाँ निकास आवश्यक रहेको बताए। उनले वर्तमान राजनीतिमा देखिएको समस्याबारे साउन ६ गतेदेखि बहस सुरु भएकोे बताउँदै बुटवलमा आएपछि यसले गति लिने विश्वास व्यक्त गरे।

उनले नेपालमा घुस नखाने नेताको कम्युनिष्ट पार्टी आवश्यक भएको बताउँदै कम्युनिष्ट पार्टीहरु दलाल पूँजीवादको कब्जामा रहेकाले अब जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्युनिष्ट पार्टी चाहिएको तर्क गरे ।

भुसालले नेपालमा व्यवस्था र संविधान बदलिए पनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताए। उनले राजाकै पालादेखिको दलाल पूँजीवाद प्रभावमा दलहरु फसेको टिप्पणी गरे।

भुसालले राजनीतिक रुपमा नेपाली जनतामाथि भयंकर अत्याचार भएको समेत बताए। ‘जनतामा विकल्प छैन, सत्ता, सरकार, प्रधानमन्त्री, नेताहरुको गुटले जनतालाई धेरै अपमानित गरेको छ, झुटबाट मान्छे तरंगित छ’ भुसालले भने, ‘म त भन्छु समाज बौलाएको छ, यसबाट निकास दिन अब धु्रवीकरण जरुरी छ।’ उनले मुलुक वर्तमान छटपटीबाट नयाँ इतिहास बनाउने प्रसव पीडामा रहेको बताए। भुसालले वामपन्थी आन्दोलनलाई ध्रुवीकरण गर्नुपर्ने बेला आएकाले आफूहरु वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा आएको बताए।

परिस्थिति धेरै पाकिसकेको बताउँदै उनले अब केन्द्रदेखि वडासम्मै वामपन्थी ध्रुवीकरण आवश्यक रहेको बताए। उनले पुरानोले काम नगरेको तर नयाँ नबसिकेकोले सर्पले काँचुली फेर्ने अवस्थामा जस्तै छटपटी भएकाले नयाँ इतिहास बनाउन बहस जरुरी रहेको बताए।

‘पुराना मान्यता भत्केका छन्, तिनका नालयी भत्केका छन्’, उनले भने ‘स्वार्थ र भ्रमहरु भत्काएर नयाँ मानक बनाउनुपर्छ।’

उनले क्रान्तिका लागि कसम खाएको व्यक्तिको हिसाबले सपनाले थिचिएर ऐठन हुने अवस्थामा आएको बताए। माओवादीभित्र जनयुद्ध र एमालेभित्र बहुदलीय जनवादको संकल्प दलाल पूँजीवादको भित्तामा ठोक्किएर घाईते भएकाले मुलुकको भाग्य र भविष्यका लागि एकजुट भएको बताए।

‘मूलभूतरुपमा युद्ध र शान्तिपूर्ण हुकाई र अनुभवको विभाजन छन्, त्यो बाहेक अरु कृत्रिम नक्कली लक्ष्मण रेखाहरु भत्काउनुपर्छ’ भुसालले भने।

उनले पछिल्लो समय नेकपाका महासचिव विप्लव, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बहस र छलफल गरेको प्रसंगमा आफूहरु कुनै नयाँ पार्टी बनाउनका लागि बहसमा नआएको बताए।

‘तीन जना मिलेर अलग पार्टी बनाउने होइन, अर्को पार्टी बन्दैन,’ भुसालले भने, ‘हामीले सही सिद्धान्त बुझाउने र विभाजन नभई जुटाउने अभियानमा छौँ।’ उनले समाजमा उकुसमुकुस तीब्र रुपमा रहेकाले विमर्श जरुरी रहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *