कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिममा लगानी गर्न सबै उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजधानीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिममा प्रशस्त लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न लगानीकर्ताहरूलाई अपिल गरेका हुन् ।
आगामी मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रममार्फत मुख्यमन्त्रीले नीतिगत समस्या हल गर्दै लगानीमैत्री वातावरण बनिरहेको समेत स्पष्ट पारेका थिए ।
‘सुदूरपश्चिम प्रदेशमा पर्याप्त लगानीको सम्भावना छ । नीतिगत कुनै समस्या हुँदैन,’ मुख्यमन्त्री शाहले भने, ‘तपाईँहरू निर्धक्क भएर सुदूरपश्चिममा लगानी गर्नुहोस्, हामी साथ दिन्छौँ ।’
भौतिक पूर्वाधारको अभावका कारण सुदूरपश्चिम प्रदेशमा लगानी नआइरहेको गुनासोबारे मुख्यमन्त्रीले लगानीको सुनिश्चितता भए सडक र विद्युत्को व्यवस्था सुदूरपश्चिम प्रदेश सरकारले गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।
‘विभिन्न समस्या छन् भनेर लगानी गर्न डराउनु पर्दैन । हामी सडक र विद्युत्को व्यवस्था गरिदिन्छौँ, तपाईँहरू लगानी गर्नुहोस्,’ मुख्यमन्त्रीले भने ।
सुदूरपश्चिममा खनिज, जडीबुटी, पर्यटन, पशुपालन, उद्योग लगायत थुप्रै सम्भावना रहेको पनि उनले बताए । उनले ती सबै क्षेत्रमा लगानीका लागि लगानीमैत्री वातावरण र सुरक्षाको प्रतिबद्धता प्रदेश सरकारले गर्ने बताए ।
सुदूरपश्चिम प्रदेशको दीर्घकालीन समृद्धि र समग्र विकास प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको समेत मुख्यमन्त्रीको भनाइ थियो । उनले तीनै तहका सरकारबाट साथ पाइरहेको उल्लेख गर्दै लगानी सम्मेलनले सुदूरपश्चिम प्रदेशको मुहार फेर्न ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा लगानीमैत्री वातावरण बनिरहेको बताएका थिए । पछिल्लो समय संघीय सरकार पनि लगानीमैत्री बन्दै गएको भन्दै उनले निर्धक्क भएर लगानी गर्न सबै लगानीकर्ताहरूलाई आग्रह गरे ।
अर्को प्रसङ्गमा उद्योग मन्त्री भण्डारीले नेपाल आउने उपभोग्य सामग्री तथा उपभोगका सामानहरू परीक्षण गरेर मात्र ल्याउनुपर्ने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापा, प्रदेश सांसद, नीति तथा योजना आयोगको टिम सहभागी थिए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका सदस्य, अधिकांश मन्त्रालयका सचिव, उद्योग विभाग, खानी तथा भूगर्भ विभागलगायतका विभागका महानिर्देशक सहभागी थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, महिला उद्यमी महासङ्घ नेपाल, नेपाल उद्योग व्यापार महासङ्घलगायतका प्रतिनिधिहरूले सुदूरपश्चिममा लगानीको अवस्था, अवसर र चुनौतीबारे धारणा राखेका थिए । उपयुक्त वातावरण निर्माण भए आफूहरू लगानी गर्न तयार रहेको उनीहरूले बताएका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको लागि मुख्यमन्त्रीसहितका प्रतिनिधिहरू अझै केही दिन काठमाडौंमा लगानीकर्ताहरूसँग छलफल र अन्तरक्रिया गर्ने लगानी सम्मेलन प्रचार समिति संयोजक शिवसिंह ओलीले जानकारी दिए ।

Leave a Reply