सरकारले उखुको समर्थन मूल्य घटाएकोप्रति माओवादीको आपत्ति, किसानको माग पूरा नगरे संर्घषमा जाने चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रले आन्दोलनरत उखु किसानको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै उत्पादनमा निर्भर किसान वर्गले आफ्नो पसिनाको मूल्य, अधिकार र सम्मानका लागि काठमाडौंको माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

विज्ञप्तिमा भनिएको छ, बक्यौता रकम नपाएर पीडित किसानहरुलाई सरकारले अझ अपमानित गर्ने गरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान–विरोधी र गैरजिम्मेवार कदम हो भन्ने हाम्रो ठम्याइ छ । हाम्रो पार्टी नेतृत्वको सरकारले किसानको हितलाई केन्द्रमा राख्दै उखुको समर्थन मूल्यमा प्रति क्विन्टल ७० रुपैया अनुदान तोकेर उनीहरुलाई न्याय दिने विषय प्राथमिकतामा राखेको स्मरणीय छ ।
वर्तमान सरकारले किसानको हित प्रतिकूल हुने गरी अनुदान मूल्य घटाएर ३५ बनाएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘जसले उत्पादन लागतसमेत धान्न नसक्ने अवस्था सिर्जना गरेको छ । यो निर्णयले बक्यौता रकम नपाएर पहिल्यैदेखि संकटमा परेका किसानमाथि थप अन्याय थपेको छ । हाम्रो पार्टी आन्दोलनरत किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गर्दछौं । सरकारले बेलैमा आत्मसात गरी उखुको समर्थन मूल्य र त्यसमा दिइने अनुदानलाई किसानमैत्री ढंगले पुनः निर्धारण गर्न र किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न समेत माग गर्दछौं ।’

सरकारले विचौलियाको स्वार्थका लागि सिंगो सत्ता संरचना प्रयोग गर्ने तर किसानहरुका माग वेवास्ता गरेको आरोप छ। सरकारले किसानहरुका माग बेवास्ता गरेमा किसानसँगै उभिएर संघर्षलाई अझ व्यापक एवं सशक्त बनाउदै किसानको अधिकार, सम्मान र न्यायका लागि दृढतापूर्वक उभिने स्पष्ट पारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *