६ महिनाअघि कारको ठक्करबाट महिला घाइते भएको घटनामा इनरुवाका वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका- ६ का वडाध्यक्ष सुमन थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। सवारी दुर्घटना गराई शरीर अङ्ग भङ्ग गराएको विषयमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

२०८१ साल फागुन २२ गते साँझ चतराबाट कान्छी चोकतर्फ आउँदै गर्दा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले ठक्कर दिँदा देविका खनाल घाइते भएकी थिइन् । खनाल प्र १–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् । कारको ठक्करबाट खनालको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । मोटरसाइकल चालक राजकुमार पौडेल सामान्य घाइते भएका थिए ।

ठक्कर दिनासाथ वडाध्यक्ष थापा घटनास्थलबाट फरार भएका थिए । देवीकालाई लिफ्ट दिने मोटरसाइकल चालक र स्थानीयको सहयोगमा खनाललाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

खनालको दाहिने खुट्टाको घुँडामा गहिरो चोट लाग्नुका साथै कम्मर मुनीको भागमा कारको चक्काले पेलेको थियो । विराट नर्सिङ होममा फागुन २४ गते देवीकाको दाहिने खुट्टाको कम्मर मुनिको भागमा अप्रेसन गरी स्टिल हाल्ने काम भएको थियो ।

खनालको विराट नर्सिङ होमका डाक्टर विजय मेहताले अप्रेसन गरी स्टिल राखेका थिए । अप्रेसन पछि ठक्कर दिने वडाध्यक्ष थापाविरुद्ध कानुनी कारबाहीको माग राखी देवीकाकी दिदी गीता खनालले जाहेरी दरखास्त लिएर दर्ताका लागि इलाका प्रहरी कार्यालय पकली पुगेकी थिइन् । तर इलाका प्रहरी कार्यालयमा उजुरी लिन नमानेपछि उनले हुलाक मार्फत जाहेरी दिएकी थिइन् ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी खनालको विभिन्न अस्पतालमा उपचार गराउँदा पनि उपचार हुन सकेको छैन । विराट नर्सिङ होममा उपचार गरिएको अप्रेसन सफल नभएपछि कोशी अस्पतालमा उपचारका लागि लगिएको पीडितकी दिदी गिता खनालले बताइन् । कोशी अस्पतालमा स्टिल उल्टो हालिएको भन्दै थप उपचारका लागि विपी प्रतिष्ठान रेफर गरिएको थियो ।

उपचारका लागि समेत थापा सम्पर्कमा नआएपछि पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेपछि उच्च अदालतले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दिएपछि थापाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।

गत साउन १६ गते मुद्दा दर्ता भई साउन २० गते थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *